माघ महिनाको रेमिटान्स आप्रवाह १०.९ प्रतिशतले बढ्दा मूल्य वृद्धि २.७ प्रतिशतमा सीमित – Nepal Press

माघ महिनाको रेमिटान्स आप्रवाह १०.९ प्रतिशतले बढ्दा मूल्य वृद्धि २.७ प्रतिशतमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिटान्स १०.९ प्रतिशतले बढेको जनाएको छ । चालू आर्थिक बर्षको समीक्षा अवधिसम्म कुल ५ खर्ब ६७ अर्ब ७० करोड रुपैया रेमिटान्स भित्रिएको छ ।

अघिल्लो बर्षको सोहि अवधिमा बिप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदनले मूल्य वृद्धि भने घटेको देखाएको छ । २०७७ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ ।

२०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।

चालू आर्थिक बर्षको माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७ र ७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्प क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पको निर्यातमा ७.७ प्रतिशतले कमी आएको छ ।

चालू आर्थिक बर्षको माघ महिनामा आयात गत बर्षको सोही अवधिको तुलनामा ०.१ प्रतिशत र निर्यात ६.७ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको पहिलो सातामा शोधानान्तरस्थिति ९६ अर्ब ९६ करोडले बचतमा रहेको छ ।

त्यस्तै कुल खर्च बिदेशी बिनिमयको सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलर रहेको छ । नेपाल सरकारले पछिल्लो सात महिनामा कुल ४ खर्ब ९९ अर्ब ६८ करोड रुपैयाँ र राजस्व संकलन ४ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर