गगन थापाको चेतावनी- संसदको तिरस्कार र अपमानको बदला जनताले लिनेछन् – Nepal Press

गगन थापाको चेतावनी- संसदको तिरस्कार र अपमानको बदला जनताले लिनेछन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद विघटन गर्ने आफ्नो कदमलाई सही सावित गर्न प्रधानमन्त्रीले संसदलाई कामविहीन बनाउने कोसिस गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले भने, ‘कहिले प्रश्न छल्न बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भङ्ग । अनि अहिले प्रतिनिधिसभा भङ्ग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नको लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च ।’

अध्यादेश पेश गर्न नदिएको भन्दै प्रधानमन्त्रीले अनावश्यक हल्ला गरेको थापाको टिप्पणी छ । ‘एसिड आक्रमणलाई नियन्त्रण गर्ने कानून बनाउँन दिइएन भन्ने हल्ला गर्ने तर संसदलाई एउटा विधेयक पनि नदिने,’ उनले भने, ‘अनि विधेयकलाई कानून बनाउनको निम्ति चाहिने राष्ट्रियसभाको बैठक नबोलाउने ।’

उनले यो सरकार रहुन्जेल संसदको तिरस्कार र अपमान भइरहने आरोप समेत लगाए। ‘हामी स्पष्‍ट छौं- जतिदिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ,’ थापाले भने, ‘किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं । बाँकी जिम्मा जनताको । यथोचित समयमा जनताले यसको हिसाब किताब गर्ने छन् ।’

आफूले बनाएको संसदको अपमान गरेकोमा जनताले यथोचित समयमा बदला समेत लिने थापाको चेतावनी थियो । ‘यो संसद र सांसदको अपमान, यो लोगो लगाउने केही सांसदको अपमान तिरस्कार उपेक्षा होइन ? यो जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाइ संसद बनाएको छ, आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर