प्रचण्डको दाबी- ममाथि घेराबन्दी भइरहेको छ, अझै अस्वाभाविक घटना हुन्छन् (भिडियो) – Nepal Press

प्रचण्डको दाबी- ममाथि घेराबन्दी भइरहेको छ, अझै अस्वाभाविक घटना हुन्छन् (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको परिवर्तन उल्ट्याउन आफूमाथि घेराबन्दी भइरहेको दाबी गरेका छन् ।

शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको सम्मेलनलाई उद्घाटन गर्दै प्रचण्डले १२ बुँदेको हस्ताक्षरकर्तामध्ये एक आफूमात्रै जीवित रहेकोले त्यस्तो हमला भइरहेको बताए ।

‘गिरिजाप्रसाद कोइराला १२ बुँदे सहमतिको प्रमुख हस्ताक्षरकर्ता हुनुहुन्थ्यो, उहाँ अहिले हुनुहुन्न’ प्रचण्डले भने, ‘म जीवितै छु । यो परिवर्तन उल्ट्याउन ममाथि घेराबन्दी भइरहेको छ । मैले यो महसूस गरिरहेको छु।’ त्यस्तो षड्यन्त्र देशभित्र र बाहिरका शक्तिबाट भइरहेको समेत उनको दाबी छ।

संघीयता, गणतन्त्रजस्ता उपलब्धिलाई उल्ट्याउने कोसिस भएको भन्दै उनले त्यसलाई रोक्न ‘रंगिन क्रान्ति’ गर्न आवश्यक पर्नसक्ने समेत बताए । ‘यो परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने निकै ठूलो षडयन्त्र भइरहेको छ’ प्रचण्डको भनाइ छ, ‘हामीले लडेर स्थापित गरेका मान्यता र प्रणालीलाई कसैले पनि कुल्चिन नपाओस् । उपलब्धिलाई सिध्याउने कोसिस भयो भने क्रान्ति त गर्नै पर्छ। शान्तिपूर्ण क्रान्ति । रंगीन क्रान्ति । सडकबाट नै शान्तिपूर्ण ढंगले क्रान्ति सम्पन्न गर्ने हो ।’

देशमा अस्वाभाविक घटना हुन थालेको भन्दै प्रचण्डले भने, ‘जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लैजाने जस्तो अनौठो घटना हुन थालेको छ । हुनै नसक्ने घटना हुन थालेको छ । हेर्दै जाउँ अझै के कस्ता अस्वाभाविक घटना घट्ने हो । म अहिले धेरै भन्दिनँ ।’


प्रतिक्रिया

One thought on “प्रचण्डको दाबी- ममाथि घेराबन्दी भइरहेको छ, अझै अस्वाभाविक घटना हुन्छन् (भिडियो)

  1. डिल्लीबजार सदर खोर तर्फको यात्राको तयारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर