दुग्ध व्यवसायमा पाँच लाख कृषक आवद्ध, ३० हजार रोजगार – Nepal Press

दुग्ध व्यवसायमा पाँच लाख कृषक आवद्ध, ३० हजार रोजगार

दूधमा आत्मनिर्भर हुन अझै केही वर्ष लाग्ने

काठमाडौं । नेपालमा दुग्ध व्यवसायप्रति कृषकको आकर्षण बढ्दो छ । तथ्यांकअनुसार नेपालमा अहिले निजी क्षेत्रको डेरी उद्योगमा पाँच लाख कृषक कुग्ध व्यवसायमा आवद्ध छन् भने करिब ३० हजारले रोजगारी पाइरहेका छन् ।

डेरी उद्योग संघका अनुसार निजी क्षेत्रको डेरी उद्योगमा ३० अर्बको हाराहारीमा लगानी छ । अहिले दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अंग पनि बनेको संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

उनका अनुसार दुग्ध व्यवसायले रोजगारी मात्र सृजना नगरी कुल राष्ट्रिय उत्पादनमा नौ प्रतिशत योगदान गरेको छ भने दैनिक पाँच करोड तथा वार्षिक १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेको छ ।

नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब दुई अर्बभन्दा बढी रुपैयाँको दूध र दुग्धजन्य पदार्थ आयात भइरहेको संघले जनाएको छ । नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग चार, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५ सय भन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको संघले जनाएको छ ।

संघका अनुसार नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि त्यसको नजिक पुगेको छ । अहिलेको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको छ । साना डेरी उद्योगले खाद्यको अनुज्ञापत्र र लेवलबिना सञ्चालन भएका कारण उपभोक्ताले पूर्णरुपमा गुणस्तरको प्रत्याभूति गर्न नसकेको तथा अस्वस्थ प्रतिस्पर्धा हुन गएकाले नियमनकारी निकायको ध्यान दिनुपर्ने संघको माग छ ।

दूधमा आत्मनिर्भर हुनको लागि विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २ सय ५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा त्यसअनुसार उपलब्ध छैन ।

अझै वार्षिक प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको संघका अध्यक्ष दाहालले बताए । दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर भएको उनको भनाइ छ ।

नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैँसीको ६५ प्रतिशत रहेको संघले जनाएको छ । संघका अनुसार कूल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा यस वर्ष करिब चार प्रतिशतको हाराहारीमा छ ।

दुग्ध उद्योगमा अनुगमन गरी खाद्य अनुज्ञापत्र, लेबल, भ्याट र प्यानको दायराभित्र ल्याई दूधसम्बन्धी खाद्य स्वच्छता निर्देशिका २०७५ अनुसार दुग्ध क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न माग दुग्ध व्यवसायीले माग गरेका छन् ।

मौसमअनुसारको दूध उत्पादनको कारण जाडो महिनामा अर्थात असोजदेखि फागुनसम्म उत्पादन बढी भई किसानको दूधले बजार नपाउने अवस्था र गर्मी महिना अर्थात चैतदेखि भदौसम्म दूधको अभाव भई निर्यातित दुग्धजन्य पदार्थमा निर्भर हुनुपरेको व्यवसायीको चिन्ता छ ।

उत्पादन बढी हुने मौसममा दूधलाई व्यवस्थापन गर्न संघले ‘मिल्क होलिडे’ समस्या न्यूनीकरण गर्न चितवन मिल्क लिमिटेड र पोखरास्थित सुजल डेरीमा पुर्याएर सम्पूर्ण निजी डेरी उद्योगको बढी दूधलाई धुलो दूधमा रुपान्तरण गरिरहेको अध्यक्ष दाहालले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा दुवै उद्योगमा गरी ९० लाख लिटर दूध धुलो दूधमा परिणत गरिसकिएको जनाइएको छ ।

सुजल डेरी उद्योग पोखराका सञ्चालक गणेश श्रेष्ठले आफूले १७ वर्षअघि मिल्क होलीडे नमनाउने प्रतिवद्धता जनाएको र अहिले बिस्तारै पूरा हुँदै गएको नेपाल प्रेससँग बताए । आफूलगायत केही डेरी उद्योगीले धुलो दूध उत्पादन गरिरहेकाले भिड–१९ को बेला पनि दूध खेर नगएको उनको भनाइ छ ।

‘यदी हामीले धुलो दुध उत्पादनको काम सुर नगरेको भए के हालत हुन्थ्यो होला ? कतिको रोजगारी गुम्थ्यो ? कतिको व्यवसाय डुव्थ्यो होला ?’ उनको प्रश्न छ ।

भारतको बहुर्राष्ट्रिय कम्पनी अमूलले नेपालको पूर्वी क्षेत्रबाट दूध किनेर सीमाभन्दा सात किमी टाढा सिक्किममा रहेको आफ्नो प्रशोधनशालामा लाने योजना सार्वजनिक गरेको भन्दै संघले त्यस कार्य नेपाली अर्थतन्त्रको लागि चिन्ताजनक रहेको जनाएको छ ।

यसबाट कच्चा दूध निर्यात गरी प्रशोधित दुग्ध पदार्थ आयात गर्नुपर्ने अवस्था आउने र नेपाली डेरी उद्योग आफ्नो क्षमताभन्दा कममा सञ्चालन हुने संघको बुझाइ छ ।

दुग्ध व्यसायी तथा दुग्ध उद्योगीले संघीय सरकारले खासै सहयोग नगरेको गुनासो गरिरहेका बेला प्रादेशिक सरकारले भने सहयोगका कार्यक्रम अघि बढाएको बताएका छन् ।

गण्डकी प्रदेशमा प्रतिलिटर २ रुपैयाँ ५० पैसाका दरले दुध उत्पादनमा अनुदान भनेर सुरु गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव सवनम सिवाकोटीले जानकारी दिइन् । उनका अनुसार यसको राम्रो प्रभाव देखिएको छ ।

‘अहिले पहिलो वर्षमा बजेटको सिमाले गर्दा जसले सहकारीमा दुध ल्याएर बिक्री वितरण गर्नुहुन्छ, सहकारीको रेकर्डका आधारमा दिने गरेका छौ । तर बजेटको सिमितताले गर्दा उहाँहरुले सबै उत्पादन गरेको दुधमा भने दिन सकिरहेका छैनौ । त्यसैले यसलाई व्यापक रुपमा लिन पनि खोजेका छौ ।’ उनले भनिन् ।

तर त्यसले उत्पादन कति बढ्यो र यस कार्यक्रमले कति फरक पार्यो भनेर हेर्न भने बाँकी रहेको सचिव सिवाकोटीले बताइन् ।

डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले किसानको गोठदेखि उपभोक्ताको ओठसम्म दुधजन्य पदार्थ पुग्दासम्म धेरै क्षेत्र जोडिने हुँदा सरकार लचक भए किसान र व्यवसाथी टाँट पल्टने अवस्था नआउने नेपाल प्रेससँग बताए । उनले सरकारले सहयोगको सुनिश्चित गरे उत्पादन बढ्ने अपेक्षा गरे ।

दैनिक करिब ९ लाख लिटर दुधबाट ५ करोड रुपैया सहरबाट गाउँ जाने गरेको केन्द्रीय दूध सरकारी संघका अध्यक्ष नारायण देवकोटाले नेपाल प्रेसलाई जानकारी दिए ।

राज्यले दुग्ध व्यसायीका लागि केहि गर्न नसकेको गुनासो बढिरहेका बेला राष्ट्रिय दुग्ध विकास बोर्डले भने नेपालमा दूग्धजन्य पदार्थ ढुवानीलाई सहज बनाउन छुट्टै लोगो प्रयोग गर्न लागेको जनाएको छ ।

लोगो प्रयोगपछि दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडी निर्वाध रुपमा चल्न पाउने बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बोर्डले लोगो छनौट गरेर सार्वजनिक गर्ने अन्तिम तयारी गरीरहेको छ ।

‘बोर्डको गत फागुन १५ गतेको १ सय ११ औं कार्यकारीणी बैठकबाट लोगा पारित भएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, कला परिषद् र बोर्डका प्रतिनिधि बसेर लोगो छनौट गरेका छौं ।’ कार्यकारी निर्देशक यादवले भने । लोगो प्रयोगसम्बन्धि कार्यविधि पनि अन्तिम चरणमा रहेको र पारित हुन बाँकी रहेको यादवले बताए ।

२०७६ चैत ११ गतेको मन्त्रीपरिषद् बैठकले दूधलाई अत्यावश्यकीय वस्तुको रुपमा राखिसकेको छ । तर पनि अझै बन्द हडताल वा अन्य समस्याका क्रममा दूध ढुवानीको समस्या देखिने गरेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर