दीगो विकास लक्ष्य पुरा गर्न जीडीपीको १५ प्रतिशत खर्च गर्न विज्ञको जोड – Nepal Press

दीगो विकास लक्ष्य पुरा गर्न जीडीपीको १५ प्रतिशत खर्च गर्न विज्ञको जोड

काठमाडौं । सरकारले दीगो विकास लक्ष्य र २५ वर्षे दीर्घकालीन लक्ष्य हासिल गर्न वार्षिक १२ देखि १५ प्रतिशत रुपैयाँ खर्च गर्नुपर्नेमा विज्ञले जोड दिएका छन् । पूँजीगत खर्चमध्ये ७० प्रतिशत पूर्वाधारमा खर्च गर्नुपर्ने भए पनि यस क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको उनीहरुको भनाई छ ।

विहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी आन्ट्रपेरनर इन्क (पीइआइ) ले संयुक्त रुपमा आयोजना गरेको नीति संवादको पहिलो श्रृखलामा बिज्ञले यस्तो सुझाव दिएका हुन् । सरकारको खर्च प्रवृति आवश्यकताभन्दा न्यून रहेको पूर्वाधार विज्ञ कमल पाण्डेले बताए ।

‘सरकार र निजी क्षेत्रले गरेका विभिन्न अध्ययनले दीगो विकास लक्ष्य, सरकारले राखेको २५ वर्षे दीर्घकालिन लक्ष्य पूरा गर्न पूँजीगत खर्च जीडीपीको १२ देखि १५ प्रतिशत गर्नुपर्ने देखाएको छ । यो वार्षिक न्यूनतम ४ खर्ब ७३ अर्बदेखि ५ खर्ब ९१ अर्ब रुपैयाँ हो । पूर्वाधारमा विनियोजित रकममध्ये ७० देखि ८० प्रतिशत मात्र खर्च हुने गरेको छ, उनले भने । पछिल्ला वर्षमा यही प्रवृतिमा खर्च भइरहेको विज्ञ पाण्डेले बताए ।

त्यस्तै पूर्व सचिव कृष्ण ज्ञवालीले पूर्वाधार आयोजनाको सुशासनमा सुधार नगरी आयोजना निर्माणमा सुधार नहुने बताए । ‘नेपालमा आयोजनाको सुशासन अत्यन्त दुर्वल रहेको छ भने, खरिद प्रक्रिया र खरिद ज्ञानको अभावले पनि आयोजना समस्यामा पर्ने गरेको छ ।’

त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. कुशुम शाक्यले नेपालको अर्थतन्त्रको आधार नै पूर्वाधार भएकोमा जोड दिइन । ‘सरकारले पूर्वाधार आयोजनाको प्राथमिकिकरण र बजेट विनियोजनलाई प्रभावकारी बनाउन नसक्दा समस्या भइरहेको छ ।’

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले सार्वजनिक निजी साझोदारी नीति आएपनि ऐन र नियमावली नआएको गुनासो गरे ।
अर्थ मन्त्रालयका योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन दाहालले पूर्वाधार आयोजनाको अनुगमनमा न्यून अनुगमन हुँदा पनि समस्या आएको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले पूर्वाधार विकास सरकारको प्राथमिकता बाहिर रहेको बताए । समयमै सम्पन्न हुने आयोजनामा पनि न्यून बजेट राख्दा वर्षौसम्म त्यो आयोजना सम्पन्न नहुन नसकेको उनको भनाइ छ । ‘यसबाहेक न्यून बोलपत्र, महंगो निर्माण सामाग्री, निर्माण सामाग्रीको अभाव, समयमा काम गरेपनि बजेट प्राप्त नहुने समस्या रहेको छ ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर