ग्रामीण भेगमा बैंकिङ पहुँच पुर्‍याउँदै राष्ट्र बैंक, खप्तडमा ‘एक घर–एक बैंक’ नमूना पालिका घोषणा – Nepal Press

ग्रामीण भेगमा बैंकिङ पहुँच पुर्‍याउँदै राष्ट्र बैंक, खप्तडमा ‘एक घर–एक बैंक’ नमूना पालिका घोषणा

बाजुरा । ग्रामीण भेगका जनतालाई वित्तीय पहुँच पुर्‍याउने हेतुले नेपाल राष्ट्र बैंकले खप्तड छेडेदह गाउँपालिकामा ‘एक घर, एक बैंक’ नमूना गाउँपालिका घोषणा गरेको छ ।

बैंक तथा वित्तीय संस्था ग्रामीण भेगसम्म पुग्नु पर्ने भन्दै राष्ट्र बैंकले सो कार्यक्रम घोषणा गरेको राष्ट्र बैंकका सुदूरपश्चिम प्रदेश कार्यकारी निर्देशक शुभाष चन्द्र घिमिरेले बताए ।

उनका हिसावले सुदूरपश्चिम प्रदेशका आर्थिक वृद्धिदर उत्साहजनक रहेको छ । आर्थिक वृद्धिका लागि ग्रामीण भेगमा बैंक पुग्नु र बैंकमा खाता खोल्नु अत्यावश्यक भएको घिमिरेको भनाइ छ ।

भौगोलिक विकट भए पनि आर्थिकरूपमा यहाँका जनतालाई अघि बढाउन गाउँपालिकामा भएका जैविक विविधताका सम्भावनालाई प्रयोग गरी आम्दानीको स्रोत बनाउनु पर्नेमा उनको जोड थियो ।

‘एक बैंक खाता’ सञ्चालन नमूना घोषणा कार्यक्रमले यहाँका जनताको वित्तीय पहुँचलाई माथि पुर्‍याउने छ,’ उनले भने ।

उनका अनुसार पछिल्लो समय राजनीतिक दललेसमेत आर्थिक मुद्दालाई विशेष प्राथमिकता राख्दै आएका छन् ।

पछिल्लो तथ्याङ अनुसार  ग्रामीण भेगका मानिसमा वित्तीय तथा बैंकिङ पहुँच बढेको उनी बताउँछन् । गाउँपालिकामा वित्तीय बैंक सञ्चालन भएपछि गाउँका नागरिकलाई बैंक बचत सिकाउनु नपर्ने निर्देशक घिमिरेको भनाइ छ। ।

पछिल्लो समयमा सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अगाडि बढाउने लिएको लक्ष्यअनुसार राष्ट्र बैंकले नीति बनाएर कार्यान्वय गर्ने उनले जानकारी  दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले ‘एक घर, एक बैंक’ सञ्चालनका लागि गरिएको अभियानमा सहयोग गर्ने निकायलाई धन्यवाद दिए ।

उनले गाउँपालिकाका सातवटै वडाका स्थानीयलाई बचत गर्दा हुने फाइदा र बचतले गर्दा पाउने सेवासुविधाको सचेतनापछि ‘एक घर एक बैंक खाता’ नमूना गाउँपालिका घोषणा गर्न सफल भएको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले घरघरमा बैंक खाता सञ्चालन भएकाले सरकारले लिएको नीति अवलम्बन गरिएको बताए ।

उनले सरकारले लिएको नीतिअनुसार बैंक खाता खोलेर बचत गर्ने कार्य अघि बढाइनु प्रशंसनीय कार्य भएको प्रजिअ गैरेले बताए ।

विद्यालयका सांस्कृति कार्यक्रम, वडाका महिलाद्वारा देउडा, स्थानीय पर्व भुवाचालीलगायत प्रदर्शन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर