नेपाल सुपर लिग: धनगढीको प्रशिक्षकमा तोपे फुजा – Nepal Press

नेपाल सुपर लिग: धनगढीको प्रशिक्षकमा तोपे फुजा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणका लागि धनगढी फुटबल क्लबले नाइजेरियन नागरिक तोपे फुजालाई प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले प्रशिक्षकको रूपमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । फुजा नेपाली फुटबलमा नयाँ नाम होइन । फुजाकै नेतृत्वमा मनाङमस्र्याङदी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो, जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो ।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लबबाट २००६ मा डेब्यू गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेड, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । अनि उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो ।

एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार धनगढीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई आइतबार अनुबन्ध गरिसकेको छ ।

गो ड्रिमर्सका प्रमुख सुवास साहीले देशमै पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिताको धनगढी एफसीको प्रशिक्षकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा एकदमै खुशी लागेको बताएका छन् । ‘जीवन नै फुटबलमा बिताइरहेका फुजाले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेका छन्, नेपाली खेलाडीहरूको स्तर र क्षमताबारे जानकार छन्,’ सुवासले भने, ‘उनको अगामनले धनगढी एफसीेले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ ।’

त्यस्तै, प्रशिक्षक फुजाले एनएसएलको पहिलो संस्करणमा नै महत्त्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुशी र उत्साहित रहेको बताए । ‘उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका विदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन,’ फुजाले भने, ‘क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु । र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *