पोखरामा गगन थापाले भने- कांग्रेस नेतृत्वमा सरकार बनाइन्छ, चुनावमा गइन्छ – Nepal Press

पोखरामा गगन थापाले भने- कांग्रेस नेतृत्वमा सरकार बनाइन्छ, चुनावमा गइन्छ

पोखरा । कांग्रेस नेता तथा सांसद गगन थापाले अब देश चुनावमा होमिइसकेको भन्दै तयारी थाल्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् । सरकारको नेतृत्व कांग्रेसले लिने र चुनावमा देशलाई लैजाने दाबी उनले गरे ।

थापाले यसअघि कांग्रेस सरकारमा जान नहुने पक्षमा वकालत गर्दै आएका थिए । अहिले आफ्ना अडान फेरेका उनले कांग्रेसले अरु पार्टी मिलाएर सरकार बनाउने र देशलाई चुनावमा लैजाने बताएका हुन् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको शुक्रबार पोखरामा भएको दोस्रो अधिवेशनमा बोल्दै थापाले भने, ‘यो संसदले सरकार पनि दिन सक्दैन । छलफल पनि दिन सक्दैन । जनताको विषयलाई सम्बोधन पनि गर्न सक्दैन ।’

उनले अगाडि थपे, ‘अबको शक्तिशाली प्रधानमन्त्री मै हो भनेर जुन भन्न खोजिएको छ, यसलाई रोक्न आवश्यक छ । यसलाई रोक्न नेपाली कांग्रेसले अग्रसरता लिने हो । अरु पार्टीलाई मिलाएर सरकार बनाउने हो । र, त्यसपछि देशलाई चुनावमा लैजाने हो ।’

कांग्रेसले सरकार बनाएर २ वर्ष चलाउँला, सरकार बनाएर यो गरुँला, त्यो गरुँला भन्ने भन्ने नभएको तर, ओली सरकारले बिगारेका कामहरु सच्याउने उनको भनाइ थियो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले बिगारेका कामहरु छन्, त्यललाई सच्याउने हो । सुशासन ल्याउने हो,’ उनले भने, ‘कोभिडबाट थला परेको अर्थतन्त्रलाई केही माथि उठाउने प्रयास गर्ने हो । संविधानमा परेका भ्वाङहरु टाल्ने हो ।’

कांग्रेस नेतृत्वको सरकारले देशलाई चुनावमा लगेर निष्पक्ष चुनाव गराउने उद्देश्य राखेको सांसद थापाले बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा निष्पक्ष चुनाव सम्भव नभएको आरोप लगाउँदै उनले भने, ‘अड्डा-अदालत, निर्वाचन आयोग कसैले पनि ओलीको अन्डरमा निष्पक्ष काम गर्नै सक्दैन ।’

‘कांग्रेस अब गोलमोल हुने होइन’

सांसद थापाले अब आफ्नै सरकार बनाउन कांग्रेसले कुनै गोलमोल गर्न नहुनेसमेत बताए । तत्काल केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउनेबारे निर्णय गर्नुपर्ने धारणा उनको थियो ।

‘नेपाली कांग्रेसले अब गोलमोल गर्नु हुँदैन । तत्काल केन्द्रीय समितिको बैठक बोलाउने, संसदीय दलको बैठक बोलाउने, हाम्रो नेतृत्वमा सरकार बनाउने हो भनेर निर्णय गर्ने हो । त्यो निर्णय गरेर जसपासँग वार्ता गर्ने, माओवादी केन्द्रसँग वार्ता गर्ने हो ।’

थापाले जसपा र माओवादी केन्द्रले पनि अब अल्मल्याउने काम नगरेर प्रष्ट निर्णय दिनुपर्ने उल्लेख गरे । माओेवादी केन्द्रलाई पनि सरकारको समर्थन फिर्ता लिने भए तत्काल निर्णय लिन उनले सुझाए ।

‘कांग्रेसलाई समर्थन दिने हो भने दिने भन्नुस् । नदिएर केपी ओलीसँग टाँस्सिरहने हो भने जानुस्, गए हुन्छ केही फरक पर्दैन,’उनले भने ।

नेपाली कम्युनिष्ट पार्टीले जनतालाई निराश बनाएको भन्दै उनले कांग्रेसले अन्तिम पटकका लागि जनतासँग मौका माग्ने र आफ्ना कमीकमजोरी सच्याउँदै अघि बढ्ने बताए ।

उनले भने, ‘जनतालाई फेरि खुसी बनाएर अर्को ५ वर्षका लागि तपाईंहरुसँग मत माग्न आउने हैसियत बनाउँछौं भन्ने उद्घोष, संकल्प, प्रतिवद्धता गरेर जनतामाझ जाने स्थिति हामी बनाउँछौं ।’

जसपा र माओवादी केन्द्रले नेपाली कांग्रेसलाई समर्थन नगरे आफूहरु फेरि प्रतिपक्षमै बस्ने र कामबाटै हस्तक्षेप गर्ने थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर