माधव नेपालले भने- कुस्ती हारेपछि खुट्टो उचाल्ने पहलमान जस्तै हुन् ओली – Nepal Press

माधव नेपालले भने- कुस्ती हारेपछि खुट्टो उचाल्ने पहलमान जस्तै हुन् ओली

पीडित-पीडित एक ठाउँमा आयौं

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरू विगतदेखि नै पेलाइमा पर्दै आएको गुनासो गरेका छन् । एमालेमा पहिलेदेखि अहिलेसम्म पीडित बनेकाहरु आज एक ठाउँमा आएको उनले बताए ।

आज आफ्नो समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा नेता नेपालले ओलीमाथि प्रहार केन्द्रित गरेका थिए । उनले ओलीले निरन्तर तानाशाही प्रवृत्ति देखाएको र विधानविपरीत काम गर्दै आएको बताए ।

नेपालले भने, ‘उहाँले मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको शुरूआत गर्नुभएको हो । हामीसँग धेरै पुराना नेताहरू हुनुहुन्छ । त्यसबेलादेखि तपाईंहरु पनि पीडित, हामी पनि पीडित । पीडित-पीडित एक ठाउँमा भेला भएका छौं । हामी सबैको पीडा, व्यथा समान छ । मारमुंग्री खानेदेखि अपमान सहनेसम्म भुक्तभोगी तपाईंहरु हुनुहुन्छ ।’

पार्टीलाई विधिसम्मत चलाउने भन्दा जसरी पनि आफ्नो प्रभूत्व कायम गर्न ओली उद्यत रहेको नेपालले बताए ।

उनले भने, ‘नेकपा एमालेमा अहिले ८ जना सचिवालयमा छन् । त्यसमध्ये ४ जना हाम्रो विचार समूहका हुनुहुन्छ । त्यो उहाँलाई पच्दै पचेन । सुन्नुभयो नि, उहाँ भन्नुहुन्छ कि म अल्पमतमा पर्ने गल्ती गर्दै गर्दिनँ । उहाँ विधि प्रकृति होइन, अल्पमत बहुमतको मात्रै कुरा गर्नुहुन्छ ।’

नेपालले ओलीलाई कुस्ती खेल्ने पहलमानसँग तुलना गरे ।

‘दुई पहलमान कुस्तीमा उत्रिएछन् । एउटाले हारेछ । हारेर उत्तानो भएपछि पनि खुट्टा उचालेर भन्छ- मेरो एउटा खुट्टा माथि नै छ, जित मेरो भयो । हो, त्यस्तो खालको मान्छे हो केपी ओली ।’

नेपालले दुई दिनअघि धुम्बाराहीमा बसेको वैठकको प्रसंग पनि रमाइलोसँग सुनाए ।

‘मलाई फोन गरेर भन्नुभयो बालुवाटार आउनुस, भेटौं । मैले भने- म बालुवाटार आउँदिन । उहाँले भन्नुभयो- म पनि बाहिर जान मिल्दैन । मैले भनेँ- तपाईं बाहिर जान मिल्दैन, म बालुवाटार आउन मिल्दैन भने भेट हुँदैन हाम्रो । होइन भेट्न त भेटौं भन्नुभयो । त्यसपछि मैले भने- पार्टी अफिस धुम्बाराहीमा भेटौं । उहाँ तयार हुनुभयो । फेरि मैले भने – म एक्लै त भेट्दिन । एक्लै गएँ भने मलाई नानाथरि कुरा गरेर फस्लाङफुस्लुङ पार्नुहुन्छ भन्ने थाहा थियो । उहाँले भन्नुभयो- पाँचजना लिएर आउनुस् । त्यसपछि बल्ल बैठक भयो ।’

बैठकमा ओलीले पुरानै दम्भ देखाएकाले निष्कर्षमा पुग्न नसकेको नेपालले बताए ।

‘हामीलाई ४-५ गतेको भेला फिर्ता लिन भन्नुभयो । हामीले त्यसो भए २८ गतेको बैठकको निर्णय रद्द गर्नुस् भन्यौं । उहाँ त्यसमा तयार हुनुभएन । अझै पनि उहाँमा दम्भ देखियो ।’

आजको कार्यकर्ता भेला रोक्न ओलीका ‘साइबर स्याल’ सक्रिय बने पनि सफल नभएको नेपालले बताए ।

उनले भने, ‘एउटा विज्ञप्ति योगेश भट्टराईको नाममा निकालेछन् । मैले पनि हेरेँ । छक्क परेँ । हस्ताक्षर सक्कली छ, विज्ञप्ति नक्कली । त्यसै मान्छेले भनेका होइन रहेछन्, साइबर स्यालहरू अहिले पनि ज्यूँदै छन् भनेर । हिजो नेकपा हुँदा मात्रै थिए होला भनेको त नेकपा एमालेले पुनर्जिवन पाएपछि पनि सक्रिय रहेछन् । साइबर स्यालदेखि होसियार ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर