तान्जानियाका राष्ट्रपतिको निधन कोरोनाका कारण भएको आशंका – Nepal Press

तान्जानियाका राष्ट्रपतिको निधन कोरोनाका कारण भएको आशंका

एजेन्सी । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । उपराष्ट्रपति सामिया सुलुहु हसनले सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गरी मुटुको समस्याका कारण राष्ट्रपतिको निधन भएको पुष्टि गरेकी हुन् ।

पछिल्लो २ साताभन्दा बढी समयदेखि मागुफुली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनको स्वस्थ्य अवस्थाका बारेमा धेरै हल्लाहरु फैलिएका थिए । विपक्षी नेताहरुले पछिल्लो साता राष्ट्रपतिलाई कोरोना संक्रमण भएको बताएका थिए, तर त्यसको पुष्टि भएको थिएन ।

‘निकै अफसोचका साथ म तपाईहरुलाई यो सूचित गरिरहेको छु… हामीले हाम्रा बहादुर नेता तान्जानिया गणराज्यका राष्ट्रपति जोन पोम्बे मागुफुलीलाई गुमाएका छौं,’ टेलिभिजन सम्बोधनमा उपराष्ट्रपति हसनले भनेकी छन् ।

उनले १४ दिनसम्म राष्ट्रिय शोक मनाइने राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी पनि दिइन् ।

तान्जानियाको संविधानअनुसार हसनलाई नयाँ राष्ट्रपतिको रुपमा जिम्मेबारी दिइनेछ । उनले मागुफुलीको बाँकी पाँच वर्षे कार्याकाल सम्पन्न गर्नेछिन्, जो गत वर्षमात्र राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

मागुफुलीलाई पछिल्लो पटक फेब्रुअरी २७ मा सार्वजनिक रुपमा देखिएको थियो । तर पछिल्लो सातामात्र प्रधानमन्त्री कासिम माजाविबाले राष्ट्रपति स्वस्थ र कडा मिहिनेत गरिरहेको दावी गरेका थिए । उनले विदेशमा रहेका घृणित तान्जानियाली नागरिकले राष्ट्रपतिको स्वास्थ्यबारे अनावश्यक हल्ला फैलाइरहेको आरोपसमेत लगाएका थिए ।

तर विपक्षी नेता टुन्डु लिस्सुले आफ्नो स्रोत उदृत गरी बीबीसीलाई बताएअनुसार राष्ट्रपतिलाई कोरोना संक्रमण भएको र केन्याको अस्पतालमा उपचार गरेको दावी गरेका छन् ।

मागुफुलीले पछिल्लो जुन महिनामै तान्जानियालाई कोभिडमुक्त देश घोषणा गरेका थिए । उनले मास्कको प्रभावकारीताको मजाक उडाएका थिए भने परीक्षणको बारेमा पनि शंका व्यक्त गरेका थिए । कोरोना संक्रमण रोक्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड लागू गरेका छिमेकी देशहरुलाई पनि उनले चिढ्याएका थिए ।

तान्जानियाले कोरोना भाइरसबारेको आधिकारिक विवरण मे महिनायता सार्वजनिक गरेको छैन । सरकारले खोप अभियान सुरु गर्न पनि अस्वीकार गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *