‘यो नयाँ एमाले हो, हिजोको जस्तो अन्त्यहीन गनगन अब चल्दैन’ – Nepal Press
नेपालटक

‘यो नयाँ एमाले हो, हिजोको जस्तो अन्त्यहीन गनगन अब चल्दैन’

हिजोका गल्तीप्रति आत्मालोचना गर्नुपर्छ, प्रधानमन्त्री सबैलाई समेट्न तयार हुनुहुन्छ

काठमाडौं । नेकपा एमालेको विशेष बैठकले गरेका निर्णयले पार्टी मात्र होइन सिंगो मुलुक तरंगित भएको छ । पुस ७ गते एकपटक फुटिसकेका केपी ओली र माधव नेपाल पक्ष फेरि दोस्रो पटक फुट्न लागेका हुन् ? यी प्रश्न पनि उब्जिएका छन् ।
यसै सन्दर्भमा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीसँग नेपाल प्रेसले गरेको विस्तृत कुराकानी प्रस्तुत छ, नेपाल टकमा :

एकाएक विशेष बैठक राखेर पार्टीभित्र विभिन्न हेरफेर गर्नुभएको छ । यसको सन्देश के हो ?

पहिलो, यो बैठक उहाँहरुलाई (माधव नेपाल पक्ष) ससम्मान फर्किनका लागि र क्रियाशील हुनका लागि अनुकूल बनाउन बसिएको हो । केही विषयहरू थिए जसको लागि संस्थागत निर्णयको जरुरी थियो । उहाँहरूले नेतृत्वले हामीलाई फर्किनलाई आह्वान गरेको छैन, कसरी बैठकमा जाने भन्ने खालको अभिव्यक्ति पनि सुन्यौं । यही भएर आज बसेको बैठकले उहाँहरुलाई हार्दिकताका साथ पार्टीमा फर्किन र क्रियाशील रहन आह्वान गरेको छ।

आत्मसमीक्षाको भावना, विगतका गल्ती सच्याउने भित्री संकल्प देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीको शपथ ग्रहण गरेर पार्टीको नेतृत्वमा पुग्दा हामीले जे बाचा गरेका थियौं, त्यसलाई अगाडि राखेर अगाडि बढ्नुपर्छ भनिएको छ । यो औपचारिक आह्वानले केही संकोच थिए भने पनि ती सबै हटेका छन्।

नेकपा एमाले भनिरहँदा हिजो जेठ ३ गतेको एमाले नभन्नुहोस् । आजको एमाले जहाँ रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी जस्ता समग्र आन्दोलनकै अर्को धारबाट आउनुभएको नेताहरु समेत हुनुहुन्छ। यो नयाँ एमाले हो ।

दोस्रो, यसबीचमा माओवादी पृष्ठभूमि भएका केही कमरेडहरु नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनुभयो । उहाँहरुलाई धेरै जोखिम थियो, तर ती सबै जोखिमलाई बेवास्ता गर्दै उहाँहरू सही विचार, सही नेतृत्व र सही कार्यदिशाको पक्षमा उभिनुभयो । उहाँहरूलाई केन्द्रीय कमिटीमा ससम्मान जिम्मेवारीमा ल्याउनुपर्थ्याे । साविक एमालेमा त उहाँहरु केन्द्रीय कमिटीमा हुनुहुन्नथ्यो । ती कामहरु गरेर पूर्ण बैठकमा जानु उचित हुन्थ्यो ।

र तेस्रो, एमालेको नवौं महाधिवेशनले पारित गरेका केही प्रबन्धहरु अहिलेको परिवर्तित सन्दर्भ अनुकूल छैनन् । उदाहरणका लागि हाम्रो देशको संविधान र हाम्रो पार्टीको विधानले पनि महाधिवेशन पाँच वर्षमा गर्ने भन्छ । अहिले त्यो समय घर्किसकेको अवस्था छ । हामीले नेतृत्व हस्तान्तरणको, रुपान्तरणको भावनाका साथ उमेरको हद पनि तोकेका थियौं । अब त्यो कायम राखिराख्ने हो भने अहिले नै कतिपय नेता कमरेडहरु जिम्मेवारीविहीन हुनुपर्ने हुन्छ । ती कुराहरुलाई पनि फुकाउनु जरुरी थियो । यस्ता केही नगरिनहुने आन्तरिक कामका लागि बैठक बसिएको हो । विस्तृत र पूर्ण बैठक बसेर धेरै निर्णय चाहिं आगामी चैत ७ गते हुन्छ ।

शुक्रबार भएको बैठक चाहिं कस्तो हो ?

यो विशेष बैठक हो । २०७५ जेठ ३ गते बिहान हामी एकीकरणको अनुमोदन गर्नका लागि बैठक बसेका थियौं । त्यसयता पनि झण्डै ३३/३४ महिना बितेको अवस्था छ ।

यो विशेष बैठकमा माधव नेपाल पक्षलाई नबोलाइएको हो ?

कतिलाई खबर भयो । उहाँहरु आउनु पनि भयो । कतिलाई सविस्तार भएन पनि होला । यो मूलत: गृहकार्य गर्ने प्रयोजनका लागि बसेको बैठक हो ।

यो बीचमा पार्टी फुट्यो । माधव नेपाल एउटा समूहको अध्यक्ष बन्नुभयो। उहाँहरुलाई केपी ओलीसँग आउन संकोच हुन्छ भनेरै आह्वान गर्नका लागि पनि यो बैठक हो ?

एउटा कारण त्यो पनि हो । तर, त्यो नै मुख्य कारण पनि होइन । आखिर हामी एक ठाउँमा नहुँदासम्म त दुई धारबाटै अगाडि बढेको अवस्था हो । त्यस्तो अवस्थामा आफ्ना धारका बैठक चलिनै रहन्छन् । उहाँहरु पनि बसिनै रहनुभएको छ अर्याल होटलमा । पेरिसडाँडामै पनि अस्तिसम्म बस्दै हुनुहुन्थ्यो । त्यसकारणले यो सामान्य कुरा हो ।

आजको बैठकमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पनि नराख्ने निर्णय भएको हो ?

होइन, होइन । हाम्रो पार्टीको विधानमै महाधिवेशन आयोजक कमिटी बनाउने व्यवस्था छैन । साविकको केन्द्रीय कमिटीले त्यसको आयोजना गर्छ । तर, कहिलेकाहीं यस्तो अवस्था आउनसक्ला जहाँ महाधिवेशन आयोजक कमिटी बनाएर जानुपरोस् । त्यस्तो भयो भने पदाधिकारी त नरहने अवस्था भयो । त्यो आयोजक कमिटी बनेका अर्थमा हो । आजका मितिसम्म हाम्रा सबै पदाधिकारीहरु यथावत् हुन् ।

माधव नेपाल पक्षले पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक गरेर नेकपा (एमाले)मै फर्किने र ‘ओली प्रवृत्तिविरुद्ध त्यहीं संघर्ष गर्ने’ भन्नु र आज मात्रै प्रचण्डले उहाँहरु (माधव नेपाल पक्ष)ले एमाले क्याप्चर गर्नुहुन्छ । भएन, भने विद्रोह गरेर आउनुहुन्छ र हामीसँगै रहन्छौं भन्नु। अनि आजको बालुवाटारमा उहाँहरु विनाको बैठकले यस्तो निर्णय गर्नुलाई एमाले अब एक रहँदैन भनेर बुझ्दा हुन्छ ?

अदालतको फैसलाले साविक नेकपा एमालेलाई ब्युँताएको भए पनि यो २०७५ साल जेठ ३ बिहानसम्मको एमाले होइन । यो २०७७ साल फागुनको एमाले हो जहाँ पूर्व माओवादी धारका साथीहरु र हिजो सशस्त्र संघर्ष गरेर आएका साथीहरु पनि हुनुहुन्छ । र, अरु विभिन्न पृष्ठभूमि भएका साथीहरु पनि हुनुहुन्छ ।

यो आफैंमा एउटा एकीकृत पार्टी हो । एकीकरणको एउटा अभ्यास हामीले गर्यौं । इमानदारीपूर्वक हामीले पहल गर्यौं । हामी त्यति दुःखले बनाएको एमाले जो आफैंमा एउटा संस्कार, संस्कृति आन्दोलन, आफैंमा एउटा ब्यानर जस्तो थियो। त्यसका कतिपय विशेषताहरुलाई समेत किनारामा राखेर पनि एउटा पवित्र मनसायले हामीले पार्टी एकीकरण गरेका थियौं । तर, केहीलाई त्यो पार्टी एकीकरण तत्कालीन एमालेले निर्माण गरेको अत्यन्त व्यवस्थित र लोभलाग्दो संगठनलाई सके कब्जा गर्ने, नसके तहसनहस गर्ने उद्देश्यका लागि भर्‍याङ जस्तो मात्रै बन्न पुग्यो । फलतः एकीकरण सम्पन्न भएन । यो त्यसै पनि ढिलो चाँडो दुर्घटनामा पुग्ने अवस्था थियो । सर्वोच्च अदालतले एक खालको निकास दिएको अवस्था छ । एक ढंगको फैसला गरेर एक ठाउँमा पुर्‍याएको अवस्था छ। त्यसकारण नेकपा एमाले भनिरहँदा हिजो जेठ ३ गतेको एमाले नभन्नुहोस् । आजको एमाले जहाँ रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी जस्ता समग्र आन्दोलनकै अर्को धारबाट आउनुभएको नेताहरु समेत हुनुहुन्छ । यो नयाँ एमाले हो ।

जहाँसम्म प्रचण्डको कुरा छ, जे सुनिएको छ, त्यसकै आधारमा म प्रतिक्रिया दिन चाहन्न । म यत्ति कुरा मात्रै प्रष्ट पार्न चाहन्छु– यस बीचमा जे भयो, त्यसलाई हामी बिर्सन्छौं । किनभने हाम्रो ध्यान भविष्यतर्फ छ । अतित कोट्याएर कहीं पनि पुगिंदैन । एउटा परिस्थितिले ध्रुवीकरण भयो । साथीहरु आआफ्नो ढंगले बोल्नुभयो ? के बोल्नुभयो, के भन्नुभयो ? त्यसलाई आफ्नै अभिव्यक्तिको ऐनामा उहाँहरुले साँझ–साँझ आत्मनिरीक्षण गर्नुभयो भने हुन्छ ।

यो बीचको अवधिका कुरालाई लिएर मनमा हामी कुनै तुष पाल्दैनौं । तर, एउटा कुरा स्पष्ट छ–२०७७ साल फागुन २३ गतेपछिको अवधि भनेको एउटा ‘कट अफ टेड’ हो । अब यो पार्टी भित्र हिजो जस्तो नेतृत्वको अन्त्यहीन गनगन, अन्त्यहीन कुण्ठा, कुर्सीका लागि कहिल्यै नसकिने झगडा म, मेरो निम्ति, मेरो मर्यादा, मेरो मान, मेरो सोपान जस्ता विषयहरु अब चल्दैनन् ।

हामी आन्दोलनलाई आन्दोलनको रुपमा अगाडि लैजान चाहन्छौं। त्यसकारणले यसमा सबै कमरेडहरुको योगदान हुन्छ भन्ने म ठान्दछु । ठूलो पानी परिसकेपछि पनि फाट्टफुट्ट थोपा झरिरहेका हुन्छन् । अहिलेको अभिव्यक्तिलाई मैले त्यही पानी विदो भइसकेपछिका पानीका थोपाहरु जस्तो मानेको छु ।

जहाँसम्म प्रचण्डको भनाइ हो, उहाँको भनाइलाई म धेरै ‘सिरियस्ली’ लिन चाहन्न । किनभने उहाँ आफैं एक किसिमले सबै चीज गुमाएको अवस्थामा पुग्नुभएको छ। सधैंभरि अस्थिरतामा खेल्ने, भत्काउने, बिगार्ने या विभाजन गर्ने कुरालाई आफ्नो विशेषताको रुपमा ठान्नुहुन्छ।

अस्थिरतालाई आफ्नो चमत्कार जस्तो सिर्जनशीलता ठान्ने स्थितिले उहाँलाई आज कुन ठाउँमा पुर्‍यायो, सबैले मूल्यांकन गरिरहेका छन् । अब म चाहन्छु, उहाँबाट व्यक्त ती अभिव्यक्तिहरुको माधव कमरेडले स्वयं खण्डन गर्नुहोस् । त्यस्ता कुराहरुले आगामी दिनमा अगाडि बढ्न सहजता उत्पन्न गर्दैनन् ।

एउटा कुरा स्पष्ट छ–२०७७ साल फागुन २३ गतेपछिको अवधि भनेको एउटा ‘कट अफ टेड’ हो । अब यो पार्टीभित्र हिजो जस्तो नेतृत्वको अन्त्यहीन गनगन, अन्त्यहीन कुण्ठा, कुर्सीका लागि कहिल्यै नसकिने झगडा म, मेरो निम्ति, मेरो मर्यादा, मेरो मान, मेरो सोपान जस्ता विषयहरु अब चल्दैनन् ।

खण्डन गर्न त तपाईंहरुले पनि त ‘स्पेस’ दिनुपर्‍याे नि । एकातिर उहाँहरुलाई पनि फेरि केपी ओलीसँग मिल्ने कुरामा हिच्किचाहट जस्तो भइरहेको थियो । आज एक खालको निर्णय गर्दा उहाँहरुलाई त्यो ‘स्पेस’ कहाँ हुन्छ त ?

आशंका नै गर्ने हो भने त सबैभन्दा धेरै त हामीले गर्नुपर्ने होला नि । फागुन २३ गतेसम्म त बस्नुभयो । दिनमा कतिचोटि खुमलटारमा बैठक हुन्थ्यो । त्यतातिर म जान चाहिनँ ।

त्यसपछि त आफ्नो पार्टी हो । आफ्नो पार्टीको नेता हो । कुनै टीका लगाएर बनेको नेता पनि होइन । एक कल फोन गरेर ‘ल कमरेड केपी ओली अवस्था यस्तो बन्यो । अदालतले हामीलाई एक ठाउँमा ल्याइपुर्‍यायो । अब सबै तितोपिरो बिर्सौं है । ल भन्नुहोस्, अब हामी कसरी अगाडि बढ्ने ?’ भन्न पनि त उहाँहरुले सक्नुहुन्थ्यो।

फोन नम्बर नभएकै त होइन होला । ठेगाना नचिनेकै त हाेइन होला । फेरि पनि तारन्तार, कहिले केन्द्रीय कमिटीको नाममा, कहिले स्थायी कमिटीको नाममा बसेर… । मैले नसुनेको हुनाले थप टिप्पणी गर्न चाहन्न । उहाँले यहाँभित्र आएर थप संघर्ष गर्छौं भन्ने र प्रचण्डले उहाँहरु त्यहाँ कब्जा गर्न जानुभएको हो भन्ने ढंगले भन्दा स्वस्थ त कसरी बन्छ ?

त्यसकारण बैठकमा आउनु भन्दा अगाडिका कुराहरुलाई म बिर्सन चाहन्छु । हाम्रो ध्यान आन्दोलनको भविष्यतिर छ । आन्दोलनले एकथरी नेताहरुलाई त पुगिसरी आयो नि त । राज्यका पनि सर्वोच्च निकायमा एक पटक होइन, पटक–पटक पुग्नुभएको छ । एउटा हैसियत प्राप्त गर्नुभएको छ ।

त्यसैले अब चिन्ता त हामीले भविष्यको पुस्तालाई गर्ने हो । र भविष्यको पुस्तालाई भन्दा पनि हाम्रो देशको, हाम्रो जनताको भविष्यप्रति हामी केन्द्रित हुने हो । त्यसलाई केन्द्रमा राख्ने हो भने यी विषय केही पनि होइनन् । हिजो हामीले यसलाई केन्द्रमा राखेको भए समस्या उठ्ने नै थिएनन् । केन्द्रमा म, मेरो समूह, मेरो परिवार भन्ने राखियो । यी कुराले नै बिगारेको हो ।

त्यसकारण प्रधानमन्त्री एकदम फराकिलो छातीका साथ, हिजोको सबै कुरालाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्न आतुर हुनुहुन्छ । तर, म फेरि पनि दोहोर्‍याएर भन्छु– फागुन २३ अगाडिका कुराहरुलाई सामान्य मान्न सकिन्छ । तर, अब फेरि पार्टी अन्त्यहीन किचलोको र अन्त्यहीन झगडाको थलो बन्न सक्दैन । हाम्रो मूल्यवान समयलाई त्यस्ता कुरामा व्यतित गर्न सक्दैनौं। लड्नु्पर्ने जति महाधिवेशनमा लडौंला नि । तर, २५९ दिनलाई नै महाधिवेशन भन्दा भद्रगोल अवस्थामा राख्नुहुन्न । राख्न मिल्दैन ।

तपाईंले अन्त्यहीन झगडाबाट मुक्त हुन्छौं भन्नुभयो। तर, माधव नेपालहरुसँग यो निर्णयले दोस्रो पटक विभाजन हुने भयो । तपाईंहरुको यो निर्णयले त उहाँहरुलाई विभाजन गर्ने तहसम्म पुर्‍याउँछ नि होइन ?

कसरी यस्तो अपसकुन बोल्दै हुनुहुन्छ थाहा छैन । विभाजनका प्रयासहरु भए यसबीचमा । अहिलेको लडाइँको चुरोमा हेर्दा प्रधानमन्त्री केपी ओलीको बहिर्गमन अथवा विस्थापन बाहिर देखिने एउटा एजेन्डा थियो। तर, यसको अन्तर्य त्यो भन्दा धेरै पर र धेरै गहिरो थियो । किनभने, राष्ट्रिय राजनीतिमा केपी ओलीले एउटा खास धार र एउटा खास विचारको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले नेतृत्व लिएका पाँच/सात वर्ष यताका घटनाक्रमहरु हेरौं– राष्ट्रियताका बारेमा सार्वभौम समानताको जगमा उभिएर, आफ्नो राष्ट्रिय हितमा कुनै कुरा नचपाईकन, आँखामा आँखा जुधाएर कुरा गर्न र त्यसका निम्ति जस्तोसुकै जोखिम मोल्न पनि तयार एउटा राष्ट्रियताको धार र त्यो विचारको प्रतिनिधिका रुपमा केपी ओली यसबीचमा उदाउनुभयो।

पहिचानको राजनीतिका नाममा देशलाई जातीय द्वन्द्व, धार्मिक विध्वंश र क्षेत्रीय अन्तर संघर्षको दिशामा धकेल्ने डरलाग्दो प्रयास पनि भएका थिए । त्यसका विरुद्ध अविचलित ढंगले अडान लिएर राष्ट्रियताको एउटा धारको प्रतिनिधित्व उहाँले गर्नुभयो । एकताको विचारको प्रतिनिधित्व उहाँले गर्नुभयो । राष्ट्रिय राजनीतिलाई शान्तिपूर्ण धारमा लैजान हिंसाको विपक्षमा सधैं आफूलाई उभ्याउनुभयो । देश विकास र समृद्धिका सपना मूर्छित थिए । यो देश आफ्नो खुट्टामा उभिन्छ भन्ने कुराको विश्वास एकदमै डगमगाएको अवस्था थियो । त्यो आत्मविश्वास जगाउने धारको नेतृत्व पनि उहाँले गर्नुभयो।

जहाँसम्म प्रचण्डको भनाइ हो, उहाँको भनाइलाई म धेरै ‘सिरियस्ली’ लिन चाहन्न । किनभने उहाँ आफैं एक किसिमले सबै चीज गुमाएको अवस्थामा पुग्नुभएको छ। सधैंभरि अस्थिरतामा खेल्ने, भत्काउने, बिगार्ने या विभाजन गर्ने कुरालाई आफ्नो विशेषताको रुपमा ठान्नुहुन्छ।

संविधान आइसकेपछि धेरै कुरा समाधान भए । संविधान बनाउने बेलामा संविधान निर्माणको प्रक्रियामा रहेका र बहिष्कार गरेका पनि पछि निर्वाचनको प्रक्रियामा जोडिनुभयो । तैपनि दुइटा प्रवृत्ति बाँकी रहे । एउटा विखण्डनको प्रवृत्ति, अर्को फेरि पनि हिंसाको प्रवृत्ति । उहाँले दुई वर्षको अन्तरालमा २०७५ फागुनमा सिके राउतलाई र २०७७ को फागुनमा विप्लवले नेतृत्व गरेको नेकपालाई शान्तिपूर्ण मूलधारमा ल्याउनुभयो । एक किसिमले भन्ने हो भने मुलुकलाई द्वन्द्व मुक्त बनाउनुभयो । मुलुकमा अहिले पनि समस्या छन् । अन्तरविरोध छन् । तर, ती सबै अहिले संविधानको दायराभित्र छन् । ती सबै शान्तिको दायराभित्र छन् ।

त्यसकारण प्रश्न केवल केपी ओलीलाई विस्थापनको मात्रै प्रश्न थिएन । उहाँले नेतृत्व गरेको यो धार, विचार र दिशालाई उल्टाउने प्रयास थिए । यो मर्मलाई हामीले बुझ्न जरुरी हुन्छ ।

तपाईंलाई के लाग्छ, उहाँहरुले अहिलेका निर्णयहरुलाई चुपचाप सहेर बस्नुहोला ? उहाँहरुले समानान्तर कमिटी बनाउने, विद्रोह गर्नेलगायतका कुराहरु गर्दै हुनुहुन्छ। यसो हेर्दा हिजोको नेकपाको विवाद त अब एमालेमा छिर्ने भयो नि ?

थाहा छैन किन हो तपाइँहरु यति धेरै शंकालु बन्नुभएको । तातो दूधले मुख पोलेको मान्छे कराई देख्दा पनि फुँ–फुँ गर्छ । विगतका कतिपय कुराहरुलाई हेरेर तपाईंले त्यस्तो भन्नुभएको होला । तर, म त्यस्तो ठान्दिनँ । एउटा कुरा म यहाँलाई बताउ, केपी ओलीसँग स्थिति कस्तो पर्‍याे भने, पार्टीभित्र हिजोका आन्दोलनबाट आएका दुई वटा धारलाई जोड्ने भावनाका साथ पार्टी एकता गरिएको थियो । त्यसमा उहाँलाई संख्यात्मक अनुकूलता नहुनु स्वाभाविक थियो ।

हामी त्यस्तो अप्ठ्यारो अवस्थाबाट अगाडि बढ्यौं। आज स्थिति बदलिएको छ । तपाईंले १५ दिनको अवधिलाई हेर्नुभयो भने प्रतिनिधिसभा पुनःस्थापना भएर दुई बैठक बस्दा खुसियाली मनाउने साथीहरु समेत अब अन्योलतामा मुलुक फस्यो भन्ने महसूस गर्न थाल्नुभएको छ । त्यसले गर्दा नेकपा एमालेलाई कमजाेर गर्ने , आन्दोलनलाई कमजाेर पार्ने जस्ता कुरा कसैले कल्पना नै नगरे हुन्छ । बाटो रोज्न त उहाँहरुलाई स्वतन्त्रता छँदैछ तर मलाई विश्वास छ, जो नेताहरुले नेकपा एमाले निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको छ, एउटा व्यक्तिप्रतिको कारणले स्थिति एकदमै ‘एक्स्ट्रिम’मा पुगे पनि यसलाई भुलेर फेरि पनि एकताको जग बसाल्न उहाँहरु लाग्नुहुन्छ भन्ने मलाई लाग्छ । उहाँहरु एकताका लागि आउनुहुन्छ । बाहिर जे जस्ता चर्चाहरु भइरहेका छन्, ती सही होइनन् ।

हिजो माधव-प्रचण्डलगायतले जसरी बहुमतको डण्डा केपी ओलीमाथि प्रयोग गर्नुभयो । आज केपी ओलीले त्यही बहुमतको अस्त्र माधव समूहमाथि प्रयोग त गरिरहनुभएको होइन ?

त्यस्तो केही भएकै छैन । पहिलो, कहीँ न कहीँ संस्थागत ढङ्गले आव्हान गर्नुपर्थ्याे । दोस्रो, फरक धारका साथीहरुलाई कुनै पनि जिम्मेवारी नदिई बीच बाटोमा राख्न सक्दैन थियौं । बाँकी जति पनि निर्णयहरु छन्, उहाँहरुको उपस्थितिमा गर्छौं। छलफल हुन्छन् तर सबैको परामर्शबाटै अगाडि बढ्छौं ।

यहाँ कसैलाई पेल्नुपर्ने, देखाउनुपर्ने, प्रतिशाेध लिनुपर्ने जस्ता विषयको चर्चा गर्नु नै आवश्यक छैन् । हामी यस्ता विषय किन सोच्छौं र चर्चा गर्छौं । मैले फेरि पनि दोहोर्‍याएर भन्छु– हाम्रो चिन्ता देशप्रतिको हो ।

हामीले सन् २०२६ सम्ममा मुलुकलाई विकासशील राष्ट्रको रुपमा स्थापित गर्ने, सन् २०३० भित्र दिगो विकासका सबै लक्ष्य पूरा गर्ने उद्देश्य लिएका छौं र मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य राखेका छौं। हामीले गुमेको हाम्रो भूमि फिर्ता पाउने विषयमा भारतसँग भर्खर छलफल अगाडि बढाएका छौं ।

एक कल फोन गरेर ‘ल कमरेड केपी ओली अवस्था यस्तो बन्यो । अदालतले हामीलाई एकठाउँमा ल्याइपुर्‍यायो । अब सबै तितोपिरो बिर्सौं है । ल भन्नुहोस्, अब हामी कसरी अगाडि बढ्ने ?’ भन्न पनि त उहाँहरुले सक्नुहुन्थ्यो।

हामी एकजना बालक विद्यालय जानबाट वञ्चित नहोस्, एक जना महिला पनि सुत्केरी हुन नसकेर ज्यान जाने स्थिति नबनोस्, कुनै पनि बाआमाले बुढेसकालमा औषधि नपाएर मृत्युवरण गर्ने अवस्था नबनोस् । एकजना युवा पनि बेरोजगार बस्न नपरोसलगायतका कुरामा हाम्रो ध्यान छ ।

मुलुकमा यत्रो परिवर्तन भयो रेल, एक्सप्रेस हाइवे निर्माण, स्वच्छ खानेपानीलगायतका कुरा हाम्रो सपना बन्नुपर्ने कुनै विषय हो र ?

निर्वाचन आयोगले मिल्नका लागि अझै पनि समय दिएको छ । सर्वोच्च अदालतले २०७५ जेठ ३ गते घोषणा भएको नेकपा पार्टी ऋषि कट्टेललाई दिएको छ । अब के एकताको च्याप्टर चाहिं क्लोज भएको हो ?

हामीले आज के छलफल गर्यौं भने हामी सबै पक्षहरु खुल्ला छलफल गर्न तयार छौं । एकीकृत कम्युनिष्ट आन्दोलन निर्माणका लागि हामी सबैसँग छलफल गर्न तयार नै छाैं । तर पछिल्लो १५ दिनको अवधिले के कुरा निर्माण गर्‍याे भने नेकपा एमाले र नेकपा माओवादी बीचमा व्यावहारिक रुपमा एकीकरण हुने सम्भावना छैन । यो कुरालाई हामीले प्रष्ट रुपमा भन्यौं तर यसको अर्थ हामी प्रयास गर्दैनौं भन्ने चाहिं होइन । हिजो हामीले जुन जगमा पार्टी एकता गर्यौं, त्यसको वैचारिक राजनीतिक जग र संरचनागत आधार तथा दुई अध्यक्ष प्रणालीको विधि नै कमजाेर देखियो । जसले गर्दा हामी गन्तव्यमा पुग्न सकेनौं । अब हामी सुविचारित र परिपक्व ढङ्गले एकताको प्रयासलाई अगाडि बढाउँछौं । यस पटकको १५ दिनमा त्यो प्रयास असफल भयो भन्नुको अर्थ एकता असम्भव छ भन्नु हतारो हुन्छ ।

एमालेसँग बहुमत छैन । माओवादी केन्द्र अर्को सरकार निर्माणमा अग्रसर भइरहेको छ । ओली पक्ष र प्रचण्ड पक्षका नेताहरुको दुईधारका कुराले अब सरकारको स्थायित्वमाथि त प्रश्न उठ्ने भयो नि हैन र ?

हैन। बारम्बार तपाईंको प्रश्न र मेरो उत्तरको मिलन नै हुनसकेको छैन । हामीले उहाँहरुलाई अदालतको फैसलापछि बारम्बार बोलाएका हौं । विगतका तीतामीठा कुराहरु भुलेर एकताबद्ध भएर अगाडि बढौं भनेका हाैं । हामीलाई सार्वजनिक रुपमा भन्न गाह्रो होला तर हामी आफू आफैं मनोवाद गरौं न त।

हामीले भन्न खोजेको ‘कुहिएको अण्डालाई खाल्टो खनेर गाड्ने जस्ता विषयहरु’ के शाेभनीय थिए ? यद्यपि यी विषयहरु अब इतिहास भए । हाम्रो ध्यान वर्तमान र भविष्यतिर छ । यो कुरा अब दोहोरिन मिल्दैन । जे प्रश्न तपाईंले बारम्बार दोहोर्‍याइरहनुभएको छ, त्यो प्रश्न नै होइन । अब एकताबद्ध भएर अगाडि बढ्ने केपी ओलीको नेतृत्वलाई स्वीकार गरेर अगाडि बढ्ने हो । यो कुरा त सत्य, तथ्य, घटनाक्रमले स्थापित गरेन र ?

आजका निर्णयहरु स्थायी कमिटी र केन्द्रीय कमिटीबाट भएको भए अर्कै सन्देश जाने थियो कि ?

कुरा के हो भने यो भन्दा धेरै निर्णय गर्न बाँकी छ जुन हामी उहाँहरुसँग बसेर गर्दछौं । उहाँहरु आइनसक्दा त आव्हान गर्नुको कुनै अर्थ हुने थिएन ।

तपाइँहरुले पटक–पटक स्पष्ट पारिसक्नुभएको छ । नाम चाहिं अब के नेकपा एमाले नै रहन्छ ?

अहिलेलाई नाम त्यही रहन्छ । हामी महाधिवेशनतर्फ जाँदा थुप्रै कुरामा छलफल गरौंला । तर कस्तो छ भने यो नाम जनस्तरमा एकदमै प्रिय छ । नेकपा एमाले नाम मात्रै नभएर सूर्य चिन्ह र वैचारिक जननेता मदन भण्डारी, जनताको बहुदलीय जनवाद लोकप्रियको साथै हाम्रो सामर्थ्य पनि बनेको छ । त्यही कारणले हामीले अहिले नामका बारे त्यति सोचेका छैनौं ।

अनि जनताको बहुदलीय जनवाद नै हो अब ?

हो । नवौं महाधिवेशनले उठाएको कुरा नै त्यही हो । हामीलाई त्यही कुराले नै गाइड गर्छ । यसलाई हामी थप समय सान्दर्भिक र परिमार्जित गर्दै माथि उठाउँदै अगाडि बढ्छौं। हाम्रो वैचारिक मार्गदर्शन नै यही हुनेछ ।

अर्याल होटलमा माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा केपी ओली नेतृत्वले पुस ५ गतेपछि बनाएको कुनै पनि संरचना नमान्ने र पहिलेकै हुनुपर्ने लगायतका केही शर्तहरु राखेको थयो । ती पूरा नहुने हो भने उहाँहरु समानान्तर कमिटी बनाएर अगाडि बढ्ने मूडमा देखिनुहुन्छ । त्यो अभ्यास भयो भने के हुन्छ ?

अर्को व्यवस्था नहुँदासम्म ती संरचनाले काम गरिरहन्छन् । हामीलाई पीडादायी कुरा छ । २०७५ साल जेठ ३ गते पार्टी एकीकरण गरिरहँदा हामीले पार्टी एकताको काम तीन महिनाभित्र सक्छौं भनेका थियौं ।

हामीले गल्ती के गर्यौं भने तीन महिनाभित्र पार्टी एकीकरण गर्छौं भनेर केन्द्रीय बाहेक सबै कमिटी भङ्ग गर्यौं। फलतः तल पूर्ण कमिटीविहीन अवस्था भयो । यसबीचमा हाम्रा कमिटीहरु कस्ता थिए भने हामीले कमिटी त माओवादी केन्द्रसँग मिलेर बनाएका थियौं । त्यसका कतिपय कमरेड साथीहरु अर्को धारमा जानुभयो ।

तल कमिटी रिक्त भएको अवस्था थियो । त्यो रिक्तता पूरा गर्न ती कमिटीहरु बनेका छन् । हामी सबै एकठाउँमा भएपछि छलफल हुन्छ । तर पूर्ववत् भन्ने किन पनि हुँदैन भने २९/३० जिल्लामा कमिटीको अध्यक्षहरु नै पूर्वमाओवादी पृष्ठभूमिका साथीहरु हुनुहुन्थ्यो । अब के उहाँहरुलाई पूर्ववत् भनेर राख्ने कुरा हुन्छ र ?

अब के नयाँ एमाले बन्ने हो त ?

हो, बिल्कुल नयाँ एमाले निर्माण हुन्छ । हाम्रो ध्यान चाहिं अब छिटो महाधिवेशनतर्फ जाने छ । किनभने, २०७१ सालमा हामीले महाधिवेशन गरेका थियौं । हामीले महाधिवेशन विना साढे ६ वर्ष व्यतित गरेका छौं । यदि एकीकरणका ३३ महिनालाई शून्य समय मान्ने हो भने हामीसँग १४/१५ महिनाको समय उपलब्ध छ ।

यो समयभित्र महाधिवेशनको काम सम्पन्न गर्नुपर्छ । जिल्लाहरुमा त झनै अस्तव्यस्तता छ । जिल्लास्तरमा अधिवेशन नभएको पार्टी छ ।अब हाम्रो ध्यान त सदस्यता नवीकरण गर्दै छिटो अधिवेशन गर्नेतिर हुनुपर्छ । आवश्यकता अनुसार पुरानै कमिटीहरु पनि ब्युँतिन सक्छन् । यदि, तिनीहरु क्रियाशील छन् गतिशील छन् भने ।

ती कमिटीहरु आजको दिनमा नेतृत्व गर्न योग्य छन् कि छैनन् ? योग्य छन् भने रहन्छन् अयोग्य छन् भने नयाँ बन्छन् । अन्य साथीहरु आएपछि हामी यस विषयमा छलफल गर्छौं, संगठन विभागले काम गर्छ । उक्त समयसम्म शून्यतामा राख्न मिल्दैन त्यतिन्जेल यो कमिटी क्रियाशील रहन्छ ।

उहाँहरु समानान्तर अभ्यासमा जानुभयो भने नि ?

यो सम्भव नै छैन । यसो गर्नु भनेको आन्दोलनलाई क्षति पुर्‍याउनु हो । यत्रो हण्डर ठक्कर खाएपछि उहाँहरु त्यही बाटो हिंड्नुहुन्छ भन्ने मलाई लाग्दैन ।

त्यसो गर्नुभयो भने त कारबाही हुन्छ हैन त ?

मलाई त्यसो गर्नुहुन्छ भन्ने लाग्दैन । त्यसैले त्योभन्दा अगाडि के भयो भन्ने कुरा गर्नै परेन ।

एउटा प्राविधिक कुरा आयो । माओवादी केन्द्रका २३ जना थपिने भन्ने कुरा छ नि, त्यसमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरु पनि छन् । कानूनी रुपमा उहाँहरुको पदको विषय पनि छ । त्यसमा अब के हुन्छ ?

उहाँहरु मानसिक रुपमा नै तयार भएर यो आन्दोलनमा, यस धारमा जोडिंदा यस किसिमको जोखिम उठाउन बुझेरै आउनुभएको हो । उहाँहरुको त्यो साहसलाई सलाम छ । उहाँहरुलाई कानूनी झमेला पर्न नदिनका लागि पार्टीका तर्फबाट सबै प्रयासहरु हुन्छ । र केही नोक्सान भयो भने पनि त्यसको क्षतिपूर्ति र माथिल्लोस्तरको सम्मान हुन्छ ।

अब केपी ओलीको नेतृत्वमा कसरी नेकपा एमाले अगाडि बढ्छ ? त्यहाँ फेरि हिजोकै जस्तो लफडा स्वीकार्य हुन्छ ?

त्यो विल्कुलै छैन । पहिलो कुरा हामीले बुझ्न जरुरी छ । आज समस्या कहाँनेर भइरहेको छ भने पार्टी र सरकारबीचको अन्तरसम्बन्धलाई लिएर कतिपय साथीहरुमा राजनीतिक र वैचारिक अन्योल पनि पाउँछु । यो कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट प्रणाली चाहिं होइन । यो संवैधानिक प्रणाली हो । संविधानले व्यवस्था गरेको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली हो ।

सरकार कम्युनिष्ट पार्टीको बने पनि सरकार सञ्चालनका विधिहरू संविधानले निर्दिष्ट गरेको हुन्छ । प्रधानमन्त्रीले पार्टीको निर्देशन मात्रै पालना गरेर पुग्दैन । संविधान, प्रचलित कानून र अभ्यासहरुका आधारमा अगाडि बढ्नुपर्ने हुन्छ ।

कतिपय नेता कमरेडहरुले यो सच्चाइलाई बुझ्दै बुझ्नु भएन । यो बुझ्न चाहनुभएन ।

प्रधानमन्त्री एकदम फराकिलो छातीका साथ, हिजोका सबै कुरालाई बिर्सेर नयाँ ढंगले अगाडि बढ्न आतुर हुनुहुन्छ । तर, म फेरि पनि दोहोर्‍याएर भन्छु– फागुन २३ अगाडिका कुराहरुलाई सामान्य मान्न सकिन्छ । तर, अब फेरि पार्टी अन्त्यहीन किचलोको र अन्त्यहीन झगडाको थलो बन्न सक्दैन ।

अब नीतिगत निर्देशनको हिसाबले त्यसमा फोकस भएर गरेको भए त सरकारलाई मार्गनिर्देशन नै हुन्थ्यो । तर, वैचारिक, राजनीतिक वा अन्य पृष्ठपोषणहरू फिडब्याक होइनन् ।

हामीले त्यतिबेला ९ जनाको सचिवालय– कोर अफ द लिडर, नेतृत्वको पूँजी, नेतृत्वको कुञ्ज बनायौं । त्यो कुञ्जका बैठकहरू कस्ता भए ? आर्काइभ पल्टाउनुभयो भने देख्नुहुन्छ ।

मुलुकमा राज्य सञ्चालन गर्ने पार्टी थियो– नेकपा । झगडा कस्तोमा भने सोफामा, सोफाको आकारमा, टेबुलपोसको रङमा, आफ्नो मर्यादामा अन्य खालका विषय र सुविधाहरुमा हाम्रो मूल्यवान् समय यसरी खेर गएको हो । त्यसका छायाँ त परे परे । ढुक्कसँग केन्द्रित हुनै पाइएन ।

म तपाईँलाई खुलेर भनौं– तीन वर्ष मैले यो जिम्मेवारीमा पूरा गर्दैछु, मलाई सरकारबाहिर रहनुभएका कुनै पनि नेताले प्रतिक्रियात्मक ढङ्गले भन्नुभयो होला बेग्लै कुरा । नत्र यो सरकारको विदेश नीति, यो सरकारका बाह्य सम्बन्धहरू, यो सरकारले ध्यान दिनुपर्ने आर्थिक कूटनीतिलगायतका प्रश्नहरुमा कहिल्यै एकदिन पनि उहाँहरुले समय दिएर कुराकानी गर्नै चाहनु भएन । मलाई लाग्छ यो स्थिति सबैतिर उत्तिकै सत्य हुन् । यी सबै कुराको छायाँ पर्‍याे नि त सरकारमा ।

तर पनि हामीले आन्तरिक किचलोबाट मुक्त भएको दुई महिनाको बीचमा साह्रै ठूल्ठूला कार्यहरुको सुरुआत र सम्पन्न गर्यौं नि त । सुनकोशी मरिन डाइभर्सन गेम चेन्जर परियोजना हो । जसले प्रदेश २ को भाग्य बदल्छ । मेलम्ची कसरी अवरुद्ध भएको थियो र कसरी खुल्यो, हामी सबैलाई थाहा छ ।

औद्योगिक क्षेत्रहरुको शिलान्यासका विषयहरु, सुरुङमार्ग अगाडि बढेका विषयहरु, कोभिडका हाम्रा रेस्पोन्सहरु । कहाँ हामी अल्झिरहेका थियौं । के कुराले हामीलाई भित्र–भित्र गाँजिरहेको थियो । किनभने हामी फोकस्ड भएर त्यसमा जान पाउँदैन थियौं ।

हुनु के पर्थ्याे भने, कि तपाईंले विश्वास नगर्नु पर्थ्याे, कि विश्वास गरेपछि आफ्नो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, आफ्नो पार्टीका जिम्मेवार नेताहरु मन्त्री छन्– उनीहरुलाई विश्वास गरेर अगाडि बढ्न हौसला दिने, भएका राम्रा कामहरुको प्रचारप्रसार गर्ने नयाँ ऊर्जा दिने ।

फरक धारका साथीहरुलाई कुनै पनि जिम्मेवारी नदिई बीच बाटोमा राख्न सक्दैन थियौं । बाँकी जति पनि निर्णयहरु छन्, उहाँहरुको उपस्थितिमा गर्छौं । छलफल हुन्छन् तर सबैको परामर्शबाटै अगाडि बढ्छौं।

तर यस्तो लाग्थ्यो कि साथीहरुको त स्कुलिङ पनि गजब भयो, हामी जित्ने छौं एकदिन भन्ने गीत गाउँदै हुर्केका मान्छेहरु । तर साथीहरुले पछिल्लो समय त ग्लुमी सन्डेबाहेक अन्य गीतै गाउनु भएन । कति मान्छेहरुले आत्महत्या गरे थाहा छैन । राजनीतिक रुपमा धेरै मान्छेहरुले आत्महत्या गरे जस्तो लाग्छ ।

यी अवरोधहरु हट्दा बित्तिकै मुलुक त फटाफट अगाडि बढिरहेको अवस्था छ त।

अब एमाले यही अवस्थाबाट अघि बढ्छ त?

पहिलो कुरा अदालतको फैसलाबारे मेरो के भनाइ छ भने, फागुनको ११ र २३ गते भएका दुवै हाम्रा प्रतिकूल फैसलाहरू हुन् । साँच्चै भन्ने हो भने ११ गतेको फैसलाले हाम्रो अगाडि बढ्ने अभियानलाई एकखालको ब्रेक र २३ को फैसलाले ब्याक गियर नै लगाइदियो । तीन वर्ष अगाडि फर्काइदियो ।

यसका बारेमा विभिन्न छलफलहरु हुन सक्लान्, तर जनताको बहुदलीय जनवादको एउटा विशेषता नै संविधानको सर्वोच्चता,विधिको शासन, शक्तिपृथकीकरण, मानवअधिकारको मुद्दा जस्ता विषय भएका कारणले हामीलाई प्रिय लागे पनि अप्रिय लागे पनि हामी स्वीकार गर्छौं।

व्यक्तिगत हिसाबले पनि एकीकरण भत्किंदा खुशी चाहिं लागेको छैन । तर, एउटा सत्य चाहिं हो, एकीकरणको नाममा जे भइरहेका रहेछन्, ३२ लाख मत प्राप्त गर्ने साविक एमाले पंक्तिमा जे खालको उकुसमुकुस– एकदम निसासिंदो वातावरण रहेछ, बाहिर प्रकट भयो ।

जनस्तरको भावनालाई मैले पनि देखिरहेको छु, तर एकजना जिम्मेवार कार्यकर्ताको हैसियतले एकीकरण भत्किंदा मलाई खुशी चाहिं छैन ।

पार्टी एकता त भत्किसकेको थियो, तर भदौ २६ गते हामीले रेट्रोफिट गरेर बचाएका थियौं । पुस ५ गते बिहानसम्म पनि हामी टेका लगाउन सकिन्छ कि भनेर टेका बोकेर यता र उता घरी खुमलटार र घरी बालुवाटार कुदिरहेका थियौं । त्यो स्थिति थियो ।

त्यसले जनस्तरको भावनालाई कहीं न कहीं त्यो ग्याप थियो भन्ने बताउँछ । जहाँसम्म अन्योलको कुरा हो, म के ठान्छु भने अब अन्योल हुनुपर्ने अवस्था छैन । एउटा प्रयास असफल भयो । हाम्रो एकीकरणको इमानदार प्रयास थियो । कमसेकम नेकपा एमालेको तर्फबाट इमानदार प्रयास थियो ।

नेकपा एमाले नाम मात्रै नभएर सूर्य चिन्ह र वैचारिक जननेता मदन भण्डारी, जनताको बहुदलीय जनवाद लोकप्रियको साथै हाम्रो सामर्थ्य पनि बनेको छ ।

हामीले ३२ लाख र १३ लाख भन्ने संख्या बिर्सेर झण्डै हाराहारीमा एकता गरेको हो । त्यति इमानदारी प्रयास हो । प्रधानमन्त्रीले महाधिवेशनपछि अध्यक्ष र चुनावपछि प्रधानमन्त्री छोड्छु भन्नुभएकै हो ।

एकतालाई जोगाउन पुस ४ गते पनि प्रधानमन्त्री खुमलटार पुग्नुभएको थियो । त्यति एउटा चिर्कटो, जसलाई प्रचण्डले हेडक्वार्टरमाथिको बम प्रहार भन्नुभएछ, जुन कागजले मर्नुपर्यो भने पनि तयार नै भएर लेखेको हुँ भन्नुभएछ के भन्न खोजेको हो मैले बुझेको छैन । खैर, ती फिर्ता लिएदेखि एउटा आधार बन्छ भनेर रेट्रोफिटका निम्ति दौडिएकै हो ।

यो प्रयास असफल भयो तर, साविक एमालेको पंक्ति यसकारणले सन्तोष गर्न सक्छ कि हिजो माओवादी सशस्त्र युद्धको धारबाट आउनुभएका अत्यन्त महत्त्वपूर्ण कमरेडहरु आज नेकपा एमालेको पक्षमा उभिनुभएको छ ।

जनमत बेसिकल्ली इन्ट्याक्ट छ । त्यो त समय–समयमा हामीले गरेका सभाहरुमार्फत पनि प्रकट भएको छ । त्यस कारणले म यति भन्छु आन्दोलनका विरुद्धमा रचिएको साह्रै ठूलो चक्रव्यूह भत्किएको छ । २१औं शताब्दीको अभिमन्यु अहिले चक्रव्यूह तोडेर बाहिर आएको छ ।

अब सरकार चाहिं के हुन्छ ?

सरकारलाई निरन्तरता दिने हाम्रो प्रयास छ । विभिन्न पक्षहरुसँग कुरा गरिरहेका छौं । सकारात्मक ढङ्गले नै अगाडि बढिरहेको म ठान्छु, तर हाम्रो ध्यान सरकारमा भन्दा धेरै आन्दोलनमा छ । सामान्यत: २०७४ को जनादेशले लामो सयमसम्म मुलुकलाई हाँक्न सक्दैन भन्ने देखिन्छ । संसदमा ती कुराहरु प्रकट पनि भइरहेका छन् । तर हामी सबै पक्षलाई समेटेर सरकारलाई अगाडि बढाउने र सबैको सहमतिबाट निर्वाचनको वातावरण बनाउने प्रयासमा छौं ।

यदि यो संसद सही हिसाबले अगाडि बढेन भने अरु उपाय के नै हुन्छ र ? र बढ्न केही साथीहरुले दिइरहनुभएको छैन ।

हामी जित्ने छौं एकदिन भन्ने गीत गाउँदै हुर्केका मान्छेहरु । तर साथीहरुले पछिल्लो समय त ग्लुमी सन्डेबाहेक अन्य गीतै गाउनु भएन । कति मान्छेहरुले आत्महत्या गरे थाहा छैन । राजनीतिक रुपमा धेरै मान्छेहरुले आत्महत्या गरे जस्तो लाग्छ ।

जो साथीहरु हिजो प्रतिनिधिसभा विघटनलाई गलत भनेर पुनःस्थापनालाई रामवाण औषधि ठान्दै हुनुहुन्थ्यो, त्यो होइन रहेछ भन्ने कुरा दुई हप्ताले पनि देखाएको छ र देखाउँदै आइरहेको छ ।

तर पनि हामी अदालतको फैसलालाई सम्मान गर्छौं । हाम्रो प्रयास प्रतिनिधिसभाको आयु पाँचै वर्ष रहेर त्यहीं भित्रबाट स्थायित्व दिने भन्ने हो । तर, प्रतिनिधिसभा पाँच वर्ष टिक्छ कि टिक्दैन भन्ने भन्दा पनि यसले सही निकास पाउँछ कि पाउँदैन ? निश्चित छैन ।

अबको सरकार वाम गठबन्धनकै हो कि ? जसपा–कांग्रेससँगको सरकार हो ?

सबै पक्षसँग हामी कुराकानी गरिरहेका छौं । जसले आफ्नै पार्टीको दुई तिहाइको सरकारलाई गिराएर किस्तीमा २३ सिट जितेको प्रमुख प्रतिपक्षी दललाई प्रधानमन्त्री अफर गर्न जानुहुन्छ । अब यदि त्यसअर्थमा वामपन्थी एकताको सरकार भन्नुभएको हो भने त्यो कति व्यावहारिक हुन्छ थाहा छैन । हामी संसदभित्रका सबै दलहरुसँग समान ढङ्गले नै छलफल गरिरहेका छौं । राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखौं । हाम्रो उहाँहरुलाई आग्रह नै छ ।

प्रतिक्रिया

One thought on “‘यो नयाँ एमाले हो, हिजोको जस्तो अन्त्यहीन गनगन अब चल्दैन’

  1. प्रधानमंत्री ले चै आत्म आलोचना गर्न पर्दैन मित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर