लुम्बिनीलाई चरा पर्यटन क्षेत्र बनाउन विज्ञको सुझाव – Nepal Press

लुम्बिनीलाई चरा पर्यटन क्षेत्र बनाउन विज्ञको सुझाव

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीलाई चरा पर्यटन क्षेत्रका रुपमा विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

चरा गणनाका संयोजक, चराविद् तथा चरा संरक्षणसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागितामा लुम्बिनीमा कार्यशालामा सहभागीले यस्तो सुझाव दिएका हुन् ।

पानी, सिमसार र घाँसेमैदानमा बस्ने सयौं प्रजातिका चरा लुम्बिनी आसपास देख्न पाइने हुँदा मुलुकको चरा पर्यटनको उत्कृष्ट गन्तव्य रहेको उनीहरुको तर्क छ ।

कार्यक्रममा सहभागी विज्ञहरुले नेपालमा जलपंक्षी गणनाका बारेमा नयाँनयाँ तरिका, प्रविधि र योजना अपनाउन सुझाव दिएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले चराकै महत्व बुझाउन नगरपालिकाले उड्नसक्ने विश्वकै अग्लो पंक्षी सारसलाई नगर पंक्षी घोषणा गरेका बताए ।

‘सारस संरक्षणको योजना बनाएका छौं’, उनले भने, ‘शान्तिका लागि लुम्बिनी आउनेलाई सारसको मनमोहकताले लोभ्याएर लेन्थ अफ स्टे बढाउन लागेका छौं ।

कार्यशालामा जलपंक्षी गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बरालले चरा पर्यटनको आकर्षण थप्न पानी चराले खेल्ने भूमिकाबारे बताएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल र हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीलगायतले सिमसार क्षेत्र संरक्षण गरेर चरा संरक्षण गर्न खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी क्षेत्र चरा पर्यटनको स्वर्ग भएको बताएका छन् । उनले चरा संरक्षणका लागि बेलैमा योजना बनाउन आग्रह गरेका हुन् ।

जलपंक्षी गणना व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजित छलफलमा गणनाका विषयमा विकास भएका नया तौरतरिका, प्रविधि र योजनाबारे जानकारी दिइएको छ ।

नेपालमा प्रत्येक वर्ष मध्यहिउँदमा हुने जलपंक्षी गणना राष्ट्रिय रुपमा संयोजन गर्दै आएको हिमाली प्रकृतिको आयोजनामा हुने कार्यक्रममा चरा गणनाको तथ्यांक संकलन, गणना र शुद्धताकाबारे पनि निचोड निकालिएको छ ।

कार्यशालामा नेपालका सिमसार क्षेत्रको खस्कँदो अवस्था र संरक्षणका लागि गर्नुपर्ने काम र स्थानबारे छलफल गरिएको छ । त्यस्तै पानी चराको अवस्था र चरा आवागमन सहज बनाउने र संरक्षणमा गर्नु पर्ने कामबारे पनि छलफल गरिएको छ । जलपंक्षी संरक्षण र सिमसार क्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक प्रभावकारी कदम चाल्ने विषयमा जानकारी दिइएको छ ।

कार्यशालामा कोशी टप्पु, हेटौडा, चितवन, जनकपुर, काठमाडौं, नवलपरासी, पोखरा, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कंचनपुर लगायतका ठाउँबाट ३५ बढी चराविद् सहभागी भएको हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदीले बताए ।

कार्यक्रममा चरा गणनाका राष्ट्रिय संयोजक वरिष्ठ चराविद् डा. हेमसागर बराल र वेटल्याण्ड इन्टरनेशनलका वरिष्ठ वैज्ञानिक डा. तेज मुण्दकरले नेपाल, दक्षिण एशिया र विश्वमा पानी चराको अवस्था र संरक्षणकालागि गर्नुपर्ने कामबारे जानकारी दिएका थिए ।

यसअघि सन् २००७ मा पहिलो कार्यक्रम लुम्बिनीमै र सन् २०१२ मा दोस्रो कार्यक्रम चितवनमा भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *