लेखराज सुदूरपश्चिम इन्चार्ज बनेपछि माओवादी पंक्ति एमालेतिर थपिँदै – Nepal Press

लेखराज सुदूरपश्चिम इन्चार्ज बनेपछि माओवादी पंक्ति एमालेतिर थपिँदै

कैलाली । साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन हुँदा केपी ओली समूहमा देखिएका प्रदेश सभा सदस्य महेशदत्त जोशी केही दिनअघि माओवादीमा फर्किएका थिए ।

‘राजनीतिमा नयाँ समीकरण भएको छ’ उनले नेपाल प्रेसलाई भनेका थिए ‘गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव जितेको थिएँ अहिले त्यहीँ फर्किएँ ।’ सर्वोच्च अदालतले नेकपा विभाजन गर्दै एमाले र माओवादी ब्यूँतिए र उनी माओवादीतर्फ लागे ।

यता माओवादीबाटै प्रदेश सभा सदस्य हुँदै मन्त्री बनेका झपट बोहरा भने एमाले लाइनमा लागेका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

ओली समूहमा रहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेपछि प्रदेश अर्थमन्त्री बोहराले राजीनामा दिएका थिए । शुक्रवार रामबहादुर थापा बादल समूहबाट एमालेमा थपिएका २३ जना केन्द्रीय सदस्यहरूमा बोहरा पनि छन् ।

माओवादी केन्द्रबाट एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पाए लगत्तै शुक्रबार साँझ अनेरास्ववियू कैलाली तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले उनलाई सम्मान गरेका थिए ।

पूर्व मन्त्री बोहराले सम्मान कार्यक्रममा फेरि माओवादीमा फर्किने सम्भावना नरहेको स्पष्ट पारेका थिए । ‘मैले त्यो बेला मन्त्री त त्यागेँ’ उनले भने, ‘अहिले सांसद पदको धेरै चिन्ता छैन ।’

अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो समीकरणका खेलाडी लेखराज भट्ट बनेका छन् । माओवादी केन्द्रमा हुँदा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सबै भन्दा विश्वास पात्रको रूपमा चिनिएका भट्ट अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बनेका छन् ।

नेकपा विवाद हुँदा ओलीलाई समर्थन गरेका भट्टले अहिले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । उनी पनि अब माओवादीमा फर्किने बाटो बन्द भएको बताउँछन् ।

वर्तमान सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी पनि अहिले एमालेमा छन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य हुँदै मन्त्री भएका हुन् । उनी पनि अब माओवादीमा फर्किन नसकिने बताउँछन् ।

केन्द्रदेखि जिल्ला र गाउँ टोलमा पनि अहिले माओवादीबाट एमालेमा र एमालेबाट माओवादीमा जाने चर्चा बढिरहेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेबाट माओवादीमा जाने अहिलेसम्म देखिएका छैनन् ।

माओवादी केन्द्रबाट भने ठूलो सङ्ख्यामा एमालेमा जाने क्रम बढेको छ । लेखराज भट्टले प्रदेश इन्चार्जको जिम्मेवारीपछि माओवादी केन्द्रमा भट्ट निकट रहेका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम बढेको हो ।

शनिवारमात्रै नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढासहित ६ जना माओवादी केन्द्रका नेता नेकपा एमालेमा लागेका छन् । बुढासहित पोलिट ब्युरो सदस्य सहदेव बोगटी र मिलन खत्री, केन्द्रीय आयोजक कमिटी सदस्य अर्जुन रोकाया, काली धराला र सुरेश रोकाया पनि एमालेमा प्रवेश गरेका हुन् ।

सुदूरपश्चिमबाट लेखराज भट्टले माओवादी छाड्दा त्यसको असर कन्चनपुरसम्म परेको छ । एमाले-माओवादी एकीकरणपछि कन्चनपुरको अध्यक्ष बनेका बनेका वीरवहादुर थापा पनि माओवादीमा फर्किएनन् ।

सुदूरपश्चिमका ९ जिल्लाबाट तत्कालिन माओवादीले प्रत्यक्षतर्फ तीन सिट जितेको थियो । तीमध्ये विना मगरमात्र माओवादीमा छन् भने लेखराज र गौरीशंकर एमालेको केन्द्रीय सदस्य भइसकेका छन् ।

तत्कालीन एमालेबाट जितेका प्रत्यक्ष निर्वाचित ११ जना सांसदमध्ये अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दिपकप्रकाश भट्ट माधव माधव नेपाल पक्षमा छन् । अरु सबै सांसद केपी ओली निकट छन् ।

एमाले पुनःजीवित भएपछि भीम रावलको सुदूरपश्चिम इन्चार्ज पद खोसिएको छ । यसअघि नेकपा विभाजनकै बेला ओली पक्षले इन्चार्ज बनाएका लेखराजलाई नै एमलेले तत्कालको लागि इन्चार्जमा निरन्तरता दिएको छ ।

यसबीचमा भीम रावल पक्ष र लेखराज भट्ट पक्षबीच एमालेको आधिकारिक नेतृत्व को भन्ने विषयमा विवाद हुँदा प्रेदश कार्यालयमा झपड समेत भएको थियाे। प्रादेशिक रुपमा हेर्दा प्रचण्डलाई सबैभन्दा ठूलो क्षति पनि सुदूरपश्चिमै भएको छ ।

सुदूरपश्चिममा माओवादीका सबैभन्दा ठूला नेता लेखराज नै थिए । उनी एमाले भएपछि अब त्यस क्षेत्रको नेतृत्व सम्भवतः खगराज भट्टले गर्नेछन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार समेत एमाले-माओवादी व्यूँतिएसँगै संकटमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *