युगाण्डाकी गायिकाले गाइन् फुलबुट्टे सारीको कभर, मदनकृष्णले गरे प्रशंसा – Nepal Press

युगाण्डाकी गायिकाले गाइन् फुलबुट्टे सारीको कभर, मदनकृष्णले गरे प्रशंसा

काठमाडौं । पछिल्लो समय नेपाली संगीतप्रेमीमाझ तहल्का पिटिरहेको गीत हो, राजनराज सिवाकोटीकृत फुलबुट्टे सारी । यूट्युवमा भ्युजको बाढीसँगै यो गीतका थरिथरि संस्करणहरु सार्वजनिक भइरहेका छन् । हुँदा–हुँदा यो गीतले विदेशीलाई पनि आकर्षित गरेको छ ।

युगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले गाएको फुलबुट्टे सारीको कभर गीत हालै सार्वजनिक भएको छ । उनको गीतलाई नेपाली दर्शक–स्रोताले मन पराएका छन् । टिकटकमा गीतको भिडियोले लाखौं भ्यूज बटुलिसकेको छ ।

शब्दोच्चारणको सुद्धतामा धेरै त्रुटी भए पनि गीतको लयमा भने वियोन्सले निकै ध्यान दिएकी छन् । यो गीत उनले नेपालमा नै बनाएकी हुन् । डिजिटल काठमाडौंमा गीत रेकर्ड गरिएको छ भने पोष्ट प्रोडक्सन हाम्रो म्युजिकमा गरिएको छ । डिका गुरुङले भिडियो डाइरेक्सन गरेका छन् । भिडियोमा वियोन्स स्वयम् फिचर्ड छिन् ।

वियोन्सले यसअघि एउटा नेपाली म्युजिक भिडियो र एउटा टेलिसिरियलमा समेत अभिनय गरेकी थिइन् ।

मदनकृष्णले गरे प्रशंसा

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले फुलबुट्टे सारीको कभर गीतका लागि वियोन्सलाई धन्यवाद दिएका छन् । उनको आवाजको पनि श्रेष्ठले तारिफ गरेका छन् ।

कभर गीत सेयर गर्दै उनले रमाइलो शैलीमा फेसबुकमा लेखेका छन्, ‘यी युगाण्डाकी गायिकाले सपक्क फुलबुट्टे लुगा नै लगाइवरी कभर संगको रुपमा गायकी कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै … आम्मामामा… बाब्बाबाबा… ओहोहोहो…’

नेपाली गीत संगीतलाई मन पराइदिएकोमा वियोन्सलाई भेटेरै धन्यवाद दिन चाहेको मदनकृष्णले उल्लेख गरेका छन् ।

‘तर घर कहाँ हो, युगाण्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कतबााट हो, केही थाहा छैन….हाहा ।

फुलबुट्टे सारीको लिजेन्ड भर्सन मदनकृष्णले गाएका छन् । यसअघि यो गीतका विभिन्न भर्सनहरु मार्मिक लामा, मिलन अमात्य र आरिश्मा शिवाकोटीको स्वरमा तयार भएको छ । मिलनले गाएको लेडी भर्सन सबैभन्दा चर्चित छ ।

यसलाई चार करोडभन्दा बढीपटक हेरिसकिएको छ । वियोन्सले गाएको कभर सङले पनि राम्रो भ्युज बटुलिरहेको छ । दुई दिनमा यसलाई ४३ लाखपटक हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर