साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना – Nepal Press

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ ।

मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ ।

हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *