कच्चा पदार्थ तस्करी हुन थालेपछि फर्नेस आयल उद्योग धरासायी – Nepal Press

कच्चा पदार्थ तस्करी हुन थालेपछि फर्नेस आयल उद्योग धरासायी

रुपन्देही ।  भारतमा बढी रकम पाउन थालेपछि फर्नेस आयलको कच्चा पदार्थ भारततिर तस्करी हुन थालेको रहस्य सार्वजनिक भएको छ ।

कच्चा पदार्थ अभावका कारण नेपालका फर्नेस आयल उद्योग बन्द हुने स्थितिमा पुगेका बेला कच्चा पदार्थ भने भारततिर तस्करी हुने गरेको फेला परेको हो । आइतबार रुपन्देहीबाट अवैध रुपमा ट्रकमा लोड गरी भारततर्फ लैजान लागिएको टायर तथा ट्यूब बरामद् भएसँगै यो रहस्य सार्वजनिक भएको हो ।

प्रयोग भइसकेको सवारीसाधनका टायर र ट्युब प्रशोधन गरी फर्नेस आयल उत्पादन उत्पादन गर्ने गरिन्छ ।

रुपन्देहीको देवदह– ४ मा रहेका स्पीड इनर्जी इण्डष्ट्रिजले कच्चा पदार्थ अभावका कारण फर्निस आयल उद्योग बन्द हुने अवस्थामा कच्चा पदार्थको अवैध निकासी रोक्नुपर्ने बताए । पुराना टायर र ट्युबलाई प्रशोधन गरी फर्नेस आयल, कार्बन व्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको यो उद्योगमा कच्चा पदार्थ अभाव भएको उद्योगका प्रबन्ध संचालक अजयमान श्रेष्ठले बताए । उनले भने– हामीकहाँ कच्चा पदार्थ नहुने, उता पठाउनका लागि पुग्ने ? यो विषय गम्भीर छ, यसको छानबिन हुन जरुरी छ । ’

रुपन्देही प्रहरीले उद्योगीको सूचनाको आधारमा टायर–ट्युव लोड गरेको गाडी रोकेको र यसको विषयमा अनुसन्धान अघि बढेको जनाएको छ । पाँच करोड रुपैयाँ लगानीमा २०७१ सालमा स्थापना भएको स्पीड इनर्जी इण्डष्ट्रिज प्रालिमा हालसम्म १५ करोड लगानी पुगिसकेको छ । तर उद्योगको लागि आवश्यक टायर र ट्युब अभाव हुन थालेपछि दुईवटा प्लाण्ट जडान गरेको उद्योगले एउटामात्र संचालनमा ल्याएको छ ।

उद्योगका प्रबन्ध संचालक अजयमान श्रेष्ठले नेपालमै फर्नेस आयल उत्पादन हुन थालेपछि टायरको पनि चोरी तस्करी हुने गरेको बताए । कवाड वस्तुहरु वैधानिक बाटो हुँदै नेपालबाट भारत निकासी नहुने भएपनि रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायतका तराईका विभिन्न नाका हुँदै थोत्रा टायर र प्लाष्टिकजन्य कवाड वस्तुको समेत तस्करी हुने गरेको उद्योगका व्यवस्थापक राजु क्षेत्रीको गुनासो छ ।

दुईपांग्रे र चारपांग्रे सवारीसाधनको टायर, ट्युब तथा रबरलाई पाइरोलाइसिस प्रक्रियाबाट प्रशोधन गरी फर्नेस आयल, कार्बन व्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ । साढे २ बिगाह क्षेत्रफलमा फैलिएको यो उद्योगबाट उत्पादन हुने फर्नेस आयल र स्टिल स्क्र्याब नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री आदि उद्योगमा खपत भइरहेको छ भने कार्बन धुलो ईट्टा उद्योगहरुमा कोइलाको विकल्पमा प्रयोग हुने गरेको छ ।

पुराना टायर र ट्युबलाई प्रोसेसिङ गरी डिजेल र कोइलाको विकल्पमा निकालिएको फर्नेस तेल र कार्वन व्वाईलर प्रयोग गर्ने नेपालका ठूला उद्योगहरुले प्रयोग गर्दै आएका छन् । कार्बनलाई भारतमा समेत निर्यात गर्दै आएको श्रेष्ठले बताए ।

संचालक श्रेष्ठका अनुसार नेपालमा फलाम, स्टील, सिमेन्ट, बिस्कुटलगायत व्वाईलरको प्रयोग हुने उद्योगहरुमा फर्नेस आयल प्रयोग हुन्छ । नेपालका हुलास, चौधरी गु्रप, लक्ष्मी स्टील, सगरमाथा स्टील, हनी फुड्सलगायत दर्जनौं उद्योगले आफ्नै उत्पादन प्रयोग गर्ने गरेको श्रेष्ठले बताए ।

नेपालमा स्पिड इनर्जीबाहेक थप तीनवटा उद्योगले फर्नेस आयल उत्पादन गर्ने भएपनि नेपालको ३ प्रतिशत मात्रै माग पूरा गर्ने गरेका छन् ।

नेपालका हरेक ठूला उद्योगले दैनिक १० हजार लिटर तेल खपत गर्दै आएका छन् । भन्सार कार्यालयका अनुसार नेपालमा वार्षिक ५ करोड लिटर फर्नेस आयल आयात हुने गरेको छ ।

सरकारले नेपालबाट भारततर्फ हुने टायर ट्युबको तस्करी रोक्न सके आफैंले २० वटा प्लाण्ट जडान गरी वार्षिक साढे २ करोड लिटर तेल उत्पादन गर्ने र नेपालको ५० प्रतिशत माग धान्नसक्ने क्षमता रहेको श्रेष्ठको दावी छ ।

नेपालमा फर्नेस आयलको मूल्य ५८ रुपैयाँ प्रतिलिटर रहेको छ भने भारत, सिंगापुर, ताईवान लगायतका देशबाट प्रतिलिटर ९२ रुपैयाँ तिरेर आयात गर्ने गरिएको छ ।

टायरलाई प्रोसेसिङ गरी त्यसबाट ४० प्रतिशतसम्म तेल निस्किन्छ भने २५ प्रतिशत कार्बन व्ल्याक र ३५ प्रतिशत स्टिल स्क्र्याब तार उत्पादन हुने गर्छ । साथै उद्योगले वार्षिक एक हजार टनभन्दा बढी कार्वन भारत निर्यात गर्दै आएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले कवाड समान प्रयोग गरेर संचालन भएका उद्योगलाई आवश्य पर्ने कच्चा पदार्थको अभावका विषयमा संघले गम्भीर रुपमा छलफल गरेको बताए ।

उनले कवाड समान कसरी भारत निर्यात भएको छ भन्ने विषयमा अनुसन्धान हुनुपर्ने बताउँदै यस विषयमा संघले रुपन्देही नवलपरासीमा प्रमुख जिल्ला अधिकारीहरुलाई ध्यानाकर्षण गराएको बताए । उनले नेपाली उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ अवैध तरिकाले बाहिर जान दिन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर