शुकलाई एकपछि अर्को बज्रपात, एकसाथ श्रीमती र छोरा गुमाएपछि नओभाएका आँखा – Nepal Press
मनाङ ट्रक दुर्घटना

शुकलाई एकपछि अर्को बज्रपात, एकसाथ श्रीमती र छोरा गुमाएपछि नओभाएका आँखा

पोखरा । जिल्ला अस्पताल भवन बनाउन सिमेन्ट बोकेर उकालो लागिरहेको ट्रक मनाङको नासों गाउँपालिका–४ कोतोमा पुग्दा नपुग्दै ब्रेकमा समस्या आयो । पहाडको अप्ठ्यारो बाटो त्यसमाथि ‘हेभ्भी वेट’ ट्रक ।

चालकले उकालो सहज बनाउन ट्रक ‘ब्याक’ गर्दानगर्दै चिप्लिँदै ट्रक सोझै मर्स्याङ्दीमा खस्यो । करिब ४५ मिटर तल खसेको ट्रक सीधैं नदीमा रहेको ठूलो ढुंगोमा बजारिन पुग्यो । ट्रकमा सवार ८ जनामध्ये ३ जनाको घटनास्थलमै ज्यान गयो । बाँकी ३ जनाको उपचारका क्रममा मृत्यु भयो ।

त्यही ट्रकमा सवार थिए, नासों गाउँपालिकाकै शुक गुरुङको परिवार । ट्रकमा शुककी श्रीमती ३५ वर्षीय मनिषा गुरुङ र डेढ वर्षीय छोरा लियोन गुरुङ थिए ।

मनाङ धारापानीमा होटल व्यवसाय गर्दै आएका शुक गुरुङ कोतोमा भएको ट्रक दुर्घटनामा परिवार गुमाएपछि अहिलेसम्म होशमा आउन सकेका छैनन् । दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका जलकाशी गुरुङ उनकै साली अर्थात् मनिषाकै बहिनी थिइन् ।

परिवारै गुम्ने गरी बज्रपात परेपछि शुकका आँखा खुल्न सकेको छैन । ‘एकपछि एक बज्रपात आइलाग्यो । केही समयअघिमात्रै उहाँले आफ्नो दिदी गुमाउनु भो । एक हप्ताअघिमात्रै उहाँको सोल्टीको काठमाडौंमा उपचारकै क्रममा मृत्यु भयो,’ आफन्त दिल गुरुङले नेपाल प्रेससँग भने, ‘उहाँ अझै बेहोशै हुनुहुन्छ । होश आएको छैन ।’

शुकको सोल्टी नाता पर्ने गत हप्तामात्रै काठमाडौंमा मृत्यु भएको थियो भने फागुन २० मा युकेमै दिदीको मृत्यु भएको थियो । उनी अहिले मनाङमै छन् । ‘बुहारी (मनिषा) पनि आफन्त बितेपछि त्यहाँ गएर आइराखेकी रैछिन् । कहाँबाट ट्रक चढेको भन्ने थाहै भएन,’ दिलु गुरुङले भने ।

जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काका अनुसार उनीहरु मनाङ, लमजुङ सीमाना जगतदेखि ट्रक चढेका थिए । ‘सबै जना जगतबाट ट्रक चढेर मनाङतिर लाग्नु भएको प्रारम्भिक अध्ययननबाट खुलेको छ,’ डिएसपी खड्काले नेपाल प्रेससँग भने । उनका अनुसार चालक र सहचालकबाहेक दुर्घटनामा परेका सबै आफन्ती नै हुन् ।

घटनास्थलमा मृत्यु भएका ३ जनाबाहेक उपचारका लागि लमजुङ ल्याउँदै गर्दा २ जनाको मृत्यु भएको थियो । लमजुङमा मृत्यु हुनेमा लमजुङकै मस्र्याङ्दी गाउँपालिका ५ का लक्ष्मण नेपाली र मनाङको चामे गाउँपालिका ४ का धनमान विक छन् । नेपाली ट्रकका सहचालकसमेत हुन् ।

लमजुङमा उपचार सम्भव नभएपछि ३ जनालाई थप उपचारका लागि चितवन रेफर गरिएको थियो । त्यसमध्ये राति चितवनमा उपचारकै क्रममा ७ वर्षीय थिउन गुरुङको मृत्यु भएको थियो ।

चितवनमा उपचार भइराखेका ७ वर्षीय निहल गुरुङको अवस्था सामान्य छ । तर, ट्रक चालक तनहुँ भानुका २१ वर्षीय सुमन तामाङको अवस्था गम्भीर रहेको डिएसपी खड्काले जानकारी दिए ।

अस्पतालको सामान भन्ने जानकारी आएको छैन: मनाङ जिल्ला अस्पताल

मालवाहक ट्रक दुर्घटना भएको थाहा भए पनि अस्पतालकै सामान भएकोबारे आफूहरुलाई जानकारी नभएको जिल्ला अस्पताल मनाङले जनाएको छ । घटनास्थलमै मृत्यु भएका ३ जनाको शव पोस्टमार्टमका लागि त्यही लगिएको भए पनि ट्रकले बोकेको सामानबारे आफूलाई थाहा नभएको अस्पताल प्रमुख डा प्रतिभा गौलीले बताइन् ।

‘अहिले जिल्ला अस्पतालको भवन निर्माण चलिरहेको त छ । बीचमा हिमपातले काम केही रोकिएको थियो,’ डाक्टर गौलीले नेपाल प्रेससँग भनिन्, ‘दुर्घटना भएको ट्रकले ठ्याक्कै कसको सामान बोकेको हामीलाई जानकारी आएको छैन ।’

करिब १९ करोड रुपैयाँ लगानीमा भवन जिल्ला अस्पतालको २ तले भवन निर्माण भइरहेको डा गौलीले जानकारी दिइन् । साउनदेखि सुरु भएको योजना ३० महिनाभित्र सक्ने गरी सम्झौता भएको उनले बताइन् । ‘३० महिना भए पनि बीचमा धेरै समय काम रोक्नु परेकाले केही ढिलाइ हुन सक्छ,’ उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार दुर्घटना भएको ट्रक अस्पताल भवन निर्माण ठेकेदार कम्पनीको ट्रक दुर्घटनामा परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर