दुर्गाप्रसाद घर फर्किए, ४० वर्षपछि आमाछोराको पुन:मिलन – Nepal Press

दुर्गाप्रसाद घर फर्किए, ४० वर्षपछि आमाछोराको पुन:मिलन

विराटनगर । इलामका ८६ वर्षका धनमाया तिम्सिना आइतबार निकै फुरुङग देखिन्थिन् । उनीको खुसीको एक मात्र कारण थियो, ४० बर्षपछि भारतमा जेल जिवन बिताएका छोरा दुर्गाप्रसाद घर फर्किनु । राष्ट्रिय मिडियामा निकै चर्चा पाएका इलामका दुर्गाप्रसाद आइतबार अपराह्न जन्मघर इलाम पुगेका छन् । आमाछाराको पुनर्मिलनका क्षण निकै संवेदनशील थियो । न उनीहरु खुलेर रुन सके, न खुलेर हाँस्न । धनमायाले छोरोलाई सुम्सुम्याइन् र आँशु खसालिन् । दुर्गाप्रसादले आमालार्य मिठाइ खुवाइदिए ।

‘यो त दुब्लाएछ नि,’ छोरालाई देखेपछि ८६ वर्षका आमाले भनिन्, ‘हलो जोत्दाजोत्दै देश गएर कमाएर ल्याउँछु भनेको थियो, हराएको हरायै भयो ।’

आफूले छोरा आउँछ भनेर बाटो हेरिराखेको पनि उनले बताइन् ।

‘आउँछ भनेर बाटो हेरिरहेको थिएँ, बल्ल आयो, खुसी लाग्यो’ उनले भनिन् ।

२० वर्षको उमेरमा दुर्गाप्रसाद देश–विदेश गर्छु, आमा र भाइबहिनीलाई पाल्छु भन्दै घरबाट निस्किएका थिए । तर, ४० वर्षसम्म उनले अपुष्ट आरोपमा जेल जीवन बिताउनुपर्यो । अन्ततः उनी जेलबाट निस्केर आफ्नो घर फर्केका छन् ।

कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका थिए । उनी आइतबार अपरान्ह इलामस्थित घर पुगेका हुन् । आइतबार प्रकाशचन्द्र दाइ दुर्गाप्रसादलाई लिएर इलामको घरै पुगेका थिए ।

इलामको एकतप्पा गाउँका दुर्गाप्रसाद ७ वर्षको हुँदा बुवा बिते । त्यसको सात वर्षपछि आमा धनमायाको हात भाँच्चियो । उनको दायाँ हात कुहिनाभन्दा तल काटेरै फाल्नु पर्ने भयो । बालखमै बुवा गुमाएका दुर्गाप्रसादका आमाको दाहिने हात पनि नरहेपछि घरको जिम्मेवारी उनकै काँधमा आयो ।

लामो समयसम्म दुर्गाप्रसाद घर नआएपछि आफन्तले खोजी थाले । त्यतिबेला अहिलेजस्तो हातहातमा मोबाइल थिएनन् । प्रहरीलाई खबर गरे । आफन्तलाई भने । कहीँबाट पनि उनी कहाँ छन् भन्ने मेसो पाउन सकिएन । त्यतिबेला दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन चलिरहेको थियो । आन्दोलनमा त उनी परेनन् भन्ने शंका इलाममा रहेका आफन्तले गर्थे ।

देशभित्र कहीँ नभेटिएपछि अरू आफन्तले उनलाई बिर्सिए । भाइबहिनी पनि आफूले सकेजसरी जीवन चलाउन थाले । ३२ वर्ष यसरी बिते । यहीक्रममा २०६९ सालमा एउटा चिठी आयो उनको घरमा । त्यो पत्रमा उनको नाम दीपक जैसी लेखिएको थियो ।

बुवाआमाको नाम पनि लेखिएको थियो । त्यही पढेर थाहा भयो–यता धनमायाले बिहान–बेलुका बाटो हेरिरहेका दुर्गाप्रसाद त पश्चिम बंगालका विभिन्न जेलमा थुनिएका छन् । र अन्तिममा कलकत्तास्थित दमदम केन्द्रीय कारागारमा पुगेका थिए ।


प्रतिक्रिया

One thought on “दुर्गाप्रसाद घर फर्किए, ४० वर्षपछि आमाछोराको पुन:मिलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर