यूरोपमा व्यवसायिक फड्को मार्दै धादिङका प्रकाश – Nepal Press

यूरोपमा व्यवसायिक फड्को मार्दै धादिङका प्रकाश

यूरोप । अरुले भन्दा नयाँ गर्नुपर्छ भन्ने सोच थियो उनमा । काठमाडौं हुँदा होस् वा यूरोप, व्यवसायमा केही न केही नयाँपन दिन खोज्थे धादिङ बसेरीका प्रकाश ढकाल ।

अहिले उनी यूरोपमा छन् । लियो कम्पनीमार्फत् पोर्चुगलमा रेष्टुरेन्ट, ट्राभलिङ, किटटिड तथा मनी ट्रान्सफरको व्यवसायमा आजकल व्यस्त छन्, उनी । प्रकाशको तिनै व्यवसाय विदेशी र नेपालीको पहिलो रोजाइमा पर्दै आएको छ ।

‘मेहेनत, धैयर्ता र इमान्दारिता नै मेरो व्यवसायी जीवनको सफलताता हो,’ उनी भन्छन् । व्यवसायलाई यतिमै सीमित गर्न चाहँदैनन् उनी । उनको सोच छ- यूरोपभरि आफ्नो व्यवसाय फैलाउने ।

व्यवसायी प्रकाशले आफ्नो व्यवसायको नाम ‘गुफा’ राखेका छन् । पर्यटकहरू सोध्ने गर्छन्- किन राख्नुभयो यो नाम ?

उनको जवाफ छ, ‘यही नामका कारण त ग्राहक लोभिएका छन् । नेपालीहरूमा अपनत्व अनुभूति भएको छ ।’ यूरोपको पर्यटकीय गन्तव्यमा बसेर नेपालको समेत प्रमोशन गर्न पाउँदा उनी खुसी छन् ।

यूरोप र नेपालमा भिन्नता

नेपालको व्यवसायिक अनुभवले यूरोपमा साथ दिएको थियो प्रकाशलाई । तर, यूरोपको अनुभवले उनलाई सिकाएको छ- नेपालमा धेरै सिक्न बाँकी छ ।

कसरी त ? उनी भन्छन्, ‘हामीले लगानीकर्तालाई आकर्षित गर्न जस्तो वातवरण, नीति, नियम र पद्धति पछयाउनु पर्ने हो त्यो गरिरहेका छैनौं । जुन यूरोपमा छ ।’

लगानी गर्नेवित्तिकै मुनाफा खोज्ने स्वभावले व्यवसाय उकालो नलाग्ने उनी बताउँछन् । ‘हामी लगानी गरेपछि आजको भोलि नै मुनाफा खोज्छौं । व्यवसायमा त्यो सम्भव हुदैन,’ उनी सुनाउँछन् ।

पोर्चुगलबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको ठम्याइ छ । नेपालको जस्तै हावापानी भएको पोर्तुगलको अर्थतन्त्रमा पर्यटन र कृषिको ठूलो योगदान दिएको छ । ‘नेपालले पोर्चुगलबाट सिक्न सक्यो भने यी दुवै क्षेत्रमा आधुनिकता भित्रयाउन सकिन्छ,’ प्रकाश भन्छन् ।

यूरोपमा आएका नेपालीले थोरै ट्रेन्ड बदल्न जरुरी रहेको प्रकाशको ठम्याइ छ । जागिर मात्र नभई आफ्नै व्यवसायको निम्ति पनि साच्नुपर्ने उनी बताउँछन् । ‘हाम्रो जस्तै अवस्था भएका बंगलादेशी, पाकिस्तानी इण्डियनहरू सधैँ आफनो व्यवसायलाई प्राथमिकता दिन्छन् । र छिट्टै सेटल हुन्छन्,’ उनी सुनाउँछन् ।

ग्राहकप्रतिको उत्तरदायित्व

व्यवसायमा ग्राहकलाई भगवान मान्छन् प्रकाश । व्यवसायी भएपछि ग्राहकप्रति उत्तरदायी हुनुपर्ने उनको बुझाइ छ । ‘ग्राहकलाई समयमै रेस्पोन्स गर्न सकिएन भने अर्को पटक आउने सम्भावना कम हुन्छ । त्यसैले हामी ग्राहकको हरेक कामको सक्दो छिटो रेस्पोन्स दिन्छौं,’ उनी अनुभव सुनाउँछन् । त्यसैले उनको दाबी छ, हाम्रोमा आउने ग्राहक पटक-पटक आउँछन् ।

उनले १५ जना भन्दा बढीलाई प्रत्यक्ष रोजगार दिएका छन् । रोजगारीमा पनि उनको पहिलो प्राथमिकतामा नेपाली पर्छन् । प्रकाश एनआरएनए पोर्चुगलका सचिव समेत हुन् । सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् उनी ।

पोर्चुगलका नेपाली समुदाय माझ सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कुरामा पनि उनको सक्रियता छ ।

यूरोपमा व्यवसाय गर्न आउनेलाई भिजन लिएर आउन प्रकाशको सुझाव छ । ‘यहाँ भिजन लिएर आउनुपर्छ । र जाँदा ज्ञान र सीप सँगै लिएर जानुपर्छ,’ उनी सुझाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *