झा दम्पतीको अपहरणमा संलग्न चार जना सार्वजनिक – Nepal Press

झा दम्पतीको अपहरणमा संलग्न चार जना सार्वजनिक

जनकपुरधाम । महोत्तरीको पिपरा गाउपालिका पाँचका मुसाफिर झा र उनका श्रीमती गितादेवीको अपहरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा संलग्न पिपरा गाउपालिका पाँचका ५२ वर्षका रामबाबु यादव, उनका छोराद्वय २६ वर्षका सुरेन्द्र यादव र २४ वर्षका राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई सार्वजनिक गरेको हो ।

घटनामा उनीहरु चारै जनाको संलग्नता देखिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी गराए । एसपी आचार्यका अनुसार उनीहरुले भने अपराध स्वीकार गरिसकेका छैनन् । ‘उनीहरुले अपराध नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ । ‘झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो । घटनामा संलग्न पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ । एसपी आचार्यले पक्राउ परेकाहरु झा दम्पतीलाई कहाँ राखेको छ भन्ने कुरा खुलाउन नचाहेको बताए । घटनामा नेपाल प्रहरीको अनुसन्धान फितलो भएको भन्दै स्थानीयले निरन्तर आन्दोलन गर्दा चार दिन अगाडी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली महोत्तरी पुगेको थियो । अहिले सिआइबीको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

झा दम्पतीलाई अपहरणकारीले ओछ्यानसहित उठाएर लगेका छन् । घटनास्थलमा रगतको छिटा समेत देखिएको थियो । जसले गर्दा झा दम्पतीको हत्या भइसकेको प्रहरीको अनुमान छ । तर पुष्टि भने अझै हुन सकेकाे छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *