‘सिद्धबाबा’ लाई सफाइ दिने सुनसरी अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन – Nepal Press

‘सिद्धबाबा’ लाई सफाइ दिने सुनसरी अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

विराटनगर । बलात्कार आरोपमा विवादित धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको छ ।

सिद्धबाबाको सफाइ फैसलाविरुद्ध विराटनगरस्थित उच्च अदालतमा आइतबार पुनरावेदन दर्ता गराइएको उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख ज्ञानचन्द्र भुसालले जानकारी दिए ।

मुद्दा दर्ता भएकै दिन उच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउन सुनसरी जिल्ला अदालतलाई पत्रचार गरेको छ । मिसिल आएपछि मुद्दा प्रक्रियामा जाने उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीले प्रतिवादी पक्षका कानुन व्यवसायीको एकतर्फी बसहपछि गिरीलाई सफाइ दिने फैसला गरेको थियो। फैसलाको दुई महिनापछि पूर्णपाठ आएको थियो ।

गिरीलाई सफाई दिने फैसला सुनाएका जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतको न्यायाधीश नियुक्तिमा सिफारिस भएका छन् ।

महिलाको चरित्रमाथि प्रश्न उठाएको अदालतको फैसलाको पूर्णपाठमा जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरूबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबीबमोजिम जबर्जस्ती करणीको कसूर कायम गर्न मिल्ने नदेखिएको भनिएको छ ।

सिद्धबाबाविरुद्ध २०७६ मंसिर ११ गते बलात्कार गरेको भन्दै उनकै भक्त एक महिलाले किटानी जाहेरी दिएकी थिइन् । प्रहरी हिरासतको समय अवधि विराट नर्सिङहोममा विताएका गिरीलाई तत्कालीन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले १४ पुस २०७६ मा तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

आदेश आएकै दिन भारत प्रवेश गरेका गिरी ४० दिनपछि फर्किएर हिरासतमा बसेका थिए । गत मंसिर २२ गतेको फैसलापछि भने उनी छुटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर