नेपाल-भारतको संयुक्त लगानीमा बन्ने ‘जार’ छायांकन सुरु, गीताञ्जली र सौगात लिडमा – Nepal Press

नेपाल-भारतको संयुक्त लगानीमा बन्ने ‘जार’ छायांकन सुरु, गीताञ्जली र सौगात लिडमा

सिक्किम । इन्द्रबहादुर राईको चर्चित कथा ‘जार’माथि फिल्म निर्माण सुरु भएको छ । फुर्वा छिरिङ लामाले निर्देशन गर्ने यो सोसल ड्रामा फिल्मबारे सोमबार सिक्किममा आयोजित प्रेसमिटमा जानकारी दिइयो ।

सिक्किमकी नेपाली भाषी अभिनेत्री गीताञ्जली थापा, सौगात मल्ल र अनुपविक्रम शाहीको मुख्य भूमिका हुने फिल्मलाई आगामी तिहारमा प्रदर्शन लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामाले सन् ८० को दशकलाई दृश्यमा उतार्नु आफ्ना लागि चुनौति रहेको बताए । कथा आफूलाई मनपरेको र राईको चर्चित कथा पनि भएकाले फिल्ममा एडप्ट गर्न लागेको बताए । उनका अनुसार ९५ प्रतिशत छायांकन सिक्किममा हुनेछ ।

अभिनेत्री थापाले पहिलोपटक उत्तरपूर्वी भारतमा निर्माण हुन लागेको फिल्ममा आफू खेल्न लागेको बताइन् । ‘मैले पहिलोपटक नेपाली भाषा बोलैर फिल्म गर्न लागेकी छु’ थापाले भनिन्, ‘इन्द्रबहादुर राईको खीर कथा पढेकी थिएँ । अहिले उहाँकै कथामा गर्न लागेकोमा खुशि छु ।’

यसअघि ‘कथा’ फेम्ड प्रशान्त रसाइलीको छोटो फिल्ममा अभिनय गरेको स्मरण गरिन् ।

अभिनेता सौगात मल्लले आफ्ना अघिल्ला फिल्म ‘कथा’ र ‘आचार्य’ छायांकन पनि सिक्किममै गरेको सम्झिए । आठवर्षदेखि आफू फिल्म जारको तयारीमा रहेको लकडाउनले ढिला भएको बताए । ‘कथालाई न्याय दिन कठिन थियो र त्यसलाई पुरा गर्ने जमर्कोमा हामी थियौं’ सौगातले भने ।

सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले फिल्म निर्माणमा सरकारले सहयोग गर्ने वचन दिइन् । सिक्किमको पर्यटनमा फिल्मले सघाउने विश्वास गर्दै उनले अन्य फिल्मलाई पनि छायांकनको लागि आउन आग्रह गरिन् । सोमबार मात्रै भारतको राष्ट्रिय फिल्म अवार्डमा सिक्किम उत्कृष्ट फिल्म गन्तव्यको रुपमा पुरस्कृत भएको थियो । फिल्मको छायांकनमा डेढसय क्रिउ सदस्य खटिने जनाइएको छ ।

‘लायर्स डाइस’ फिल्मबाट गीताञ्जलीले भारत सरकारले प्रदान गर्ने राष्ट्रिय फिल्म अवार्डबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । यो फिल्म ८७ औं अस्कर अवार्डमा समेत भारतबाट सिफारिस भएको थियो । उनले अस्कर अवार्ड विजेता निर्देशक डेनिस टानोभिक निर्देशित टाइगर्समा पनि अभिनय गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर