जसपा संसदीय दल बैठक : ऐतिहासिक कार्यभारको नेतृत्व लिन तयार (भिडियो) – Nepal Press

जसपा संसदीय दल बैठक : ऐतिहासिक कार्यभारको नेतृत्व लिन तयार (भिडियो)

काठमाडौं । सत्ता सहकार्यका लागि एमाले, कांग्रेस, माओवादी पार्टीसँग वार्ता चलिरहँदा जनता समाजवादी पार्टीको संसदीय दलको बैठकमा सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ ।

बैठकमा बोल्दै सांसदहरूले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् । जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी लिनुपर्ने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘अहिले जुन प्रकारको राष्ट्रिय लेभलमा जुन प्रकारको समस्या देखा परेको छ । त्यो समस्या समाधान गर्न यी दलहरु बारम्बार प्रयोग भए, असफल भए । त्यसैले अब यो ऐतिहासिक कार्यभारको नेतृत्व लिन जसपा तयार रहनुपर्छ र जसपा त्यसको लागि पहलकदमी गर्नुपर्छ भन्ने कोणबाट हामी बहस थालेका छौँ ।’

शुक्रबारको संसदीय दलको बैठकमा दलको विधानको बारेमा छलफल भएको तथा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलको विषयमा शीर्ष नेताहरूले ब्रिफिङ गरेको यादवले जानकारी दिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीयता, लोकतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरुसँग मात्रै आफूहरूको सहकार्य र समन्वय हुने स्पष्ट बताए । उनले भने, ‘प्रतिगमनकारी, लोकतन्त्रविरोधी, संघीयताविरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन । संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नु पर्छ भन्ने स्पष्ट अडान हाम्रो पार्टीको रहेको छ ।’

संसदीय दलको विधान स्वीकृत भइसकेपछि मात्रै संसदीय दलको नेता चयन हुने पनि अध्यक्ष उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर