मेची-महाकाली अभियानमा निस्कियो धुर्मुसको टोली – Nepal Press

मेची-महाकाली अभियानमा निस्कियो धुर्मुसको टोली

तीन स्थानको माटो रंगशालाको पीचमा मिसाइने

काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमजनतालाई भावनात्मकरुपमा जोड्ने उद्देश्यले यसका मुख्य अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’सहितको टोली मेची–महाकाली अभियानमा निस्केको छ ।

रंगशाला निर्माणकोे अवस्थाबारे घर-घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने यस अभियानको उद्देश्य रहेको धुर्मुसले बताएका छन् ।

आज बिहान निर्माणाधीन रंगशाला परिषरबाट टोली कञ्चनपुरतर्फ प्रस्थान गरेको हो । मेचीदेखि महाकालीसम्मका ७७ वटै जिल्लामा पुग्ने टोलीको लक्ष्य छ । जसअनुसार पहिलो चरणको यात्रा कञ्चनपुरबाट सुरु हुने छ । १० र ११ गते कञ्चनपुरमा बिताएपछि १२ र १३ गते कैलाली, १४ र १५ गते बर्दिया, १६ र १७ गते बाँके, १८ र १९ गते दाङ, २० र २१ गते सुर्खेत, २२ र २३ गते कपिलवस्तु जाने कार्यक्रम छ । यसैगरी २६ र २७ गते परासी र नवलपुरमा बिताएर पहिलो चरणको यात्रा अन्त्य गरिने छ ।

मेची–महाकाली यात्राका क्रममा सम्वन्धित जिल्लामा रहेका स्थानीय तहहरुका साथै जनताको घरदैलोमा पनि पुग्ने धुर्मुसले बताए । स्थानीय तहहरुलाई यसबारे पहिल्यै पत्राचार गरिसकिएको उनले जानकारी दिए ।

‘धेरै दिदीबहिनी दाजुभाइहरु रंगशालाको विषयमा जिज्ञासा भएर पनि टाढा भएकाले स्पटमा पुग्न सक्नुभएको हुँदैन, उहाँहरुलाई यो रंगशालासँग जोड्नका लागि पनि यो अभियान थालेका हौ,’ धुर्मुसले भने ।

धुर्मुसका अनुसार पहिलो चरणको यात्रा समाप्त भएपछि टोली रंगशालामा फर्किने छ । केही दिन रंगशालामा विश्राम गरेपछि दोस्रो चरणको यात्रा आरम्भ गरिने उनले जानकारी दिए । भ्रमण टोलीमा धुर्मुसका साथमा अर्जुन घिमिरे ‘पाँडे’, निगम हुमागाईं, अर्जुन भुषाल लगायत छन् ।

‘यो यात्राका क्रममा हामी पश्चिम महाकाली नदी, पूर्व मेची नदी तथा लुम्बिनीको माटो ल्याएर वैशाखमा रंगशालाको मैदानको पीचमा त्यसलाई समाहित गर्नेछौं,’ फेसबुक लाइभमा आएका धुर्मुसले बताए ।

धुर्मुस मेची–काली अभियानमा रहँदा पनि रंगशाला निर्माणको काम भने रोकिने छैन । धुर्मुसको अनुपस्थितिमा कुञ्जना घिमिरे सुन्तलीले त्यहाँको जिम्मेवारी सम्हाल्नेछिन् ।

अहिले रंगशालामा २ सय ८६ वटा पिल्लरहरु उठिसकेका छन् । नयाँ वर्षको अवसरमा पहिलो चरणको प्याराफिट तयार हुने अपेक्षा लिइएको धुर्मुसले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर