रुपामा कोल्डस्टोर, एक वर्ष निशुल्क भण्डारण – Nepal Press

रुपामा कोल्डस्टोर, एक वर्ष निशुल्क भण्डारण

पोखरा । तरकारीजन्य बीउबिजन राख्न कास्कीको रुपा गाउँपालिका किसानलाई समस्या थियो । पोखरामा तरकारी कोल्डस्टोर (चिस्यान केन्द्र) बने पनि गाउँबाट पोखरा झर्न अपायक थियो ।

व्यवसायिक कृषि पेशामै लागेका किसानलाई पनि आफ्ना तरकारी तथा आवश्यक बिउबिजन सुरक्षित भण्डारण गर्न नपाउँदा हमेशा तनाव व्यहोर्नु पर्दथ्यो । तर, अब चिस्यान गाउँपालिकामै बनेपछि किसानहरु खुसी भएका छन् ।

कास्कीको रुपा गाउँपालिका ६, भीरचोकमा सोमबारदेखि कोल्डस्टोर सुरु भएको छ । गाउँमा उत्पादित आलुको बीउ राखेर कोल्ड स्टोर (चिस्यान केन्द्र)को सुरुआत गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

सोमबारबाट सुरु भएको कोल्डस्टोरमा एक वर्ष निशुल्क तरकारी तथा बीउबिजन राखिने अध्यक्ष ओझाले सुनाए । ‘गाउँपालिकामै कोल्डस्टोर बने पछि अब तरकारीजन्य उत्पादनको सुरक्षित भण्डारण गर्न सकिन्छ । एक वर्षसम्म निशुल्क भण्डारण सुविधा दिएका छौं,’ उनले भने, ‘एक वर्षपछि बल्ल नियमानुसार शुल्क लिने छौं ।’

गाउँपालिकाले गत आर्थिक वर्षमा प्रदेश सरकारको समन्वयमा ३ वटा कोल्डस्टोर निर्माण थालेको थियो । प्रदेश सरकारको ४० लाख र गाउँपालिकाको २६ लाख रुपैयाँ गरी कुल ६६ लाख रुपैयाँमा कोल्डस्टोर बनेका हुन् । ‘३ वटा कोल्डस्टोरमध्ये एउटा आज (सोमबार)देखि सुरु भएको छ । बाँकी पनि निर्माण पूरा भइसकेका छन् । चाँडै सुरु हुन्छन्,’ गाउँपालिका अध्यक्ष ओझाले भने ।

ओझाका अनुसार एउटा कोल्डस्टोरको लागत २२ लाख रुपैयाँ छ । उनले कोल्डस्टोरमा एकै पटक ४० टन तरकारी भण्डारण गर्न सकिने जानकारी दिए । ‘एउटा कोल्डस्टोरमा २ वटा फरकफरक कोठा बनाएका छौं । त्यसमा २०÷२० टनका दरले तरकारी राख्न सकिन्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर