मेयर कप फाइनलः एउटा अर्को विभागीय भिडन्त – Nepal Press

मेयर कप फाइनलः एउटा अर्को विभागीय भिडन्त

काठमाडौं । एक हप्तादेखि राजधानीमा जारी काठमाडौं मेयर कप–२०७७ को फाइनलमा भोलि शनिबार दुई विभागीय टोली– नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लब आमनेसामने हुँदैछन् । घरेलु क्रिकेटको फाइनलमा फेरि एकपटक दुई विभागीय टोलीको ‘भाले भिडन्त’ हेर्न पाइने भएको छ ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने तय गरिएको थियो । सोहीअनुरुप चारमध्ये ३/३ खेल जितेका एपीएफ र नेपाल पुलिसले फाइनल यात्रा तय गरे ।

पहिलो खेलमा ७३ रनमा अलआउट भएर पनि वाग्मतीलाई पराजित गरेको पुलिस दोस्रो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । त्यसपछिका दुई खेलमा आर्मीविरुद्ध ३ विकेट र काठमाडौं मेयर–११ विरुद्ध १०३ रनको जित निकालेको पुलिस एपीएफलाई हराउँदै उपाधि उचाल्ने दाउमा छ ।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ विकेटको जित निकालेको एपीएफले दोस्रो खेलमा बाग्मती प्रदेशसँग २७ रनको पराजय व्यहोरेको थियो । तेस्रो खेलमा काठमाडौं मेयर–११ विरुद्ध ७ विकेटको फराकिलो जित हासिल गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो ।

घरलु क्रिकेटको ‘सुपरपावर’ एपीएफ गत महिना भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीसँग हारेको थियो । त्यो हारको चोटमा मल्हम लगाउने अवसर एपीएफसँग छ ।

प्रधानमन्त्री कपको फाइनल सम्झिँदै एपीएफका कप्तान शरद भेषावकर भोलि जितका लागि प्रयत्न गर्ने बताउँछन् ।

‘हरेक प्रतियोगितामा हाम्रो एउटा खराब गेम हुँदै आएको छ, पीएम कपमा त्यो खेल फाइनलमा थियो,’ शरद भन्छन्, ‘यो प्रतियोगितामा त्यो खेल गइसकेको छ, सायद भोलिको खेल हामीले सोचेजस्तै हुन्छ ।’

भोलिको फाइनलका लागि आफ्नो टोलीमा आत्मविश्वास भएको र यसअघिका खेलमा जस्तै टीम ‘पफर्मेन्स’ दिने उनी बताउँछन् । एक जना खेलाडीको भन्दा पूरा टोलीको प्रदर्शनले खेल जित्न सजिलो हुने उनको विश्लेषण छ ।

शरद भन्छन्, ‘भोलिको फाइनलमा २४० देखि २६० रन जतिको योगफल तयार गर्ने हो भने जित्न सकिन्छ जस्तो लाग्छ । हामीले ब्याटिङमा बढि ध्यान पुर्याउनुपर्छ । मूलपानीमा भए स्पिनरको भूमिका महत्त्वपूर्ण हुन्थ्यो, कीर्तिपुरमा पेस–स्पिन उस्तै हुन्छ ।’

लगातार दुई प्रतियोगिताको फाइनल पुग्दा शरद उत्साहीत छन् । भोलिको फाइनलको रिजल्ट आंकलन गर्नेभन्दा पनि खेलमा टोलीले के गर्नुपर्छ भन्नेमा केन्द्रित रहेको उनले बताए ।

अहिलेसम्म एपीएफको ब्याटिङ लाइनअपले आवश्यकता अनुसार खेलिरहेको र त्यसैले फाइनलसम्म आइपुगेको शरदको बुझाई छ । ‘सुरुआती क्रममा विकेट जाँदा पछाडिका ब्याट्सम्यानले सम्हालिरहेका छन्,’ उनी भन्छन्, ‘केही खेलमा सुरुआती साझेदारी पनि राम्रै भइरहेको छ, भोलि पनि त्यसलाई कायम राखे जित्न सकिन्छ ।’

प्रतियोगिताको सुरुआतदेखि नै टोलीमा खेलाडीहरू घाइते हुने समस्याले सताएको उनले बताए ।

प्रधानमन्त्री कपको सेमिफाइनलबाटै बाहिरिएको नेपाल पुलिस क्लब पनि उपाधिको उत्तिकै दाबेदार टोली हो । र, यसका लागि टोलीको तयारी पनि राम्रो रहेको कप्तान मन्जित श्रेष्ठ बताउँछन् ।

‘फाइनलका लागि हाम्रो तयारी राम्रो छ, र हामीलाई सबैलाई जित्छौं भन्ने विश्वास पनि छ,’ कप्तान मन्जित भन्छन्, ‘फाइनल भनेर धेरै दबाब छैन । नर्मल गेम खेल्ने हो । जे गर्छौं भोलि मैदानमै गर्छौं ।’

नेपाल पुलिस क्लव विपक्षी टोलीविरुद्ध विशेष योजना बनाएर उत्रिने गरेको बताउँदै मन्जित भन्छन्, ’एपीएफ एउटा राम्रो टीम हो । र, भोलिका लागि पनि हामीले योजना बनाएका छौं ।’

कसैको व्यक्तिगत प्रदर्शन भन्दा पनि टीमको गेम महत्वपूर्ण रहने बताउँदै उनले भोलिको खेल जित्नेमा आफ्नो टोली विश्वस्त रहेको उल्लेख गरे । एपीएफको कमजोरी भन्दा पनि आफ्नो टोलीले गर्ने प्रदर्शनमा आफूहरू केन्द्रित रहेको उनी बताउँछन् ।

खेलाडी घाइते भएर टोलीमा परिवर्तन गर्न बाध्य बनेको एपीएफले समस्याका बाबजुद पनि राम्रो खेलिरहेको मन्जित बताउँछन् । प्रतियोगितामा पिचले गर्दा फास्ट बलिङभन्दा स्पिन प्रभावकारी देखिएको छ । तर, भोलिको खेलमा बलिङभन्दा ब्याटिङ महत्त्वपूर्ण हुने मन्जितले बताए ।

‘फाइनल पुगिसकेपछि सबैलाई जित्नै पर्ने हुन्छ,’ उनी भन्छन्, ‘तर, कोही खेलाडीलाई धेरै दबाब हुने छैन । हामी सामान्य खेल खेल्छौं र उत्कृष्ट नतिजा निकाल्ने कोसिस गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर