सडक दुर्घटनामा मानवीय क्षति कम गर्न कर्णालीमा दुई मोबाइल अस्पताल चल्ने – Nepal Press

सडक दुर्घटनामा मानवीय क्षति कम गर्न कर्णालीमा दुई मोबाइल अस्पताल चल्ने

सुर्खेत । विकट भौगोलिक क्षेत्र र कमजोर सडक पूर्वाधारका कारण हुने दुर्घटनाबाट मानवीय क्षति कम गर्न कर्णाली प्रदेश सरकारले दुई वटा मोबाइल अस्पताल सञ्चालन गर्ने तयरी सुरु गरेको छ ।

कर्णालीवासीले सडक पुगेका स्थानमा सहजै स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि योजना अघि सारेको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ कालागि सरकारले यो योजना सम्पन्न गर्न एक करोड पचास लाख रुपैंया बजेट विनियोजन गरेको थियो ।

निर्देशनालयले सेवा सुरु गर्न अन्तिम तयारी भएको जनाएको छ । निर्देशक डा. रविन खड्काले कर्णालीका दूरदराजमा हुने घटनाबाट हुने घाईतेको उद्धार गर्न, अकस्मात हुने विरामीलाई बचाउन सेवा प्रभावकारी हुने दावी गरे ।

‘हाम्रो प्रदेशमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु धेरै छैनन् । भौगोलिक रुपमा विकटता, सडक सञ्जालको अवस्था दयनीय छ । त्यसैले दुर्घटनाको समयमा घाइतेले समयमै उपचार पाउन नसक्ने अवस्था छ,’ डा. खड्काले नेपालप्रेससँग भने, ‘यो योजनाले दैनिक रुपमा हुने यस्ता घटनामा सामान्य विरामीलाई त्यहीँ उपचार गर्ने र गम्भीर घाइतेलाई उद्धारको व्यवस्था गर्नेछ ।’

उनका अनुसार सुरुमा कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकखण्डमा मोबाइल अस्पताल सञ्चालन हुनेछे । ‘दुई वटा ट्रक खरिद गरी त्यसमा अस्पतालको व्यवस्थापन गरिनेछ । अस्पतालमा आवश्यक पर्ने औषधि र अन्य सामाग्री त्यसमा रहनेछन्,’ उनले भने, ‘एउटा ठूलो ट्रकमा चार वटा कोठा हुने र त्यसभित्रै ल्याब, विरामी जाँच्ने बेड, शौचालय रहनेछन् । दुई वटा मोबाइल अस्पताल मध्ये एउटा कर्णाली प्रदेश अस्पताल र अर्काे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सञ्चालन गर्ने तयारी गरेका छौं ।’

उनले यो सेवा सबैको पहुँचमा पुर्‍याउने बताए । ‘काठमाडौंमा ‘पठाओ’ल सेवा दिएको जस्तै हामीले मोबाइल अस्पताललाई सबैको पहुँचमा बनाउन एक मोबाईल एप्लिकेसन निर्माण गर्ने योजना बनाएका छौं ।’ उनले भने

त्यसबाहेक हटलाइन नम्बर र टोल फ्री नम्बरको व्यवस्था गरी सूचना आएका ठाउँमा पुग्ने व्यवस्था मिलाइने डा. खड्काले जानकारी दिए । मोबाइल अस्पतालमा एक डाक्टर, एक नर्स र उनका लागि आवश्यक पर्ने सहयोगी टिम चौविसै घण्टा खटिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर