एक वर्षपछि सुपारी–केराउको आयात खुल्दा व्यवसायी के भन्छन् ? – Nepal Press

एक वर्षपछि सुपारी–केराउको आयात खुल्दा व्यवसायी के भन्छन् ?

काठमाडौं । सरकारले सुपारी, केराउ, मरिच र छोकडाको आयात फुकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले फुकुवा गरेको हो । आयात फुकुवा गरे पनि परिमाणात्मक बन्देज भने जारी छ ।

नेपाल चेम्बर अफ कर्मशमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले आयात–निर्यातको नीति परिवर्तन गर्दा व्यापारीलाई समस्या हुने गरेको बताए । उनले भने ‘सरकारले बस्तु आयातमा पूर्ण बन्देज लगाएर मात्रै हुँदैन नेपालमा नै उत्पादनका लागि नीति निर्माण गर्नुपर्छ । देशमा कुन बस्तुको खपत कति हुन्छ र त्यो बस्तु नेपालमा कति उत्पादन हुन्छ भन्ने तथ्याङ्क सरकारले राख्नुपर्छ । कुनै बस्तुको आयात पूर्ण बन्द गर्ने वा कोटा अनुसार आयात गर्न दिने भन्दा पनि देशमा दैनिक उपभोग्य बस्तुको नेपालमा नै उत्पादन वृद्धि गर्नु पर्छ ।’

पूर्ण बन्देज भने पनि सुपारी, केराउ, मरिच र छोकडा नेपालमा आयात भएर नै बजारमा उपलब्ध भएको उनको भनाइ थियो । यी वस्तुहरु दैनिक उपभोग्यभन्दा विलासी वस्तु भएकाले सरकारले देशको अवस्था हेरेर नियन्त्रण गर्ने गरेको उनले बताए । नेपालमा विदेशबाट कुन बस्तु कति आयात हुन्छ र ती बस्तु नेपालमा कति खपत हुन्छ भनेर पनि सरकारले डाटा राख्नु पर्ने उनी बताउछन् ।

नेपाल खुद्रा व्यापार संघमा अध्यक्ष राजकुमार श्रेष्ठले सरकारले सुपारी, केराउ, मरिच र छोकडा पुर्ण बन्देज हटाएपछि मूल्यवृद्धि र बजार अभाव हट्ने बताए । उनले भने, ‘सरकारले सुपारी, केराउ, मरिच र छोकडामा पूर्ण बन्देज लगाएको समयमा चोरी–निकासी भएर आएकाले अभाव र मूल्यवृद्धि भएको थियो । सरकारले कोटा सिस्टममा खुल्ला गरेपछि मूल्य केही मात्रामा घट्ने र बजारमा पनि सहज उपलब्ध हने छ ।’

केराउको मूल्य भारतमा नै २५० पुगेकाले तेस्रो मुलुकबाट आएको केराउसमेत नाकामा आएर भारतमा नै जाने भएकाले मूल्यमा पनि वृद्धि हुने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अन्य बस्तुभन्दा केराउको मूल्य धेरै वृद्धि भएको छ । मुद्रा बाहिरिनबाट रोक्न र तस्करी नियन्त्रणका लागि गत चैत १६ गतेको मन्त्रिपरिषद्ले नधुल्याएको मरिचको आयातमा अर्को सूचना नभएसम्मका लागि पूर्ण बन्देज लगाएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले सुपारी, केराउ, मरिच र छोकडामा मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज कायम राखेको जानकारी दिइन्। परिमाणाम भने खुलाइएको छैन । लकडाउन सुरु भएपछि अतिआवश्यकभन्दा बाहेकका बस्तु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाइएको थियो ।

मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो । डाबर नेपाल प्रालि, दुगड स्पाइसेज लगायतले कच्चा पदार्थको रूपमा मरिचको प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक उत्पादनमा पनि मरिचको प्रयोग हुने गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब १३ करोड रुपैयाँ बराबरको मरिच आयात भएको छ । गत आवको सोही अवधिमा ८७ करोड रुपैयाँको मात्रै आयात भएको थियो । २०७४-७५ मा ७९ करोड रुपैयाँको आयात भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर