जसपा नेता कर्ण भन्छन् – हाम्रो मागबारे प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ (भिडियो) – Nepal Press

जसपा नेता कर्ण भन्छन् – हाम्रो मागबारे प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ (भिडियो)

काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् ।

सिंहदरबारमा बुधबार संचारकर्मीमाझ उनले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दाहरूलाई संवैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा पुन:स्थापना र त्यसपश्चात सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि दलहरूबीच सरकार गठनको कसरत तीब्र बनेको छ । सबै दलहरूसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने कर्णले बताए ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न-भिन्न भएको भन्दै उनले आड लिएर नेतृत्वमा पुग्न नहुने बताए ।

‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन’, कर्णले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर