एमालेमा फेरि प्रचण्डको हुँडलो, माधव नेपाल प्रयोग होलान् ? – Nepal Press
विचार

एमालेमा फेरि प्रचण्डको हुँडलो, माधव नेपाल प्रयोग होलान् ?

प्रचण्डलाई कसरी पत्याउन सकेका माधवले ?

माओवादी कार्यकर्ता भन्ने गर्छन्– प्रचण्ड गतिशील नेता हुन्, उनी असम्भवलाई सम्भव तुल्याउँछन् । नयाँ चीजको प्रयोग र विकास गर्दै त्यसलाई सैद्धान्तीकरण गर्न सिपालु छन् ।

‘भए पास, नभए अभ्यास’को नीतिअनुसार प्रचण्डले राजनीतिमा पनि अनेक प्रयोग गरिरहन्छन् । देश प्रयोगशाला नै किन नबनोस्, प्रचण्डले प्रयोग गर्न छाड्दैनन् ।

मूलतः आफू हाबी हुन वा शक्तिमा रहिरहन उनले जे पनि गर्न सक्छन् भन्ने घटनाक्रमले पुष्टि गरिसकेको छ । शक्तिबाट बाहिरिनु वा अलिकति कमजोर भएको महशुस गरे भने पुनः शक्तिमा पुग्न उनले गरेका ‘अस्वभाविक गतिविधि’हरु जगजाहेरै छन् ।

प्रचण्डको पछिल्लो प्रयोग हो, चुनावी राजनीतिमा सकिँदै गएको माओवादीलाई एमालेमा मिसाउनु र देशकै ठूलो पार्टीको दोस्रो अध्यक्ष बन्नु । तर उनी त्यतिमा मात्रै रोकिने स्वभावका होइनन् । नेकपा बनेको केही महिनाभित्रैबाट उनले एमालेभित्र अर्को प्रयोग गर्न थाले ।

एमालेभित्र छिरेर ‘सके कब्जा गर्ने, नसके ठूलो हिस्सा लिएर फर्कने’ उनको प्रयोग सफल हुन्छ कि हुन्न भन्ने चाहिँ अब नेकपा एमालेको माधव नेपाल पक्षले लिने निर्णयमा निर्भर छ । एमालेभित्र समीकरण बनाएर केपी ओलीलाई अल्पमतमा परे पनि प्रचण्ड न त एमाले निल्न सफल भए, न त ओलीसँग मिल्न ।

केपी ओलीले भनिसकेका छन्– सक्ने भए यिनीहरुले मलाई सिध्याउने थिए । एउटा बच्चालाई ढुंगामा बजारे जसरी केही गर्न बाँकी राखेनन् । सर्वोच्च अदालतको फैसालाले मेरो राजनीतिक जीवन बँचाइदियो । अब अल्पमतमा पर्ने गल्ती गर्ने छैनँ ।

केपी ओलीको यो भनाइले नेकपाभित्र प्रचण्डले कस्तो प्रयोग गर्न खोजेका थिए भन्ने प्रष्ट हुन्छ । प्रचण्डले माधव नेपालसँग मिलेर ओलीलाई सिध्याउने बाहेक एमाले पंक्तिको मायाले केही गरेका थिएनन् । यदि अदालतले एमाले–माओवादी नब्युँताइदिएको थियो भने ढिलोचाँडो प्रचण्डको निशाना माधव नेपाल नै हुने थिए ।

विचार, सिद्दान्तको बहस र सांगठनिक रणनीतिबिनानै एमालेमा मिसिनु, मिसिनेबित्तिकै हुँडल्न शुरु गर्नु, माधव नेपाल–झलनाथ खनाललगायत नेतालाई प्रभावमा पार्नु, नेपाल–खनालसहितको हिस्सा लुछेर प्रचण्ड ओलीसँगबाट बाहिरिनु संयोग वा कानुनी कुरा मात्रै थिएन, होइन ।

अहिले पनि उनी माओवादीको नाम फेरेरै भए पनि माधव–झलनाथलाई आफूतिर ल्याउन लागिपरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेबाहेक अरु ठूलो उद्देश्य नभएको माधव–झलनाथ प्यानल पनि परिवर्तित माओवादीमा जान तयार जस्तै देखिएको छ ।

जसरी भए पनि ओलीलाई एक्लो बनाउने रणनीतिमा प्रचण्डसँगै माधव–झलनाथ एक भएका थिए । ओलीको सरकार ढाल्ने, राष्ट्रपतिलाई महाअभियोग लगाउने, प्रचण्ड प्रधानमन्त्री हुने, झलनाथलाई राष्ट्रपति बनाउने, माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रचण्डको खेलले नै मुलुक र एमालेलाई अहिलेको स्थितिमा ल्याएको हो ।

अत्यधिक ईश्र्याले जलेका प्रचण्ड–माधवले ओलीलाई टक्कर दिन जुन खेल खेले, त्यो अपरिपक्व र अराजनीतिक थियो । त्यसको परिणामस्वरुप अहिले ओलीले गाउँदेखि प्रदेशसम्मको सांगठनिक संरचना आफूअनुकुल बनाइसकेका छन् ।

ओलीलाई हटाउनैपर्नेमा प्रचण्डहरुको कुनै दमदार तर्क थिएन, छैन । अध्यक्षका लागि महाधिवेशन र प्रधानमन्त्रीका लागि अर्को चुनाव कुर्न नसेकेकै कारण स्थिति जटिल बन्दै गयो ।

‘तँ मात्रै खानी, हाम्लाई नदिनी ! छिटो चाइयो’ भन्ने भन्दा उनीहरुसँग अर्को तर्क या मत थिएन । सत्ताबाहिर रहँदा प्रचण्डलाई शक्ति कम भएको महशुस भयो । आफू शक्तिशाली हुन माधव नेपाललाई फकाए । नेपाल फक्किए ।

प्रचण्डसित मिलेर एमाले फुटाउन माधव नेपाल तयार हुनु दुर्भाग्यपूर्ण कुरा हो । पार्टी आधिकारिकता विवाद कायम नै रहेको स्थितिमा पार्टी अध्यक्ष मात्रै होइन, साधारण सदस्यबाट समेत ओलीलाई निकालेको निर्णय गर्न प्रचण्ड–माधव नेपालहरुले हतार गर्नु हुँदैनथ्यो ।

अत्यधिक ईश्र्याले जलेका प्रचण्ड–माधवले ओलीलाई टक्कर दिन जुन खेल खेले, त्यो अपरिपक्व र अराजनीतिक थियो । त्यसको परिणामस्वरुप अहिले ओलीले गाउँदेखि प्रदेशसम्मको सांगठनिक संरचना आफूअनुकुल बनाइसकेका छन् ।

बितेका ३ महिना प्रचण्ड–माधवको ध्यान ओली हटाउन केन्द्रित भयो, ओलीको ध्यान भने वडादेखि प्रदेशसम्म नयाँ संरचना बनाउन केन्द्रित भयो । जसको परिणाम आज केपी ओलीसँग तलदेखि माथिसम्म बनिबनाउ संरचना छ । त्यसलाई तलमाथि गर्दा उनको राजनीति दोस्रोपटक धराशायी हुनसक्छ ।

माधव नेपालहरुले पनि अहिले समानान्तर कमिटीहरु गठन गरिरहेका छन् । औपचारिक रुपमा नफुटेसम्म माधव नेपालहरु एमालेको एउटा समूह हुने हो । फुटेपछि उनीहरुले कि अर्को दल दर्ता गर्नु पर्छ, कि प्रचण्डसँग मिसिनुपर्छ ।

उनीहरुलाई कम्फर्टेबल त प्रचण्डतिर मिसिनु नै हुनेछ । तर माओवादीमा प्रवेश गरेजस्तो हुने भएका कारण नाम परिवर्तन गरेर माओवादीमा मिसिनका लागि माधव–झलनाथहरु मानसिक रुपमा तयार देखिन्छन् ।

प्रचण्डले ‘माधव जीहरुले कि एमाले कब्जा गर्नु हुन्छ, नभए यतै फर्कनुहुन्छ । उहाँहरुलाई धेरै पिन्च हुने गरी नबोल्नु होला । मलाई जसरी पनि माधव जीको उद्दार गर्नुछ’ भन्नु, माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा भीम रावल जानु,

माओवादीको नाम फेर्ने विषयमा बहस चल्नुलगायत घटनाले एमालेको ठूलो हिस्सासहित माधव नेपालहरु प्रचण्डवाला पार्टीतिर जाने कुराको प्रष्ट संकेत गर्छ ।

एमालेको समानान्तर कमिटीका नाममा धेरै एमालेलाई समेटेर माधव नेपालहरु माओवादीमा मिसिने नियतलाई एमाले कार्यकर्ताले प्रष्टै बुझे हुन्छ ।

ओलीलाई सरकारबाट ढालेर एमाले कब्जा गर्न सकिन्छ कि भन्ने कसरतमा माधव नेपालहरु लागेका छन् । सरकार ढाल्न सफल भएपछि माधव नेपाल प्रचण्डसँगै मिल्न जाने हुन् । ओलीविरुद्ध लाग्न प्रचण्डको साथ खोजेका माधव नेपालले जुनकुनै बेला प्रचण्डबाट धोका खाने निश्चित छ ।

माधव नेपालले आज नेकपा एमालेको नाममा अलग्गै राष्ट्रिय कार्यकर्ता भेला गरेर पार्टी विभाजनको शुरुवात गरिसकेका छन् । फेरि पनि उनको यो कदमले तत्काललाई प्रचण्डले राहत पाउने हुन् । दीर्घकालीन रुपमा माधव नेपालका लागि यसले पश्चाताप बाहेक केही दिने छैन ।

प्रचण्डलाई कसरी पत्याउन सकेका माधवले ?

३३ वर्षदेखि प्रचण्ड अनवरत रुपमा पार्टीको प्रमुख नेतृत्वमा छन् । कम्युनिष्ट राजनीति सिकाएका गुरु मसाल महामन्त्री मोहनविक्रम सिंहदेखि मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ टोपबहादुर रायमाझी जस्ता सहयोद्धालाई समेत जोगाउन नसक्ने प्रचण्डले माधव नेपाललाई लामो समयसम्म रिझाएर राख्न सक्दैनन् ।

र अर्को कुरा, प्रचण्ड भावुक, उत्तेजित वा राजनीतिक रुपमा विचलित भएपछि युद्धको धाक लगाउँछन् । उनको यो ‘ब्राण्डिङ विशेषता’ नै हो ।

‘लडेर आ’को हुँ, फेरि पनि लड्न तयार छु, मर्नदेखि डराउँदिनँ’ भन्ने उनको ‘सिग्नेचर डायलग’ दोहोरिरहन्छ । बिहीबार तत्कालीन माओवादीले सञ्चालन गरेको हिंसात्मक द्वन्द्वमा खटिएका स्वास्थ्यकर्मीलाई सम्बोधन गर्दै प्रचण्डले फेरि युद्धको हुंकार दिए ।

भने– म त्यसै छाड्नेवाला छैनँ, फेरि युद्ध गर्न पनि तयार छु ।

उनले छाड्न नचाहेको के हो ? र, युद्ध गरेर पाउन खोजेको के हो ? यो महत्वपूर्ण कुरा हो । छिटै उत्तेजित र भावुक भएको अभिनय गर्न माहिर प्रचण्डले शुक्रबार बुटवल गएर आफूमाथि हमलाको खतरा भएको बताए । यसको अर्थ ‘परिआउँदा प्रतिकार गर्नुपर्छ, युद्ध हुन्छ’ भन्ने नै हो ।

ओलीलाई सरकारबाट ढालेर एमाले कब्जा गर्न सकिन्छ कि भन्ने कसरतमा माधव नेपालहरु लागेका छन् । सरकार ढाल्न सफल भएपछि माधव नेपाल प्रचण्डसँगै मिल्न जाने हुन् । ओलीविरुद्ध लाग्न प्रचण्डको साथ खोजेका माधव नेपालले जुनकुनै बेला प्रचण्डबाट धोका खाने निश्चित छ ।

नेकपाबाट चोइटिएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडकमा ओर्लिँदा प्रचण्डले नन्भेज आन्दोलन गरेर भए पनि ओलीलाई हटाइछाड्ने बताएका थिए । कहिले कयामत आउँछ भने त कहिले मर्न–मार्न तयार हुन कार्यकर्तालाई निर्देशन दिए ।

यस्ता अभिव्यक्तिले उनीमा अझै युद्धप्रेम वा युद्धको ह्याङओभर बाँकी नै भएको प्रष्ट पार्छ ।

१० वर्ष रक्तपातपूर्ण हिंसा चलाएर शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड अझै हिंसाको ह्याङओभरबाट उम्कन सकेका छैनन् । हिंसाकै जगबाट एकबेला देशकै ठूलो पार्टी बनाएका उनलाई फेरि पनि हिंसाबिना ठूलो हुन सकिँदैन भन्ने भ्रम हुनसक्छ ।

वर्सेनि मासिँदै गएको उनको पार्टी र खिइँदै गएको पाइनलाई युद्धकै आरनबाट उज्याउन सकिन्छ भन्ने उनलाई लागेको छ । त्यसैले त बेला न कुबेला युद्धको हाँक दिइरहन्छन् उनी ।

आफू शक्तिशाली नभएका बेला फेरि शक्तिमा पुग्ने बाटोको रुपमा उनले युद्धलाई लिने, बुझ्ने गरेका छन् । प्रधानमन्त्री भएका बेला उनलाई युद्ध गर्नुपर्छ जस्तो लाग्दैन । जब थोरै शक्तिबाहिर हुन्छन्, उनलाई क्रान्ति गर्नु पर्छ जस्तो लाग्छ । किनकि, विगतमा हिंसा गरेरै शक्तिमा आइपुगेको उनको अनुभव छ ।

यो प्रवृत्तिका प्रचण्डसँग मिसिन जान लागेका माधव नेपालका लागि कम्ति जोखिम छैन । ओलीसँगको इगोकै कारण एमाले नै फुटाएर माओवादीमा मिसिने जोखिम माधव नेपालले नमोल्दा हुने हो । मूलतः माधव कमरेड अन्त्योन्मुख प्रचण्डको सति जान तयार नभएको भए हुन्थ्यो ।

प्रतिक्रिया

One thought on “एमालेमा फेरि प्रचण्डको हुँडलो, माधव नेपाल प्रयोग होलान् ?

  1. विश्लेषणमा सत्यताको प्रतिशत उच्च छ।

Leave a Reply

Your email address will not be published.