भारतको सिरमले रोक्यो बेलायत पठाउन लागिएको खोप – Nepal Press

भारतको सिरमले रोक्यो बेलायत पठाउन लागिएको खोप

लन्डन । भारतको सिरम इन्स्टिच्युटले खोप आपूर्ति रोकेपछि बेलायतमा खोप अभियान प्रभावित भएको छ । बीबीसीका अनुसार चार सातादेखि सिरमले बेलायत पठाउन तयार पारिएको खोपको खेपलाई रोकेर राखिरहेको छ ।

जसले गर्दा आउने महिना बेलायतमा खोप अभाव हुने जानकारी बेलायतको स्वास्थ्य मन्त्रालयले त्यहाँका स्थानीय स्वास्थ्य संस्थालाई दिएको छ । जुलाइको अन्त्यसम्म बयोवृद्ध नागरिकलाई पहिलो डोज खोप लगाउने बेलायतको तयारी छ ।

सिरमले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ । सिरमका प्रवक्ताले चाहिँ ५ मिलियन डोज खोप बेलायतलाई पठाइसकेको बताएका छन् । भारत सरकारको आवश्यकता र खोपको उपलब्धताअनुसार मात्र खोप पठाउन सकिने सिरमको जवाफ छ ।

सिरमले नेपाललाई पनि पत्र पठाएर तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ दिएको थियो ।

सिरम इन्स्टिच्युट विश्वकै सवैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । कम्पनीले यो वर्षमात्र न्यून र मध्यम आय भएका मुलुकका लागि १ बिलियन डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यसै महिनाको सुरुआतमा सिरम र बेलायतबीच १० मिलियन डोज खोप आपूर्ति गर्ने सहमति भएको थियो । तर, ढिलाइका बाबजुद पनि यो महिना त्यसको आधामात्र आपूर्ति हुने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *