अप्रिलमा खुल्दै सगरमाथा : के-के छन् आरोहणका नयाँ नियम ? – Nepal Press
बसन्तकालीन आरोहण मौसम सुरु

अप्रिलमा खुल्दै सगरमाथा : के-के छन् आरोहणका नयाँ नियम ?

काठमाडौं- भाइरस महामारीपछि सर्वोच्च शिखर सगरमाथा आरोहण अप्रिल महिनादेखि खुल्ने भएको छ । लकडाउनले झन्डै एक वर्ष रोकिएको पर्वतारोहणलाई नयाँ मापदण्डसहित खोल्न लागिएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार झन्डै ३०० पर्वतारोही अप्रिल महिनामा सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा छन् । बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार सगरमाथा चढ्न नेपाल आउने विदेशी पर्वतारोहीलाई एक साताको क्वारेन्टिन र कोरोनाभाइरसको नेगेटिभ रिपोर्टको प्रमाणपत्र देखाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

आउँदो अप्रिलमा अमेरिकाको क्यालिफोर्नियास्थित पर्वतारोही व्यवसायी लुकास फुर्टेनब्याचको एड्भेन्चर दलले दुई आरोही दललाई चढाउने जिम्मा लिएको छ । आरोही दलको तर्फबाट अप्रिलमा २२ पर्वतारोहीले सगरमाथा आरोहण गर्दैछन् । उक्त संस्थाका अनुसार उसका केही पर्वतारोहीले भाइरस मापदण्डको कारण अर्को वर्षलाई आरोहण स्थगन गरेका छन् ।

‘हामीसँग कोभिड-१९ परिक्षणको कमै समय तालिका छ । स्वास्थ्य मापदण्ड पनि जटिल खालको छ । हामीले स्वास्थ्य मापदण्डका उपायलाई सम्बोधन गर्न टीममा एकजना चिकित्सक पनि खटाएका छौं,’ फुर्टेनब्याचले सीएनएनलाई भनेका छन् ।

सन् २०१९ मा ३८१ पर्वतारोहीले सर्वोच्च शिखर चढेका थिए । यो एक वर्षमा सगरमाथाको नयाँ उचाइ पनि कायम भएको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर कायम रहेकोमा नयाँ मापनपछि ८,८४८.८६ मिटर (२९,०३१ फिट) तय भएको हो ।

गत वर्षको मार्चमा भाइरस महामारीको कारण सरकारले सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको थियो । मार्च १२ सम्म नेपालमा २ लाख ७५ हजार ७० कोरोना संक्रमण संख्या पुष्टि भएको छ र ३,०१२ जनाले ज्यान गुमाएका छन् । सरकारले अक्सफोर्डले विकास गरेको कोभिसिल्ड खोप लगाउन सुरु गरेपछि भने पछिल्लो महिना भाइरस संक्रमणमा कमी आएको छ । अहिले दैनिक संक्रमण १०० भन्दा तल छ । विदेशी नागरिकको हकमा एकसाता सरकारले तोकेको होटलमा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम छ ।

यसपटक नेपालको तर्फबाट शिखर पुग्न चाहने पर्वतारोहीको संख्या बढ्ने अनुमान गरिएको छ । भाइरसको कारण तिब्बततर्फबाट गत वर्ष आरोहणमा लगाइएको रोक यस वर्ष पनि कायमै हुने चीनले जनाएको छ । जसले गर्दा उत्तरतर्फबाट चढ्ने रुचि देखिएका पर्वतारोही पनि नेपालको साइडबाट आउन सक्ने आकलन छ ।

अमेरिकाको म्याडिसन माउन्टेनियरिङ आरोही दलका ग्यारेट म्याडिसनका अनुसार आउँदो अप्रिल र मे महिनाको सिजनमा उनको एउटा ठूलो टोली सगरमाथा चढ्ने तयारीमा छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी जलवायु परिवर्तन र कोरोनाभाइरस महामारीविरुद्ध सकारात्मक सन्देश दिन यसपटकको सगरमाथा आरोहण सिजन महत्वपूर्ण हुने बताउँछन् ।

‘हामी कोभिडबाट डराएका हैनौं तर, सम्भावित संक्रमणको जोखिमबाट सतर्क छौं’ म्याडिसनले रोयटर्स समाचार एजेन्सीसँग भनेका छन् ।

अल्पाइनग्लो एक्सपेडिसनका एड्रियन बालिंगर भन्छन्, ‘नेपालजस्तो कमजोर स्वास्थ्य प्रणाली भएको ठाउँमा आफैं सतर्क हुनुपर्ने बेला हो । यदि कोही आरोहणकै क्रममा विरामी भए हामी उद्दारको लागि पनि तयारी अवस्थामा हुनेछौं ।’

सन् २०१९ मा जस्तै आउँदो वसन्तकालीन आरोहणको समयमा पनि ‘आइसफल चिकित्सक’ ले सगरमाथा चढ्ने रुटहरु सेटअप गर्ने तयारी गरिरहेका छन् । तालिमप्राप्त नेपाली पर्वतारोहीहरु खतरनाक खुम्बु आइसफलसहित अन्य जोखिमपूर्ण रुटमा डोरी र भर्‍याङ बाँध्ने काममा अहिले खटिरहेका छन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि एवं आरोहण रुट व्यवस्थापन गर्ने टोलीका निशान श्रेष्ठका अनुसार दुई सहयोगीसहित आठ पर्वतारोही यतिबेला सगरमाथा आधारशिविरमा पुगेर कामको तयारी गरिरहेका छन् । आउने सातादेखि उनीहरुले मौसम सुधारसँगै काम सुरु गर्ने उनले जनाए ।

यतिबेला काठमाडौंस्थित पर्वतारोहण संघसंस्था अप्रिलदेखि सुरु हुने आरोहण सिजनको तयारीमा व्यस्त छन् । गतवर्ष भाइरस महामारीको कारण रोकिएको आम्दानी यस वर्षको सिजनसँगै सुरु हुने आशा उनीहरुमा पलाएको छ । सरकारले विदेशीका लागि आगमन खुलाए पनि भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमाचाहिं अहिले पनि बन्द अवस्थामा छन् ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी जलवायु परिवर्तन र कोरोनाभाइरस महामारीविरुद्ध सकारात्मक सन्देश दिन यसपटकको सगरमाथा आरोहण सिजन महत्वपूर्ण हुने बताउँछन् । बढीभन्दा बढी पर्वतारोहीलाई नेपाली हिमालहरुमा आरोहण गरेर नेपाल सुरक्षित छ र लयमा फर्किएको छ भन्ने सन्देश दिने प्रयत्नमा बोर्ड रहेको उनको भनाइ छ ।

भाइरस महामारीले सगरमाथा क्षेत्र खुलेसँगै दुई हलिउड फिल्मले छायांकन तयारी गरिरहेका छन् । जसमा चर्चित हलिउड गायिका सेलेना गोमेजको लेस्बियन बायोपिक र नेटफिल्क्सका लागि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा दम्पतीले तेन्जिङ नोर्गे शेर्पामाथि बनाउने फिल्म ‘तेन्जिङ’ छन् ।

पर्यटन प्रवर्धनका लागि बोर्डले पहिलो तीन महिना विश्व समुदायलाई नेपाल खुला छ भन्ने सन्देश प्रवाह गर्ने, दोस्रो तीनदेखि ६ महिनामा आफूलाई पूर्णरुपमा तयार राख्ने र ६ महिनापछि पुरानै अवस्थामा फर्कने गरी रणनीति बनाउनेतर्फ बोर्डले काम गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए ।

पर्वतारोही गाइड पेम्बा भोटे यो सिजनमा पहिलेभन्दा बढी पर्यटक आउन सक्ने भएकाले सोहीअनुसार आफूहरु तयारी अवस्थामा रहेको बताउँछन् । ‘अघिल्लो वर्ष धेरै पर्वतारोहीले अन्तिम समयमा आरोहण स्थगित गर्दा हामी आर्थिकरुपमा पनि प्रभावित हुनुपरेको थियो’ भोटे भन्छन्, ‘सरकार पनि यसपटक भिन्न तयारीमा छ र यसपटक हामीले सोचेभन्दा बढी पर्यटक आउनसक्ने सम्भावना छ ।’

केही अन्तर्राष्ट्रिय एक्सिपिडिसन दलले चाहिं अनिश्चिकालका लागि सगरमाथा आरोहण स्थगित गरेका छन् । न्यूजिल्यान्डस्थित एड्भेन्चर कन्सलट्यान्ट गाइ कोटर अझै केही वर्ष आर्थिक र वातावरणीय रुपमा पनि सगरमाथा आरोहण गर्नु उचित नभएको तर्क गर्छन् ।

‘मलाई व्यक्तिगतरुपमा यो सिजन पनि यस्तै हुन्छ भन्ने लाग्छ र ठीक छैनजस्तो लाग्छ । बरु केही पछि यसबारे सोच्दा हुन्छ’ कोटरले साउथ चाइना मनिङ पोस्टलाई भनेका छन् ।

सन् २०१८ मा मात्र ८८५ जनाले सगरमाथा आरोहण गरेका थिए जसमा ६४४ जनाले नेपालतर्फबाट र २४१ जनाले तिब्बती मोहडाबाट आरोहण गरेका थिए । उक्त समयमा तिब्बती मोहडाबाट चढ्दा ११ जनाले ज्यान गुमाएका थिए ।

अरुको फोटो/भिडियो खिच्न रोक
अघिल्लो सिजनमा सगरमाथामा मान्छेको ‘ट्राफिक जाम’ भएको एउटा तस्विर विश्वव्यापी भाइरल बन्यो । कीर्तिमानी आरोही निर्मल पुर्जाले खिचेको उक्त तस्विरकै कारण अन्तर्राष्ट्रिय संचारमाध्यमदेखि पर्वतारोहण संघसंस्थाले सगरमाथा जोखिमपूर्ण र प्रदूषित भएको भन्दै नेपाललाई आरोहण अनुमति नदिन दबाब मात्र दिएनन् अन्तर्राष्ट्रिय समुदायमा नेपाल आलोचितसमेत बन्न पुग्यो ।

यही समस्यालाई सम्बोधन गर्न गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै अनुमतिबिना अर्को आरोही दलको तस्विर र भिडियो खिच्न नपाइने नियम ल्यायो । पर्वतारोहीले आफ्नो दलको र आफ्नो भिडियो एवं तस्विर मात्र खिच्न पाउने र सेयर गर्न पाउने नयाँ नियम यो सिजनका लागि लागू गरिने भएको छ । विभागको अनुमति बिना त्यस्तो गरेको पाइए उक्त आरोहीलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिइएको छ ।

सन् २०१९ मा निर्मल पुर्जाको उक्त तस्विर भाइरल भए लगत्तै सीएनएन, बीबीसी, नेसनल जोग्राफिकलगायतका अन्तर्राष्ट्रिय मिडियाले हिमालको विषयमा नेपाल सरकारसँग प्रश्न उठाएका थिए । सोही सिजनमा अन्य केही आरोहीले पनि सगरमाथाको भिडियो बनाएर इन्टरनेटमा भाइरल तुल्याएका थिए । विभागले सन् २०१५ को विनाशकारी भूकम्पपछि केही विदेशी आरोहीले सगरमाथा पर्यटनबारे नकारात्मक सन्देश जाने गरी फोहोर थुपारेको भिडियोलाई भाइरल बनाएको आरोप लगाएको छ ।

बहराइन राजपरिवारले यसै सिजनमा चढ्ने

बहराइनको राजपरिवार सगरमाथा आरोहणका लागि चैत २ गते काठमाडौं आउने तयारीमा छ । राजपरिवारका एकसहित १६ जनाको टोली नेपाल आउन लागेको नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । आरोहण दलमा बहराइन रोयल गार्डमा आधारित १३ जना बहराइनी र ३ जना बेलायती नागरिक हुनेछन् । विशेष विमानबाट नेपाल आउने उक्त टोली ७९ दिनसम्म नेपालमा रहने जनाइएको छ ।

बहराइन आरोही दलको लागि आरोहणको बन्दोबस्त नेपालस्थित सेभेन समिट ट्रेक्स प्रालिबाट भैरहेको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल आरोहण गरेको थियो । त्यतिबेला बहराइनका राजकुमार नेपाल आइपुगेका थिए ।

दुई हलिउड फिल्म छायांकन तयारीमा

हलिउड रिपोर्टर म्यागजिनका अनुसार भाइरस महामारीले सगरमाथा क्षेत्र खुलेसँगै दुई हलिउड फिल्मले छायांकन तयारी गरिरहेका छन् । जसमा चर्चित हलिउड गायिका सेलेना गोमेजको लेस्बियन बायोपिक र नेटफिल्क्सका लागि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा दम्पतीले तेन्जिङ नोर्गे शेर्पामाथि बनाउने फिल्म ‘तेन्जिङ’ छन् ।

सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको जीवनमाथि बन्ने बायोपिक फिल्मलाई गोमेजको मुन पिक्चर्सले निर्माण गर्ने जनाइएको छ । पेरुभियन सगरमाथा आरोही लाभाडोको आत्मकथा ‘इन द स्याडो अफ दी माउन्टेन’कै नाममा शीर्षक नामकरण हुनेछ । लाभाडोले सगरमाथासहित सातै महादेशका अग्ला हिमाल चढिसकेकी छिन् ।

लाभाडोले आफूलाई गे महिलाको रुपमा चिनाउने गरेकी छिन् र फिल्मलाई मायान्स एमसी फेन्ड निर्देशक एवं लेखक एल्गिन जेम्सले निर्देशन गर्ने भएका छन् । यो फिल्म निर्माणमा सेलेनाले अस्कर अवार्ड विजेता डोना गिग्लिवटीसँग सहकार्य गर्ने उल्लेख छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आगामी गर्मी सिजनमा अमेरिकी पूर्वराष्ट्रपति ओबामा र नेटफिल्क्सले निर्माण गर्ने फिल्म तेन्जिङको छायांकन हुने तयारी छ । यो फिल्मलाई चर्चित डकुमेन्ट्री शेर्पा एन्ड माउन्टेन निर्देशक जेन पिडमले निर्देशन गर्ने भएकी छिन् । यो फिल्मलाई नेपाल र न्यूजिल्यान्डमा छायांकन गर्ने तयारी भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *