अमेरिका-चीन उच्चस्तरिय वार्ता आज : वार्ता सुरु नहुँदै दुई विदेशमन्त्रीबीच भनाभन – Nepal Press

अमेरिका-चीन उच्चस्तरिय वार्ता आज : वार्ता सुरु नहुँदै दुई विदेशमन्त्रीबीच भनाभन

काठमाडौं । दुई ठूला महाशक्ति अमेरिका र चीनबीच आज उच्चस्तरिय वार्ता हुँदैछ । जो बाइडेनले राष्ट्रपति कार्यभार सम्हालेपछि दुई मुलुकका विदेशमन्त्रीबीच अमेरिकी राज्य अलास्कामा वार्ता हुन लागेको हो ।

वार्ता हुनुको एकदिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले वार्ताको प्राथमिकताबारे एउटा मन्तव्य दिएका छन् । यो मन्तव्यले दुबै मुलुकबीच वार्ता सुरु नहुँदै रस्साकस्सी र अविश्वास पुनः सिर्जना हुने संकेत मिलेको छ ।

ब्लिंकेनको उक्त सुरुआती मन्तव्य सार्वजनिक भएको केही मिनेटमै चीनले कडा प्रतिक्रिया दिँदै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई भनेको छ । चीनले अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति आफूमाथिको आक्रमण भएको उल्लेख गरेको छ ।

वार्तामा अमेरिकाले सिन्जियाङ प्रान्तमा उइगुरम मुस्लिम समुदायमाथि बेइजिङको दमनलाई उठाउने जनाएको छ । वार्तामा अमेरिकी पक्षबाट विदेशमन्त्री एन्टोनी ब्लिंकेन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान तथा चिनियाँ पक्षबाट विदेशी नीतिका अधिकारी याङ जेइची र विदेशमन्त्री वाङ यी सहभागि हुँदैछन् ।

वार्ताअघिको सुरुआती मन्तव्यमा ब्लिंकेनले सिन्जियाङ, हङकङ, ताइवान, अमेरिकामाथिको साइबर आक्रमण, आफ्ना साझेदारसँग आर्थिक बदनियत गरेको मुद्दालाई वार्तामा उठाउने जनाएका छन् ।

‘चीनका यी कार्यले विश्व स्थायित्व र सुरक्षा गर्ने कानूनी शासनलाई जोखिम पैदा गरेको छ’ ब्लिकेंनले भनेका छन् । अमेरिकी अभिव्यक्तिको जवाफमा याङ जेइचीले वासिङ्टनले अरु मुलुकलाई दबाएर आफ्नो आर्थिक र सैनिक सर्वोच्चता कायम गर्न खोजेको भन्दै आलोचना गरेका छन् ।

याइचीले अमेरिकामा पनि मानवअधिकारको अवस्था निकै दयनीय रहेको र काला अमेरिकीलाई भेदभाव गरिएको आरोप लगाए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले वासिङ्टनले चीनसँग द्वन्द्व नचाहेको बताउँदै आफ्ना साझेदारको सहयोगका लागि अमेरिका उभिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर