सामाजिक सुरक्षा कोषमा व्यक्तिगत रुपमा योगदान गर्न पाउने व्यवस्था लागू – Nepal Press

सामाजिक सुरक्षा कोषमा व्यक्तिगत रुपमा योगदान गर्न पाउने व्यवस्था लागू

रोजगारी गुमाउनेले योगदान गरेको रकम पनि फिर्ता लिन पाइने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा याेजनामा आवद्ध भएका श्रमिकले व्यक्तिगत रुपमा पनि योगदान गर्न पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दोस्रो संशोधनमार्फत यस्तो व्यवस्था गरिएको सामाजिक सुरक्षा कोषले जनाएको हो ।

कार्यविधि संशोधनमार्फत यस्तो व्यवस्था गरेलगत्तै कोषले आइतबार मात्र सफ्टवेयर निर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको कोषका सूचना अधिकारी समेत रहेका निर्देशक डा. रोशन कोजुले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यस अघि योगदान गर्ने संस्था परिवर्तन गरेमा वा काम गरिरहेको संस्था छोडेमा व्यक्तिगत रुपमा योगदान गर्न पाउने व्यवस्था गरिएको छ ।

संशोधनमार्फत रोजगारी गुमाएका वा  संस्था परिवर्तन गरेका  श्रमिकले आफुले योगदान गरेको रकम पनि फिर्ता लिन पाउने व्यवस्था लागू भएको छ । जसमा योगदानकर्ताले योगदान गरेको आधारभूत तलवको ३१ प्रतिशतमध्येको २८ दशमलव ३३ प्रतिशत हुन आउने रकम फिर्ता लिन पाइने छ ।

यसका लागि रकम निकाल्नका लागि निवेदन, रोजगारदाता संस्थाबाट राजिनामा स्वीकृत भएको वा अवकाश पाएको पत्र, बैंक खाता प्रश्ट खुल्ने कागजातको पत्र पेश गर्नुपर्ने सूचना अधिकारी कोजुले बताए । उनका अनुसार निवेदन दिएको एक÷दुइ दिनमा नै बैंक खातामा रकम जम्मा हुने छ ।

कोषका अनुसार अहिलेसम्म सामाजिक सुरक्षा कोषमा १३ हजार ६ सय ३ रोजगारदाता आवद्ध भएका छन् भने १ लाख ९४ हजार ९३ श्रमिक आवद्ध भइसकेका छन् । ति रोजगारदाता र श्रमिकबाट ४ अर्ब ७६ करोड ९९ हजार ४ सय ४३ रकम कोषमा योगदान भइसकेको छ भने जम्मा भएको योगदान रकममध्येबाट २ हजार ४ सय ४१ जनाले ४ करोड ६५ लाख ३३ हजार ९ सय ८८ रुपैयाँ भुक्तानी लिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर