भारतबाट आएको इन्धन भारततिरै तस्करी, साडे दुई हजार लिटर डिजल बरामद् – Nepal Press

भारतबाट आएको इन्धन भारततिरै तस्करी, साडे दुई हजार लिटर डिजल बरामद्

विराटनगर । भारतबाट आएको इन्धन भारततर्फ नै तस्करी हुने गरेको फेला परेको छ । भारततिर अवैध निकासी हुन लागेको दुई हजार छ सय ६० लिटर डिजल बरामद् भएसँगै उक्त तथ्य फेला परेको हो ।

प्रहरीले इन्धन तस्करीमा संलग्न रहेको आरोपमा भारत अररिया जिल्ला मिरगन्जका मोहमद सजाद र इमरोज आलमसँगै पेट्रोल लिनका लागि भारत जाने तयारीमा रहेको को१ख ५९१२ नम्बरको ट्याङ्कर जाँच गर्दा दुई हजार छ सय ६० लिटर डिजल बरामद् गरेको हो । ट्याङ्करको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि आयल निगम विराटनगरले प्रहरीलाई खबर गरेको थियो ।

नेपालमा भन्दा भारतमा इन्धन महँगो छ । भारतको बरौनी डिपोबाट शुक्रबार आयल निगम विराटनगरका लागि पेट्रोल लिएर आएको सो ट्याङ्कर डिलरहरुमा पेट्रोल अनलोड गरेपछि पुनः इन्धन लिनका लागि भारत जाने लाइनमा थियो ।

भारतमा इन्धन महँगो भएका कारण निगमले भारत जाने खाली ट्याङ्करमा पनि लक लगाउने गरेको थियो । शनिबार लक लगाउने क्रममा डिजेल लोड गरेको अवस्थामा भेटिएको नेपाल आयल नियम १ नम्बर प्रदेश कार्यालयका सूचना अधिकारी दिवस बिष्टले जानकारी दिए । सो ट्याङ्कर ढुवानी व्यावसायी संघका सचिव चरणप्रित सिंहको हो।

शुक्रबार राति सिंहको ट्याङ्करले बुढीगङ्गाको नेमुवामा रहेको नितेश आयलमा इन्धन भरेको थियो । नितेश आयलका सञ्चालक महेश अग्रवाल हुन् । इन्धन चोरीको कार्य ड्राइभरले मात्रै भएकाले गाडी मालिकको पनि हात हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रहरी स्रोतले भन्यो,‘मिलेमतोमा इन्धनको तस्करी हुँदैछ ।’निगमले विराटनगर र बरौनीमा मात्रै लक खोल्ने चाबी रहेको बताउँदै आएको छ । तर बीच बाटोमा तेल अनलोड हुने भएका कारण चोरीमा गिरोह नै सक्रिय रहेको प्रहरीको शंका छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले इन्धन तस्करीको घटना बाहिर आएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको बताए ।

निगमले शुक्रबार बरौनीबाट आएको ट्याङ्करले सोही दिन डिपोमा ढुवानी गरी शनिबार निगममा आएको थियो,’निगमका सूचना अधिकारी बिष्टले भने, ‘हामीले भारत जाने खाली ट्याङ्करमा पनि लक गर्ने गरेका थियौँ, जसको चाबी विराटनगर र बरौनी डिपोमा मात्रै हुन्छ, तर लक गर्ने क्रममा शङ्का लागेर हेर्दा ट्याङ्करमा डिजल भेटियो।’

डिजल भेटिएपछि कारवाहीका लागि प्रहरी हुँदै राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाइएको उनले बताए ।

दुई महिनाअघि वीरगञ्जमा ट्याङ्करबाटै भारत तेल तस्करी हुने गरेको फेला परेको थियो ।

भारतमा पेट्रोल प्रतिलिटर एक सय ५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य एक सय १६ रुपैयाँ छ । डिजल नेपालमा ९९ रुपैयाँ प्रतिलिटर छ । भारतमा नेपालको तुलनामा प्रतिलिटर २५ रुपैयाँभन्दा बढी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर