मालिकाको प्याराग्लाइडिङ महोत्सवमा उत्साहजनक सहभागीता, स्थानीय र व्यावसायी उत्साही – Nepal Press

मालिकाको प्याराग्लाइडिङ महोत्सवमा उत्साहजनक सहभागीता, स्थानीय र व्यावसायी उत्साही

रुपन्देही । पर्यटन प्रवर्द्धनका लागि गुल्मीको मालिका गाउँपालिकामा आयोजना गरिएको प्याराग्लाइडिङ महोत्सवमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ ।

अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा १५ दिनसम्म संचालन भएको महोत्सवमा ८६ उडान भएका छन् । मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गर्नका लागि गाउँपालिकाले स्थानीय दुई बजार व्यवस्थापन समितिसंग सहकार्य गरेर मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरेको थियो ।

पर्यटन विकासमा टेवा पुराउने उद्देश्यले बजार र व्यावसायीलाई उत्साह थप्न गाउँपालिकाले पनि केही प्रतिशत लगानी गरेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले नेपाल प्रेसलाई बताए ।

उनले भने– निजी क्षेत्रलाई उत्साहित गर्ने हाम्रो मुख्य उद्देश्य रहेको थियो, प्याराग्लाईडिङ महोत्सवले हामीलाई निकै ऊर्जा थपेको छ, आगामी योजना बनाउनका लागि मार्गनिर्देश गरेको छ, हाम्रो पहिचानलाई अब हामीले चलायमान बनाउन सक्छौं, पर्यटन क्षेत्रलाई हामीले व्यवस्थापन गर्न सक्छौं भन्ने आँट आएको छ ।

दिउँसो हावाको चाप बढी हुने भएकाले बिहान ८ बजेबाट करिब १२ बजेसम्म ६ उडानको व्यवस्था मिलाइएको भण्डारीले जानकारी दिएका छन् । दैनिक ६ भन्दा बढी उडानको स्वीकृति नदिएकाले अझै थप प्याराग्लाइडिङ गर्ने चाहना पूरा गर्न नसकिएको अर्खाबाङ बजार व्यवस्थापन समिति अध्यक्ष बसन्त अर्यालले बताए ।

गाउँपालिका उपप्रमुख देवा अर्यालले आफूलाई पनि मनोरञ्जन र अरुलाई पनि उत्साह दिन प्याराग्लाइडिङ गरेको बताइन् ।

प्याराग्लाइडिङका लागि यो ठाउँ उडानका दृष्टिकोणले अत्यन्तै उपयुक्त भएको यसका प्राविधिकहरुले सुनाएकाले पनि आगामी दिनमा यसलाई निरन्तरता दिन सजिलो भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

गत मंसिर अन्तिम साता स्काई लाइन प्याराग्लाइडिङ पोखराको टोलीमार्फत् मालिका गाउँपालिका ४ को देउरालीबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेको थियो । स्काई लाइन प्याराग्लाइडिङ पोखराका संचालक तथा पाइलट भुवन गाहाले मालिका पोखराको विकल्प बन्नसक्ने बताएको भण्डारीले बताए ।

पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाइमा मात्रै भएकाले देउराली साराङकोटभन्दा राम्रो भएको प्राविधिकले सुनाएपछि आफूहरु हौसिएको उनको भनाइ छ ।

त्यसो त मालिका गाउँपालिकाले पहिलो गाउँसभामै प्याराग्लाइडिङको संभाव्यता अध्ययन गर्ने योजना अगाडि सारेको थियो । तर, कार्यपालिकाभित्रैका सदस्यहरुको अनेक सोचका कारण २ वर्षपछि मात्रै गत मंसिर महिनामा परीक्षण उडान गरिएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

उनले गाउँपालिकाले व्यावसायको क्षेत्र पहिचान मात्रै गरेकाले प्याराग्लाइडिङ व्यवसाय संचालन गर्न आउनेहरु संस्था वा कम्पनीलाई आफूहरुले स्वागत र सहकार्य गर्ने बताए । गुल्मी पश्चिमका अग्ला पहाडहरु प्याराग्लाइडिङका लागि बाह्रै महिना उपयुक्त छन् ।

उडेर धेरै ठाउँमा पुग्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्न सक्छ । पश्चिम गुल्मीका स्थानीय तहबीच समन्वय गरेर नियमित प्याराग्लाइडिङ थप्ने योजना बनाइने प्रवक्ता गिरीले बताए ।

उनले नेपाल प्रेससँग भने– स्थानीयको उत्साहजनक सहभागिता, प्राविधिकहरुले यो क्षेत्रलाई उपयुक्त क्षेत्र मान्नु, हामीले गाउँसभाबाटै योजना बनाएर अगाडि जानु र निजी क्षेत्र लगानी गर्न उत्साहित बन्नुजस्ता कारण हामीले यसलाई निरन्तरता दिन सक्छौं भन्ने आधार दिएको छ ।

मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले संभाव्यता अध्ययनसहित १५ दिन महोत्सवमार्फत् व्यावसायिक प्याराग्लाइडिङ भएकाले अब भौतिक पूर्वाधार निर्माणमा योजना बनाएर अगाडि बढ्ने बताएका छन् । उनले भने– महोत्सवले अब निजी क्षेत्रलाई लगानी गर्न कुनै समस्या छैन भन्ने सन्देश दिएको छ । यसका लागि आवश्यक पूर्वाधार निर्माणमा हामीले तीन तहका सरकारबीच समन्वय गरेर योजना बनाउँछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *