माध्यमिकी परिक्रमा टोलीको मडैमा विश्राम (फोटो फिचर) – Nepal Press
माध्यमिकी परिक्रमा टोलीको मडैमा विश्राम (फोटो फिचर)
सन्तोष यादव २०७७ चैत ५ गते १९:०५
२०७७ चैत ५ गते १९:०५

जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय माध्यमिकी परिक्रमा टोलीले आज महोत्तरीको महोत्तरी गाउँपालिकामा पर्ने मडैमा विश्राम गरेको छ ।

फागुन २९ गते धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित परिक्रमा सुरु भएको थियो ।

सीतारामको डोलासँगै पदयात्रा गर्ने हजारौं श्रद्धालुहरु आज दिउँसो मडै पुगेका छन् । मडैमा मिथिला परिक्रमामा सहभागी हजारौं साधुसन्त र सर्वसाधारणलाई महोत्तरी गाउँपालिका परिवारले स्वागत गर्यो । गाउँपालिकाले परिक्रममा सहभागीलाई निःशुल्क खाजा खुवाउँदैछ । मडैका सर्वसाधारणसमेत उनीहरुको स्वागतमा जुटेका छन् । परिक्रमाको टोली मडै पुगेपछि भव्य मेला लागेको छ ।

नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन् । जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमाबासीहरु यस अवधिभरीको लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेर हिँड्छन् ।

मडैबाट परिक्रमा टोली हिँडेपछि भोली दिउँसो ध्रुवकुण्ड पुग्छन् । त्यहाँ राति विश्राम पश्चात क्रमशः कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् । जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

परिक्रमाका सम्बन्धमा मिथिला महात्म्यमा चर्चा भएको पाइन्छ । मिथिला महात्म्य १८ औँ शताब्दीमा लेखिएको साधुसन्तहरु बताउँछन् । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८ औं शताब्दीभन्दा पहिले नै सुरू भएको अनुमान छ ।

परिक्रममा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ । चारधामको दर्शन गरे बराबरको फल प्राप्तीका लागि परिक्रममा सहभागी हुने गरेको साधुसन्तको भनाई छ ।