मेयर कप फाइनल: टस जितेर ब्याटिङ गर्दै एपीएफ – Nepal Press

मेयर कप फाइनल: टस जितेर ब्याटिङ गर्दै एपीएफ

काठमाडौं । काठमाडौं मेयर कप २०७७ को फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही बेरमा हुने खेलमा एपीएफका कप्तान शरद भेसावकरले ब्याटिङ रोजेका हुन् । कूल पाँच टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोली-एपीएफ र पुलिस फाइनलमा आइपुगेका हुन् ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने तय गरिएको थियो । सोहीअनुरुप चारमध्ये ३/३ खेल जितेका एपीएफ र नेपाल पुलिसले फाइनल यात्रा तय गरे ।

पहिलो खेलमा ७३ रनमा अलआउट भएर पनि वाग्मतीलाई पराजित गरेको पुलिस दोस्रो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । त्यसपछिका दुई खेलमा आर्मीविरुद्ध ३ विकेट र काठमाडौं मेयर–११ विरुद्ध १०३ रनको जित निकालेको पुलिस एपीएफलाई हराउँदै उपाधि उचाल्ने दाउमा छ ।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ विकेटको जित निकालेको एपीएफले दोस्रो खेलमा बाग्मती प्रदेशसँग २७ रनको पराजय व्यहोरेको थियो । तेस्रो खेलमा काठमाडौं मेयर–११ विरुद्ध ७ विकेटको फराकिलो जित हासिल गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

घरलु क्रिकेटको ‘सुपरपावर’ एपीएफ गत महिना भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीसँग हारेको थियो । त्यो हारको चोटमा मल्हम लगाउने अवसर एपीएफसँग छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर