दैलेखमा खुल्यो कर्णालीकै ठूलो किवि फार्म – Nepal Press

दैलेखमा खुल्यो कर्णालीकै ठूलो किवि फार्म

सुर्खेत । विगतमा कुराका खेती धेरै भएको र अब खेतीका कुरा गरौं भन्दै कर्णालीका युवाहरुले गुराँस गापा –७, लालिकाँडा दैलेखमा कर्णालीकै ठूलो किवि (झूसेफल) फार्म सञ्चालनमा ल्याएका छन् । समृद्ध कर्णाली एग्रो फार्म प्रालिको नामबाट उक्त फार्मले किविसहित अन्य फलफुल खेती गर्न सुरु गरेको हो ।

‘नेपालमै नयाँ प्रजातीको एलिसान किविको आठ सय विरूवा रामेछापबाट ल्याइ हामीले फार्म सन्चालन गर्न लागेका हौं । किविसँगै जापानिज हलुवाबेद र विभिन्न जातका नास्पतीलगायतका फलफूलहरु लगाउँछौं,’ सञ्चालक खेमराज विसीले भने, ‘किवि फलको बजार पश्चिम नेपालको विभिन्न सहरहरूमा राम्रो सम्भावना रहेको छ ।’ उनले तत्कालका लागि ५० रोपनीमा किविमा ८ सय विरुवा रोपिएको र भविश्यमा थप २० रोपनीमा फलफूलको बगैंचा बनाइने जनाए ।

हाललाई फार्मले मल्टिफार्मिङ्ग गर्ने सोचका साथ तेह्रथुमबाट अकबरे खुर्सानीको बिरूवा र इलामबाट बिउ ल्याएर खेती गरेको छ ।

मध्य तथा उच्च पहाडमा उत्पादनको हिसाबले अत्यन्तै सफल मानिने किवि फलको कर्णालीको जाजरकोट, रूकुम, सल्यान र दैलेखमा केहि वर्ष यता खेती गरिँदै आइएको छ ।

फार्ममा ६० लाख भन्दा बढी लगानी भएको अर्का सन्चालक सदामसिंह राठौर बताउँछन् । ‘अहिलेसम्म ६० लाख भन्दा बढी लगानी भइसकेको छ । अबको केहि वर्षमा उत्पादन सुरु हुन्छ र त्यो लगानी उठनेमा म ढुक्क छु ।’

आउँदो सालमा किवि लगायतको फलफुलको बगैंचा थप गर्ने, किविका विरूवाको नर्सरी बनाउनेदेखि भण्डारणका लागि चिस्यान घर र बजारीकरणका लागि अन्य योजनाहरू बनाइरहेको जानकारी दिदै उनी भन्छन्, ‘लकडाउनको बन्दाबन्दीमा पर्दा कृषि व्यवसाय सम्बन्धी योजना बनाएको हुँ । जन्मजात कृषक नभए पनि आफुलाई निजामतीसेवा सँगै सफल कृषक, उद्यमी र व्यवसायीको रूपमा स्थापित गर्न चाहन्छु ।’

कृषि व्यवसाय, उत्पादन र बजारीकरण विना देशको समृद्धि सम्भव छैन भन्ने सोचका साथ फरक फरक धारका तर एउटै सोच र विचार भएका यूवाहरू कृषि व्यवसायमा होमिएको उनको भनाई थियो ।

कर्णालीमा कृषि व्यवसाय सन्चालनका लागि ठूलो मात्रामा जग्गा प्राप्ति गर्न जटिल रहेको र जग्गा प्राप्ति गरे पनि लिजमा लिन झन कठिन रहेको उनको गुनासो छ । यसका अलावा फार्म संचालनको क्रममा बाटोघाटो, सिचाईं, बिरूवाका संरक्षण र रेखदेख लगायत समस्या खेप्नु पर्ने उनी बताउँछन् ।

हाललाई कम्पनीले ५० रोपनी जग्गा खरिद गरेको छ भने २२ रोपनी जग्गा भाडामा लिएको छ र अन्य जग्गा खरिद तथा सम्झौताका लागि प्रकृया अगाडि बढेको राठौर बताउँछन् ।

संघ, प्रदेश र स्थानीय सरकारले कृषिमा आधारित विभिन्न किसिमका योजनाहरू संचालन गरेता पनि ढिला गरि फार्म संचालन भएको र मध्य तथा उच्च पहाडमा किविको राम्रो सम्भाव्यता रहेको र किविको व्यवसायिक खेतिले कर्णालीका पहाडी जिल्लाका जनताहरूको जीवनस्तर उठ्ने सम्भावना हुँदाहुँदै पनि सरकारले किवि खेतीको सम्बन्धमा ठोस कदम नचालेको उनको गुनासो छ ।
‘विशेष गरी कृषिसँग सम्बन्धित युवा उद्यमी र व्यवसायीहरूलाई हतोत्साही हुन नदिन प्याकेजमा विभिन्न किसिमका योजनाहरू बनाउन जरूरी छ । सरकारले कृषि पेशामा आवद्ध साना ठूला व्यवसायीहरूलाई लक्षित गरि फार्मको संरक्षण र संवर्द्धन, बाटो, पानी, वत्ती, सिँचाई, भण्डारणका लागि चिस्यानघरसाधनमा सहुलियत र बजारीकरणमा सहकार्य गर्न आवश्यक छ,’ राठौर भन्छन् ।

घर जाजरकोट भई हाल निजामती सेवामा रहि कर्णाली प्रदेशमा कार्यरत रहेका सदामसिंह राठौर र समाजसेवा सँगै यूवा राजनीतिमा रहेका दैलेखका खेमराज बिसी लगायतका यूवाहरूको सहकार्यमा यस कम्पनीले मूर्त रूप लिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर