दुर्घटना ‘डेमो’: उडिरहेको जहाजबाट धुवाँको मुस्लो निस्केपछि… – Nepal Press

दुर्घटना ‘डेमो’: उडिरहेको जहाजबाट धुवाँको मुस्लो निस्केपछि…

पोखरा । काठमाडौंदेखि पोखरा आइरहेको अन्नपूर्ण एअरलाइन्सको हवाइजहाज पोखरा विमानस्थल नआइपुग्दै इन्जिनमा समस्या आउँछ । एननए २०५ कल साइन नम्बरको जहाज अवतरण गर्नै लाग्दा दाहिने इन्जिनले कालो धुवाँ फ्याँक्न थाल्छ ।

इन्जिनमा आगो लागेपछि अन्नपूर्ण विमानलाई ‘फोर्स ल्यान्डिङ’ गर्नुपर्ने हुन्छ । विमान चालक दलले पोखरा विमानस्थल टावरलाई खबर दिन्छ, ‘एननए २०५ को जहाजका दायाँ इन्जिनमा आगो लागेको छ । आपतकालीन उद्धारका लागि पहिलो प्राथमिकता दिन अनुरोध गर्दछौं ।’

३ जना चालकदलसहित २८ जना सवार उक्त जहाजमा समस्या आएपछि पोखरा टावरले रनवे २२ मा आपतकालीन अवतरण गर्न अनुमति दिन्छ । विमान तोकिएको धावनमार्गमा अवतरण त गर्छ तर, इन्जिनमै समस्या आइसकेकाले चिप्लिएर पूर्वतिर दुर्घटनामा पर्दछ ।

अन्नपूर्ण एअरलाइन्सको विमान पोखरा विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १६ बजेर ३५ मिनेट गएको हुन्छ । पूर्व सूचनाअनुरुप आपतकालीन उद्धार गर्न विमानस्थल पूरा खाली गरिसकिएको हुन्छ । उद्धारका लागि आवश्यक दमकल, हेली, एम्बुलेन्स त्यहीबेला नै तम्तयार हुन्छन् ।

विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएपछि तत्काल पोखरा टावरबाट दुर्घटना साइरन बज्छ । दुर्घटनाग्रस्त विमानबाट कालो धुवाँ निस्किन थाल्छ । यात्रुहरु आत्तिँदै चिच्याएको ठुल्ठूलो आवाज विमानस्थल बाहिरै सुनिन्छ ।

एकैछिनमा अगाडिको ढोकाबाट ११ जना यात्रुहरु बाहिर निस्किन सफल हुन्छन् । तत्पश्चात दुर्घटनाग्रस्त विमानमा ठूलो आगो दन्किन थाल्छ । नेपाल प्रहरी, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल, रेडक्रस आदि विभिन्न संघसंस्थाहरु तत्काल उद्धारमा निस्किन्छन् ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु हुन्छ । १२ जना गम्भीर घाइते हुन्छन् । ११ जना यात्रु सामान्य घाइते हुन्छन् । गम्भीर घाइते भएका यात्रुलाई पोखराकै मणिपाल अस्पतालमा हेलिकप्टरमार्फत उद्धार गरिन्छ । बाँकी घाइतेको अवस्था पहिचान गरिसकेपछि आवश्यकता बमोजिम फेवासिटी, गण्डकी अस्पतालमा उपचारका लागि लगिन्छ ।

केहीबेर पछि पोखरा नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गरेर दुर्घटनाबारे जानकारी दिन्छ । कार्यालयका देवराज सुवेदी र अर्चना अधिकारी हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अहिले अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । मृतकजन प्रति गहिरो श्रद्धाञ्जली प्रकट गर्दछौं ।’

०००

उल्लेखित घटना विवरण आँखाले देखिएको हो, तर यथार्थ होइन । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयले पोखरा विमानस्थलमा गरेको हवाइ दुर्घटना आपतकालीन उद्धार तालिमको अन्तिम दिन बुधबार यस्ता ‘डेमो’ देखाइएको थियो ।

उक्त नमुना उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल, रेडक्रसले संलग्न थिए । उनीहरुले हवाइ दुर्घटना भएको समयमा कसरी तत्काल उद्धार गर्ने र कसको कस्तो भूमिका हुन्छ भन्नेबारे नमुना कौशल प्रस्तुत गरेका थिए ।

‘यो आन्तरिक मामिला मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत नै हो,’ कमलबहादुर खड्काले भने, ‘पहिले दुर्घटना हुँदा कुन यात्रीको अवस्था कस्तो र कहाँ कुन अवस्थामा उपचार भइरहेको छ भन्ने थाहा हुँदैनथ्यो । अब सम्पूर्ण जानकारी तत्काल राख्न सुरु भइसकेको छ ।’ उनले अब यात्रुको अवस्थाबारे जानकारी राख्दा आफन्तलाई सजिलो हुने बताए ।

प्रदेश सरकारको १० लाख रुपैया सहयोगमा गरिएको आपतकालीन उद्धार तालिम चैत १ देखि ३ गतेसम्म सञ्चालन गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७२ सालको भूकम्पले हरेक विपद्मा तयारी अवस्थामा रहन सिकाए पनि स्रोत र साधनको कमी भएको बताए ।

‘कतै विपद् आइहाले सरकार निरुत्तर हुनु बाहेक अर्को विकल्प छैन । विपद्का बेला उद्धार गर्न आश्यक स्रोत र साधनको कमी छ,’ उनले भने, विपद् व्यवस्थापनका लागि वर्षको एक दिन मात्र अभ्यास गरेर पनि हुँदैन । समय–समयमा गरिरहन जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *