हजुरबुवाबाट बलात्कृत बालिकाको पेटमा चार महिनाको गर्भ, बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन – Nepal Press

हजुरबुवाबाट बलात्कृत बालिकाको पेटमा चार महिनाको गर्भ, बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ बस्ने १३ वर्षिया एक बालिका हजुरबुवा नाता पर्नेबाट बलात्कृत भएकी छिन् । अहिले ती बालिकाको कोखमा ४ महिनाको गर्भ छ ।

सुस्त मनस्थितीकी बालिकाले आफूलाई अश्लील फिल्म देखाएर ती व्यक्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । ‘मलाई फिल्म हेर्न भन्दै बोलाउनु भयो अनि नराम्रो फिल्म देखाउनुभयो’ उनले भनिन्, ‘पछि झ्याल, ढोका बन्द गरेर जबर्जस्ती गर्नुभयो । म कराएँ तर छोड्नु भएन ।’

उनले घरमा कसैलाई जानकारी दिए हत्या गर्ने धम्की समेत दिएको बताइन् । ‘कसैलाई भनेपछि मार्छु भनेका थिए’ पीडित बालिकाले भनिन्, ‘डरले कसैलाई भनिनँ ।’

बालिका बलात्कारको जानकारी परिवारले डेढमहिनापछि मात्रै थाहा पाएका थिए । बलात्कार घटना कात्तिक ५ गते भएको बताइएको छ । ‘पेट धेरै दुख्न थालेपछि स्वास्थ्य चौकी गएका थियौँ’ पीडित बालिकाकी आमाले भनिन्, ‘त्यो बेलासम्म महिनावारी पनि रोकिएको थियो ।’

माघ ९ गते परिवारका सदस्यले बालिका बलात्कृत भएको जानकारी पाए । स्वास्थ्य परीक्षणका क्रममा गर्भ रहेको थापा पाएपछि बालिकाले आफू बलात्कृत भएको बताएकी थिइन् । ‘छोरीले मलाई बलात्कार गरे भनिन्, ‘अनि त्यही बेला हामीले प्रहरीलाई उजुरी दियौँ’ पीडितकी आमाले भनिन् । 

बलात्कारको आरोपमा प्रहरीले ९ गते नै गोदावरी नगरपालिका–५ कै ५० वर्षीय कालुराम चौधरीलाई पक्राउ गरेको थियो ।

पीडितका बुवाले लाखौँ रकम लिएर मुद्दा फिर्ता लिन दबाव आइरहेको समेत बताए । ‘उहाँका परिवारले कहिले १२ लाख दिन्छु भन्छन् कहिले २२ लाख दिन्छु भन्छन्’ पीडितका बुवाले भने ‘म पैसा लिएर घटना मिलाउन चाहन्नँ ।’

उनले आफू र आफ्नो परिवारमाथि पनि पटक–पटक आक्रमण भएको हुँदा प्रहरी चौकीमा ज्यान सुरक्षा दिलाई पाउँ भन्दै निवेदन समेत दिएका छन् । उनले भने, ‘न्याय पाउन ढिलाइ हुँदा ज्यान कै खतरा बढेको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले बालिका बलात्कारको विषयमा अनुसन्धान सम्पन्न गरेर जिल्ला अदालतमा बुझाइसकेको जनाएको छ ।

‘हामीले २५ दिनभित्र सबै अनुसन्धान पुरा गरेर अदालत पेस गरेका छौँ ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले ‘अब सम्मानित अदालतको कुरा हो ।’

न्यायको लागि आन्दोलन

घटनाको विरोधमा बालिकाका परिवार तथा स्थानीयले शनिबार सडक अवरुद्ध गरेका छन् । घटना भएको लामो समयसम्म पनि न्याय नपाएको भन्दै उनीहरूले मोहना अत्तरिया सडक खण्ड १ घण्टा अवरुद्ध पारेका हुन् ।

‘दोषीको नाम किटान हुँदा पनि अहिलेसम्म कारबाही भएको छैन’ उनले भने, ‘हामीलाई न्याय पाउन ढिलाइ हुँदा अन्याय हुन्छ कि भन्ने डर छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *