३१ करोड लगानीमा पञ्चकन्याको स्टील ट्यांक उद्योग संचालनमा – Nepal Press

३१ करोड लगानीमा पञ्चकन्याको स्टील ट्यांक उद्योग संचालनमा

१० हजार लिटर क्षमताको स्टील ट्यांकी उत्पादन नेपालमै पहिलो

रुपन्देही । पञ्चकन्या समूहले रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनमा ल्याएको छ । सेजमा सम्झौता गरेका उद्योग सञ्चालनमा आउन नसकेको अवस्थामा पञ्चकन्या समूह अन्र्तगतको पञ्चकन्या एसएस एक्पोट्स प्रालिले एस.एस ट्यांकी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो ।

३१ करोड लागतमा सञ्चालनमा ल्याइएको उद्योगको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । यो उद्योगबाट २ सय ५० लिटरदेखि १० हजार लिटरसम्मका ट्यांकी उत्पादन गर्न लागिएको पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

उनका अनुसार १० हजार लिटर क्षमताको स्टील ट्यांकीको उत्पादन नेपालमै पहिलो हो । २०६९ सालदेखि काठमाण्डौको थानकोटमा स्टील ट्यांकी उत्पादन गर्दै आएको पञ्चकन्याले विदेश निर्यातामा थप सहजता ल्याउनका लागि सेजमा दोस्रो उद्योग स्थापना गरेको उपमहाप्रबन्धक साहुले बताए ।

सेजको निर्देशिका अनुसार उद्योगले उत्पादन गरेका वस्तुको ६० प्रतिशत विदेश निर्यात गर्नुपर्ने हुन्छ भने ४० प्रतिशत स्वदेश खपत गर्न पाइनेछ ।

काठमाण्डौको उद्योगबाट उत्पादन भएका ट्यांकी भारतको लखनउ तथा कलकत्ता क्षेत्रमा निर्यात भइरहेकोमा भारतका लखनउ, कलकत्ता, गोरखपुरलगायतका ठूला शहरबाट पनि स्टील ट्यांकको माग बढेकाले उद्योग सञ्चालनमा ल्याएको समूहले जनाएको छ ।

प्रा.लि.ले ३ सय ४ तथा ३ सय १६ ग्रेडका भर्टिकल र होरिजेण्टल एस.एस ट्यांकी उत्पादन गरिरहेको छ । सेजमा सुरु भएको उद्योगले वार्षिक साना ठूला गरी ८० हजार वटा ट्यांकी उत्पादन गर्ने लक्ष्यका साथ काम गरिएको उपमहाप्रबन्धक साहुले जानकारी दिए । पञ्चकन्याले उद्योग सञ्चालनका लागि सेजमा अन्य ४ वटा प्लट लिएको छ ।

भैरहवा सेजका प्रमुख अर्जुन पाण्डेका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक पर्ने विद्युत् लगायतका प्राविधिक कुराको आवश्यक प्रबन्ध मिलाउने कार्य तीव्र पारिएको भन्दै अबको केही महिनाभित्रै सेजमा देखिएका सबै समस्या समाधान हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर