विप्लवका नेता, कार्यकर्ता रिहाइ प्रक्रिया अघि बढेन, ११४ जना जेलमा – Nepal Press

विप्लवका नेता, कार्यकर्ता रिहाइ प्रक्रिया अघि बढेन, ११४ जना जेलमा

विराटनगर । नेकपा विप्लव समूह शान्ति प्रकृयामा आएसँगै कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने भनिको थियो । तर प्रदेश नम्बर १ मा रिहाइ प्रक्रिया अघि बढेको छैन ।

सरकार र विप्लव समूहबीच एक साताअघि भएको सहमतिअनुसार गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्ता रिहाइ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरिसकेको छ ।

प्रदेश १ का सबै जिल्ला प्रशासन कार्यालयले कारागारमा रहेका विप्लवका नेता कार्याकर्ताको संख्यासहितको रिर्पोट मन्त्रालयमा पठाए पनि रिहाइको थप प्रक्रिया भने अघि बढेको छैन ।

विप्लव समूहको दोस्रो वरीयताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, सेती महाकाली ब्युरो सदस्य विवेक कुमाललगायतका नेताहरु भने रिहा भइसकेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले गृहमन्त्रालयले मोरङ कारागारमा रहेका विप्लवका नेता तथा कार्याकर्ताको संख्या मागेको र सो संख्या पठाइएको जानकारी दिए । त्यसपछि गृहबाट आवश्यक प्रकृया पूरा गरी उनीहरुलाई रिहाइ गर्नू भन्ने कुनै परिपत्र या निर्देशन नआएको उनले बताए ।

निरौलाका अनुसार मोरङ कारागारमा विप्लवका पाँच नेता कार्याकर्ता रहेका छन् । विप्लव समूहसँग सरकारको सहमति भए पनि जघन्य अपराधमा मुद्दा चलेका नेता कार्यकर्ता छुटाउन कानुनी जटिलता रहेको उनले बताए ।

सरकारबाट मुद्दाको प्रकृति छुट्टयाएर हालसम्म राजनीतिक आस्थाका कारण मुद्दा लगाएका नेता, कार्यकर्ताहरुलाई छाडेको छ । हालसम्म समूहका ११ जना नेता, कार्यकर्ता छुटिसकेका छन् ।

प्रहरी प्रधान कार्यालयको रेकर्डले विप्लव समूहका ११४ जना नेता, कार्यकर्ता अझै थुनामा रहेको छन् ।

प्रदेश १का कारागारमा ३७ नेता तथा कार्यकर्ता

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामासहित ३७ नेता कार्याकर्ता प्रदेश १ का विभिन्न कारागारमा छन् । माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन् ।
विप्लव समूहको मेची कोशी ब्युरो कमिटीका सदस्य विवश चौलागाइ ले कारागारमा रहेका नेता कार्यकर्ता रिहाइमा ढिलाइ हुनु ठीक नभएको बताए ।

सखुवासभाको खाँदबारी कारागारमा विप्लवका केन्द्रीय सदस्य लामासहित संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङसहित १० नेता कार्यकर्ता रहेको चौलागाईंले जानकारी दिए । विप्लवका केन्द्रीय नेता लामा २०७६ साउन ५ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

विप्लवका नेता लामालाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको हो । जिल्ला अदालत चैनपुरले संगठित रुपमा हातहतियार ओसारपसार, संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

२५ हजार धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुरले २०७६साल फागुन ७ गते कारागार चलान गरेको हो । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत थिए ।

पार्टी विभाजनपछि उनी मोहन वैद्यहुँदै उनी विप्लव समूहमा लागेका थिए । यता खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले भने विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र नआएको बताएका छन् ।

अलमलमा प्रहरी

विप्लव समूहले २३ मंसिर २०७७ मा मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गर्‍यो ।

मिक्लाजुङ–१, बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई घरबाटै अपहरण गरी हत्या गरेको थियो ।

घटनामा संलग्नता देखिएपछि ७ माघ २०७७ मा विप्लव समूहका मोरङका तत्कालीन जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका थिए ।

हाल पुर्पक्षका लागि जिल्ला कारागार मोरङमा रहेको उनी शिक्षक श्रेष्ठलाई अपहरण गर्ने ६ जनामध्ये एक भएको प्रहरी बताउँछ । अन्य ५ जनाको खोजी जारी भएकै बेला सरकार र विप्लव समूहबीच सहमति भयो । अब उनीहरुलाई भेटिएमा पक्राउ गर्ने कि नगर्ने भन्नमा अन्योलमा छ ।

‘शान्तिपूर्ण राजनीतिमा आउने गरी सहमति भएसँगै पक्राउ नपरेका प्रतिवादीको हकमा केही गरेका छैनौं’, मोरङका एसपी सन्तोष खड्का भन्छन्, ‘अब माथिबाट कस्तो कार्यविधि र निर्देशन आउँछ, त्यही अनुसार गर्छौं ।’

शिक्षक श्रेष्ठकी पत्नी धनमायाले पार्टी ‘शान्तिवार्तामा आए पनि न्याय नमरोस्’ भनेकी छन् । ‘अहिलेसम्म एक जना मात्र समातिएका छन्’, उनले नेपाल प्रेससंग भनिन्, ‘अब प्रहरीले हत्यारालाई छाड्ने होइन, अरुलाई पनि खोजी गरेर कारबाहीको दायरामा ल्याओस् ।’

विप्लव समूहका कार्यकर्ताको गोली लागेर २५ असार २०७६ मा भोजपुरमा प्रहरी जवान सञ्जीव राई मारिए । अर्का प्रहरी सोम भट्टराई घाइते भए । घटनामा विप्लव कार्यकर्ता नीरकुमार राईको पनि मृत्यु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर