नयाँ सोचका उद्यमीलाई महासंघले सहयोग गर्ने, यस्तो छ प्रक्रिया – Nepal Press

नयाँ सोचका उद्यमीलाई महासंघले सहयोग गर्ने, यस्तो छ प्रक्रिया

काठमाडौं । तपाईसँग कुनै नयाँ किसिमको उद्यम गर्ने सोच छ तर लगानीको अभावले आँट्न सक्नुभएको छैन भने अब धन्दा मान्नु पर्दैन । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले तपाईंलाई सहयोग गर्न सक्छ ।

महासंघले नवप्रवर्तन व्यापारको प्रवद्र्धनमार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा काम गर्न स्टार्टअप एन्ड इनोभेसन समिति गठन गरेको छ । यो समितिले नै स्टार्टअप कम्पनीको लागि लगानी जुटाइदिने छ । महासंघले पहिलोपटक यो अभ्यास गरेको हो ।

समितिले नविन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप-उद्योग व्यवसायलाई समिति अन्तरगत रहेको इन्भेष्टर फोरममार्फत सहयोग गर्ने आज आयोजित कार्यक्रममा जानकारी गराइयो । यसका लागि यही चैत्र महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने भएको छ । यसमा आवेदन दिन चाहने स्टार्टअप-उद्योग व्यवसाय कम्तीमा एक वर्ष र सोभन्दा बढी अवधिबाट सञ्चालनमा आएको हुनुपर्नेछ । आवेदन सबै क्षेत्र (जस्तै कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिने छ ।

 

रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्टअप एन्ड इनोभेसन समितिमा स्थापित यूवा उद्यमी संलग्न हुनेछन् । समितिले नवउद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने, महासंघले आर्थिक रुपान्तरण मार्गचित्रमार्फत अगाडि सारेको प्रतिवर्ष चार लाख रोजगारी सृजना गर्ने लक्ष्यलाई पुरा गर्ने कार्यमा सहयोग गर्ने तथा स्टार्टअप-उद्योग व्यवसायको वारेमा अध्ययन गर्ने लक्ष्य राखेको छ । त्यस्तै नयाँ सोचसहित केही गर्न अघि सरेका नवउद्यमीको पहिचान गरी उनीहरूलाई अगाडि बढ्न आवश्यक पुँजी लगानीस्वरूप जुटाई सहयोग गर्ने छ ।

स्टार्टअप-उद्योग व्यवसाय लगानीका लागि छनौट भएपछि लगानीकर्तामाझ पुर्याउन पहिलो तीन महिनाको मेन्टरसीप कार्यक्रममा समावेश गराइने छ । उद्यमशीलता सम्बन्धी परामर्श दिन लामो व्यवसायिक अनुभव हासिल गरेका सफल २० जना मेन्टरको रोस्टर तयार गरिएको छ । एक स्टार्टअप-उद्योग–व्यवसायलाई एक मेन्टरका हिसावले २० स्टार्टअप-उद्योग व्यवसायलाई करिव ३ महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइनेछ ।

केन्द्र बाहेक जिल्लास्तरमा पनि स्टार्टअप-उद्योग व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट मेन्टर उपलब्ध गराइने छ । स्टार्टअपलाई आवश्यक पर्ने स्रोतसँगै अन्य आवश्यक कार्यक्रम महासंघले नै उपलब्ध गराउने छ ।

नेपालमा पछिल्लो पटक नविनतम सोचमा आधारिम उद्यम व्यवसायमा विस्तारै बढोत्तरी हुँदै आएको पाइन्छ । पछिल्लो पाँच वर्षमा नेपालमा स्टार्टअप राम्रो फस्टाएको विभिन्न अध्ययनले समेत देखाएको छ । खासगरी महाभुकम्प र कोभिडपछि नेपालमा पनि स्टार्टअप व्यवसायले गति लिन थालेको छ । प्रविधिमा आधारित साना तथा मझौला व्यवसाय उच्च दरमा वृद्धि भइरहेका छन् । विश्व इनोभेसन सुचकांकमा नेपाल १२६ देशमध्ये १०९ औं स्थानमा छ ।

हरेक वर्ष स्वदेश तथा विदेशका विश्व विद्यालयबाट आफ्नो अध्ययन पुरा गरेर आउने युवाको संख्या निकै ठूलो छ । यूवामा नविनतम सोच अत्याधिक रहेको पाइन्छ । अहिले स्टार्टअप थालेका उद्यमी २५ देखि ४० वर्षका यूवा र उनीहरू विदेशका प्रतिष्ठित शैक्षिक संस्थामा अध्ययन गरी आएका अधिक पाइन्छन् ।

स्टार्टअपको शुरुवात गरेका उद्यमीकाअनुसार नेपालमा पूँजीको सहज उपलब्धता, करको उच्च दर, स्टार्टअप मैत्री नीतिको अभाव, नियामक अवरोध र नयाँ शुरुवात गर्न लाइसन्सको समस्या मुख्य चुनौती रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर