दुई नेपाली महिला फिल्ममेकरले जिते ग्रान्ट, दृश्यभाषामा लैंगिक विभेदको कथा भन्ने – Nepal Press

दुई नेपाली महिला फिल्ममेकरले जिते ग्रान्ट, दृश्यभाषामा लैंगिक विभेदको कथा भन्ने

काठमाडौं । महिला एवं लैगिकताबारे छोटो फिल्म बनाउन दुईजना महिला फिल्म निर्माताले २५ हजार राशीको ग्रान्ट जितेका छन् । नेपाली फिमेल फिल्ममेकर्स (एनएफएफ)ले कुसुुम कालिकोटे र इश्वरी आचार्यलाई ग्रान्ट प्रदान गर्ने घोषणा गरेको हो ।

संस्थाले विज्ञप्ती जारी गर्दै उक्त विषयमा छोटो फिल्म बनाउन आर्थिक सहयोग र मेन्टरसिप प्रदान गर्ने जनाएको छ । बिराटनगर फिल्म वर्कसपसँग मिलेर एनएफएफले ग्रान्ट प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार जितेका ती दुई फिल्ममेकरलाई निर्देशक दीपक रौनियार र अभिनेत्री आशा मगरातीले फिल्म निर्माणको कौशल सिकाउनेछन् ।

‘जब महिलाले व्यक्तिगत भोगाइ र विचार अभिव्यक्ति गर्छन् तब उनीहरुलाई जीवनभर हेयको दृष्टिले हेर्ने गरिन्छ’ विज्ञप्तीमा उल्लेख छ, ‘दबिएका लैंगिक मुद्दालाई प्रस्फुटन गर्ने उद्देश्यले ग्रान्टको सुरुआत गरिएको हो ।’

कालिकोटेले बनाउन लागेको छोटो फिल्म ‘अन्यौल’ले भर्खरै मात्र आमा बनेकी एक महिलाको अस्थिर मनोविज्ञान चित्रण गर्छ । शवपरिक्षणपछि उत्पन्न उनको मनोदशालाई कोलिकोटोले फिल्ममा चित्रण प्रयास गर्ने भएकी छिन् ।

आचार्यले चाहिँ पहिलो पटक रजस्वाला भएका काठमाडौं सहरका विभिन्न उमेर, जातिय र व्यवसायिक समूहका महिलाले भोग्नुपरेको विभेदलाई दृश्यभाषामा चित्रण गर्ने भएकी छिन् । ३ देखि ५ मिनेट लम्बाइको फिल्म बनाउन उनीहरुले ६ देखि ८ हप्ता कार्य गर्नेछन् ।

शिक्षा सुवेदीको फिल्म ‘रिया’ले चाहिँ स्पेसल मेन्सन अवार्ड प्राप्त गर्ने भएको छ । एनएफएफ सन् २०१९ मा स्थापना भएको नेपाली महिला फिल्ममेकरको समूह हो । विजेताले प्राप्त गर्ने ग्रान्टको प्रायोजन चाहिँ बेलायती सेवानिवृत्त सैनिक र अधिकारवादीहरुको समूह सस्टेनेबल हिमालयन फाउन्डेसनले गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर