भारतको अर्को खोपलाई नेपालमा अनुमति, बहराइनका राजकुमारले ल्याएको खोप चिनियाँ – Nepal Press

भारतको अर्को खोपलाई नेपालमा अनुमति, बहराइनका राजकुमारले ल्याएको खोप चिनियाँ

काठमाडौं । नेपालले कोभिड-१९ विरुद्ध आपतकालीन प्रयोगका लागि अर्को भारतीय खोप कोभ्याक्सिनलाई अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले शुक्रबार भारत बायोटेकले उत्पादन एवं विकास गरेको कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको प्रवक्ता सन्तोष केसीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार भारत बायोटेकले ४ मुलुकका २६ हजार जनसंख्यामा तीन चरणको परीक्षण पूरा गरेको कागजपत्र पेश गरेपछि अनुमति पाएको हो ।

यसअघि भारत र जिम्बाबेले मात्र कोभ्याक्सिनलाई अनुमति दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत लगाइसकेको यो भ्याक्सिन कोभिडविरुद्ध ८१ प्रतिशत प्रभावकारी हुने जनाइएको छ । नेपालले यसअघि अक्सफोर्ड- अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप र चीनको सिनोफार्मले उत्पादन गरेको कोर-भीलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

बहराइनका राजकुमारले ल्याएको चिनियाँ खोप

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले ल्याएको कोभिडविरुद्धको खोप चिनियाँ रहेको पुष्टि भएको छ । औषधी व्यवस्था विभागले उक्त खोप चीनको सिनोफार्मले विकास गरेको कोर-भी रहेको बताएको हो ।

कोर-भीलाई सरकारले यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ । प्रवक्ता केसीले राजकुमारले ल्याएको उक्त २ हजार डोज खोपलाई स्वास्थ्य र परराष्ट्र मन्त्रालयको समन्वयमा प्रयोगमा ल्याइने बताए । राजकुमारले गोरखा जिल्लामा मानिसलाई खोप दिन चाहेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर