‘सडक विकासको पहिलो आधार हो, तर पर्यटन ध्वस्त पार्ने सडक चाहँदैनौं’ – Nepal Press

‘सडक विकासको पहिलो आधार हो, तर पर्यटन ध्वस्त पार्ने सडक चाहँदैनौं’

‘एक्यापले ३० वर्षमा गर्न नसकेको काम स्थानीय तहले ५ वर्षमै गर्न सक्छ’

पोखरा । केही समयअघि पोखरामा भएको जलवायु परिवर्तन तथा डढेलोसम्बन्धी कार्यक्रमका वक्ताले अध्ययनबिना जथाभावी गरिने ‘डोजरे विकास’ नै विनासको कारक भएको तर्क राखेका थिए ।

हुन पनि वार्षिक रुपमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनलाई आधार मान्ने हो भने पछिल्ला वर्षमा विकास भनेकै ‘बाटो’ भएको छ । गाउँगाउँमा सडक पुर्‍याउने नाममा अध्ययनबिना लगाइएका डोजरे बाटोले बर्खायाममा थुप्रै समस्या निम्त्याएको देख्न सकिन्छ ।

हरिया पहाड कोतरेर बनाइएका बाटोले मात्रै प्राकृतिक दुर्घटनामात्रै निम्त्याएका छैनन, जलविद्युतको नाममा हिमाली क्षेत्रमा जलविद्युत आयोजना लैजाने, पर्यटकीय पदमार्गहरु विनास गर्नाले पर्यटकीय क्षेत्रमा पनि ठूलो असर पुर्‍याइरहेको छ ।

‘डोजरे बाटोको विकास’बाट कास्कीको मादी गाउँपालिका पनि अछुतो रहन सकेको छैन । गाउँपालिकामा पर्ने चर्चित सिक्लेस, ताङतिङ, गुरुङहरुको आदिम भूमि क्होंलासोंथर लगायत ठाउँमा पहाड चिथोर्दै बाटो पुर्याउँदा बाटो त पुग्यो । तर, त्यसले पर्यावरणीय पर्यटनमा नराम्रो असर पुगिरहेको सरोकारवालाको चिन्ता छ ।

तर, मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ गाउँमा बाटो पुर्‍याएर विनास निम्त्याएको स्वीकार्न तयार छैनन् । अन्नपूर्ण एफएमले सोमबार गरेको ‘द राउन्ड टेबल’ कार्यक्रममा उनले गाउँपालिकाले विकासको पहिलो पूर्वाधार बाटो नै भए पनि पर्यटनलाई महत्व दिएर विकासका योजनाहरु अघि बढाइरहेको दाबी गरे ।

‘विकासको पूर्वाधार पहिलो बाटो नै हो । हाम्रोमा बाटो नै छैन । बाटो नभई विकास हुन्छ भन्ने पनि हुँदैन । बाटोले नै सबै विनास निम्त्याएको हो भन्ने सतही ढंगले विश्लेषण गर्नु न्यायसंगत हुँदैन,’ गुरुङले भने, ‘पर्यटन क्षेत्रलाई ध्वस्त गरेर त हामी पनि बाटो लैजादैनौं । पर्यटन क्षेत्रमा संवेदनशील छौं । पर्यटन विकास गर्नुपर्छ भन्ने सकारात्मक सोचका लागि हामी गम्भीर छौं ।’

गुरुङले आफ्नो कार्यकालमा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकैले पर्यटनप्रति अरुचि भएका गाउँबासीलाई पनि सकारात्मक बनाउन सकेको दाबी गरे । ‘हिजो पर्यटनप्रति मान्छेको रुचि नै थिएन । तर, हाम्रो कार्यकालमा भएका कामले उनीहरुमा पर्यटनप्रति उत्साह जगाउन सफल भएका छौं,’ उनले भने ।

गुरुङहरुको आदि तथा पूज्य भूमि क्होंलासोथरमा किन बाटो आवश्यक ? प्रश्नमा गाउँपालिका अध्यक्ष गुरुङले क्होंलासोथरको इतिहास चिनाउन पनि त्यहाँसम्म बाटो लैजान आवश्यक रहेको जवाफ दिए । ‘त्यो सम्पदा मार्ग नै हो । तर, त्यहाँसम्म पुग्ने बाटो निकास हो,’ उनले भने, ‘बाटो भए २० करोड रुपैयाँमा हुने काम १ करोड रुपैयाँमै हुन्छ । त्यसका लागि पनि बाटोको पूर्वाधार अनिवार्य छ ।’

अध्यक्ष गुरुङले मादी गाउँपालिकालाई मनाङसम्म जोड्न पैदल मार्ग निर्र्माण पनि गरिरहेको जानकारी दिए । ‘टोनी हेगन पदमार्ग’ नामक उक्त पदमार्ग १ करोड रुपैयाँ बनिरहेको र त्यसले मादीको पर्यटनलाई अझ उचाइमा पु¥याउने उनको विश्वास छ ।

‘हाम्रो गाउँपालिकास्तरबाट थोरै लगानी बाटो मर्मत, गोरेटो मर्मतमा गरिरहेका छौं । यसमा स्थानीयलाई नै काम दिनेछौं । पदमार्गमा ड्राई मौसममा एकदमै पानीको समस्या हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘ती क्षेत्रको पूर्वाधार गर्दैगर्दा सबै व्यवस्था हुन्छ । यसमा स्थानीयलाई नै जिम्मेवारी दिएर काम अघि बढाइरहेका छौं ।’

मादीको धेरै भाग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अधीनमा छ । तर, अध्यक्ष गुरुङ एक्यापसँग सन्तुष्ट छैनन् । एक्याप नै गाउँको विकासको बाधकका रुपमा उभिएको उनको आरोप छ ।

‘एक्यापको नारा ठीक छ । तर, व्यवस्थापकीय पक्षमा चुक्यो । अहिलेसम्म कहाँ चुक्यो आत्मसमीक्षा गर्नुपर्छ कि पर्दैन ?’ भन्छन्, ‘अहिले पनि ९० प्रतिशत स्थानीय एक्यापको विरुद्धमा छन् । गाउँपालिकालाई नै जिम्मा आए उनीहरुले ३० वर्षमा गर्न नसकेको काम ५ वर्षमै गर्न सक्छौं ।’

अध्यक्ष गुरुङले ऊर्जाको नाममा गाउँगाउँका नदीनालामा पस्ने हाइड्रो योजनाले पनि प्राकृतिक सुन्दरतालाई बाधा पु¥याएको धारणा राखे । हाइड्रो योजना आउँदा स्थानीय तहसँग सम्झौता नगरेर सींधै केन्द्र सरकारबाट पारित भएर आउँदा स्थानीय तहको अधिकारसमेत खोसिएको उनको जिकीर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर