विराटनगरको कोभिड अस्पताल खाली, करारका कर्मचारीलाई विदा – Nepal Press

विराटनगरको कोभिड अस्पताल खाली, करारका कर्मचारीलाई विदा

विराटनगर । नयाँ संक्रमित नआएपछि विराटनगर-१० स्थित कोशी कोभिड-१९ अस्पताल विरामी खाली भएको छ । महामारीको समयमा दैनिक ६० जनासम्म संक्रमित भर्ना हुने गरेको अस्पताल अहिले खाली छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले २०७६ चैत २१ गतेदेखि नेशनल ट्रेडिङको भवनमा प्रदेश सरकारले सूरुमा ८० वेडको कोभिड–१९ अस्पताल सञ्चालन गरेको थियो । आईसीयू ८ वेड, एचडीयू २२ बेड र रिकभरी १२ वेडसहितको अस्पताल खाली छ । त्यतिबेला अस्पतालका लागि ४१ जना विभिन्न तहका कर्मचारी नियुक्त गरिएको थियो ।

अस्पतालमा हाल कुनै विरामी नभएको अस्पतालका निमित संयोजक एपोलोकुमार भगतले बताए । उनका अनुसार चार दिनअघि एकजना विरामी भर्ना भएको र उनी पनि डिस्चार्ज भइसकेपछि अस्पताल खाली भएको हो ।

समाजिक विकास मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले कोभिड नियन्त्रणकै लागि ठूलो लगानीमा सञ्चालन भएको अस्पतालको सेवा भने जारी राख्ने तयारी भएको बताए । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमित बढ्न थालेकाले तत्काल हटाउने वा अरु स्वरुपको अस्पताल सञ्चालन गर्ने विषयमा कुनै छलफल नभएको उनले उनले बताए ।

‘कोरोनाको दोस्रो लहरको सम्भवना हटेको छैन’ भट्टराईले भने, ‘त्यसो भएको खण्डमा अस्पतालबाट सेवा प्रवहामा समस्या आउन सक्छ । त्यसैले तत्काललाई अस्पतालको सेवा पुर्ण रुपमा रोक्न सकिन्न ।’ केही दिनपछिको अबस्था हेरेर अस्पतालको सेवा बन्द गर्ने या निरन्तरता दिने भन्ने बारेमा मन्त्रालयले निर्णय लिने उनले बताए । चैतदेखि सेवा सुरु गरेको अस्पतालमा पुष ५ देखि एचडीयू र अक्सिजनसहितको सय बेडको कोभिड अस्पतालसमेत सञ्चालन गरेको थियो ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजीक्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आएको हो । अस्पताल निर्माणका लागि प्रदेश सरकारले एक करोड, महानगरपालिकाले २५ लाख र निजी क्षेत्र तथा बैंकलगायत विभिन्न संघसंस्थाले ६ करोड ७५ लाख सहयोग गरेका थिए ।

एक सय बेडको भेन्टिलेटर अस्पतालमा निर्माण कार्य सुरु गर्नका लागि स्वीस सरकारले चार करोड रुपैयाँ सहयोग उपलव्ध गराएको थियो ।

संक्रमित नागरिकको उपचारको समस्याका कारण निजी क्षेत्र एवं प्रदेश र स्थानीय सरकारको सोचअनुसार अस्पताल निर्माण भएपछि भविश्यमा अस्पताललाई विशिष्टकृतको मुटु रोग उपचार केन्द्र बनाउने तयारी गरिएको छ ।

कर्मचारीलाई बिदा

कोभिड अस्पतालमा नयाँ संक्रमित भर्ना नभएपछि अस्पताल कार्यरक्त कमचारीलाई प्रदेश सरकारले बिदा गरेको छ । प्रदेश सरकारले अस्पतालमा कार्यरत करारका कर्मचारीको करार अवधि नथपी बिदा गर्न लागेको हो । अस्पतालमा कार्यरत करारकमा चिकित्सक, नर्स र पारामेडिकललाई करार अवधिसकिएपछि उनीहरुको करार थप नभएको निमित संयोजक एपोलोकुमार भगतले बताए ।

भगतका अनुसार अस्पतालमा चिकित्सकतर्फ मेडिकल अफिसर ८ जना, स्टाफ नर्स ८ जना, एचए ८ जना, स्वीपर ३, इलेक्ट्रिकल र प्लम्बर ४ जना, वायोकेमिकल इन्जिनीयर १ जना, कार्यालय सहायक ९ सहित १ जना गार्ड रहेका छन् । उनीहरुलाई प्रदेश सरकारले नियमित सुविधा दिइरहेको थियो ।

चिकित्सक, नर्स र पारामेडिकलको अवधि सकिए पनि स्वीपर र कार्यालय सहयोगीको करार नियुत्ति थपिएको छ ।

कोभिड अस्पतालबाट हालसम्म ३ सय जना महिलासहित ८ सय २९ जना उपचारार्थ भर्ना भएका छन् । भर्ना भएकामध्ये ३७ पुरुषसहित ५६ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर