पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा साइकल यात्रा – Nepal Press

पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा साइकल यात्रा

रुपन्देही । रुपन्देहीका ठूला बजार क्षेत्र बुटवल, भैरहवा तथा आसपासका क्षेत्रमा साइकलयात्रीको संख्या बढ्न थालेको छ ।

पछिल्लो समय शारीरिक व्यायामका साथै स्थानीयस्तरमा रहेका पर्यटकीय सम्पदाहरूको प्रवर्द्धन र प्रचारप्रसारमा साइकलयात्रीहरू सक्रिय हुँदै आएको साइकलयात्री स्वस्तिक श्रेष्ठ बताउँछन् ।

बुटवलदेखि भैरहवा, देवदह, सैनामैना तथा भैरहवादेखि परासी तथा लुम्बिनीसम्मको साइकल यात्रा गरिरहेका साइकलयात्री बिहानसाँझको समयमा सडकमा लामबद्ध देखिन थालेको श्रेष्ठको भनाइ छ । उनीहरू अहिले विभिन्न समूह समूह बनाएर यसरी यात्रा गर्न थालेका हुन् ।

साइकललाई पनि पर्यटनसँग जोड्नसक्ने र यसको प्रयोगले विदेशी पर्यटकको बसाइ लम्ब्याउने सम्भावना देखेको बुटवल तथा भैरहवाका साइकलयात्रीहरू अहिले साइकलकै माध्यमबाट आफ्नो स्वास्थ्यको ख्याल गर्दै विभिन्न पर्यटकीयस्थल एवम् सम्पदाहरूको प्रचारप्रसारमा जुटेका हुन् ।

केही समयअघि भैरहवाको बुद्धचोकबाट नवलपरासीको रामग्राम स्तुपा हुँदै त्रिवेणीधामको गजेन्द्रमोक्ष धामसम्म करीब ७० किलोमिटरको साइकल यात्रा गरिएको थियो । भुमही, बर्दघाट हुँदै त्रिवेणी पुगेको साइकल यात्रामा एक सय ५० जनाभन्दा बढी यात्रु सहभागी रहेको जेसीआई सिद्धार्थका अध्यक्ष मंगल भण्डारीले बताए ।

नेपालमा रहेको पर्यटकीयस्थल एवम् सम्पदाहरूको चिनाउने विभिन्न माध्यममध्ये साइकल यात्रा पनि महत्वपूर्ण माध्यम रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताको भनाइ छ ।

उनले सम्पदाहरूको विकासको लागि पैसा नै सबथोक नभई इमान्दारी र निष्ठापूर्वक काम गरिदिए पुग्ने बताएका छन् । प्रतिनिधि सभा सदस्य प्रमोदकुमार यादवले लुम्बिनी र यससँग सम्बन्धित अन्य बृहत क्षेत्रको अवलोकन गर्न आउने विदेशी पाहुनाहरूलाई पनि साइकलमा घुमाउनसक्ने यहाँ पर्यटकको बसाइ लम्बिनुको साथै सम्पदाहरूको प्रचार प्रसारमा पनि टेवा पुग्ने बताए ।

साइकल यात्राले आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने समय आइसकेको विश्व साइकलयात्री पुष्कर शाहको भनाइ छ । उनले स्वास्थ्य, वातावरण र आर्थिक रुपमा पनि साइकलको प्रयोग अपरिहार्य भएको बताए । उनले स्वास्थ्य रहन र वातावरण संरक्षण गर्न पनि साइकल कुदाउन आवश्यक रहेको बताए ।

यसैगरी स्वास्थ्य र पर्यटन प्रवद्घर्न गर्ने लक्ष्यसहित शनिबार रुपन्देहीमा साइक्लिङ कार्यक्रम गरिएको छ । बुटवल युनाइटेड साइक्लिङ क्लबको आयोजनामा सचेतनामूलक साइक्लिङ कार्यक्रम गरिएको हो ।

साइकल र्यालीमा सहभागीले सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए ।

साइकलयात्रीलाई लुम्बिनी प्रदेश सभा सदस्य कमला विकले मानव स्वास्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साइक्लिङ महत्वपूर्ण हुने भएकाले निरन्तरता दिन अग्रह गरेकी थिइन् । युवाहरूको अगुवाइमा समाजका विकृति र विसंगतिविरुद्ध लाग्नुपर्ने सुझाव दिँदै उनले सचेतना जगाउने गरी सबै क्षेत्रमा पुग्ने योजना बनाउन सुझाव दिइन् ।

संयोजक रबिलाल सुवेदीले स्वस्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सबैको साथ रहेको बताए ।

साइकलयात्रीको जिल्ला संजालले विभिन्न स्थानीय तहमा पुगेर सडक निर्माण गर्दा साइकल यात्रीको क्षेत्र छुट्टाउन ध्यानाकर्षण गराएको उपाध्यक्ष अभिषेक भारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर