प्रहरी र संचार सुविधामा तड्पिंदै जेफाले – Nepal Press

प्रहरी र संचार सुविधामा तड्पिंदै जेफाले

इटहरी । सरकारको रेकर्डमा जेफाले सुगम क्षेत्रमा पर्छ । सुगम जिल्ला मोरङको बजार भएकोले स्वतः सुगम मानिने जेफालेलाई सडकमार्गले भने सुगम बनाएकै छ ।

केराबारी गाउँपालिका केन्द्रबाट २४ किलोमिटर तथा भेडेटारबाट ३६ किलोमिटरको दूरीमा रहेको जेफाले सडकको हिसाबले सुगमै छ । तर, संचार र सुरक्षा क्षेत्रमा भने यो कुनै दुर्गम पहाडी जिल्लाभन्दा कम नभएको बताउँछन् जेफाले होमस्टे संचालक राजु खड्का ।

खड्काका अनुसार जेफालेमा नेपाल टेलिकम र एनसेल दुवैका मोबाइल टावर छैनन् । ‘आफन्त परिवारसँग कुरा गर्नुप¥यो भने मोबाइलको टावर नटिपेर हैरान हुन्छ’, जेफाले सामुदायिक होमस्टे समितिका सदस्य समेत रहेका खड्का भन्छन्, ‘हामी संचार क्षेत्रमा धेरै असुविधामा छौं ।’ सरकारी र निजी क्षेत्र दुवैले चासो नदिएर मोबाइल टावर नभएपछि स्थानीयले पहल गरेर बनाएको इन्टरनेट दुःख–सुख चलेको खड्का बताउँछन । भन्छन्, ‘इन्टरनेट नभएको ठाउँका मानिससँग सम्पर्क गर्न भने सकिने अवस्थै छैन ।’

खड्काको जस्तै दुःखेसो छ स्थानीय व्यवसायी शारदा खड्का र यमन लिम्बूको पनि । जेफाले बजारका व्यवसायी खड्का र लिम्बूका अनुसार जेफाले मोरङको प्रसिद्ध पर्यटन क्षेत्र हुँदा पनि संचार र सुरक्षा पूर्वाधारमा कुनै लगानी भएको छैन । ‘यहाँ दैनिक दर्जनौं मानिस घुम्न आउँछन् । शुक्रबार र शनिबार त कहिलेकाहीं १०० हाराहारी पुग्छन्’ लिम्बू भन्छन्, ‘तर न संचार राम्रो छ, न सुरक्षाको प्रत्याभूति नै ।’

स्थानीयले प्रहरी पोस्ट राख्न पहल गरे तर प्रहरी आएन

जेफाले बजारमा २७ घर छन् । यहाँ २०७४ जेठ ४ बाट पर्यटन कार्यालयमा दर्ता भएर संचालन भएका ८ वटा त होमस्टे नै रहेका छन् । होमस्टेमा झापा, मोरङ, सुनसरी र अन्य विभिन्न क्षेत्रबाट आगन्तुक आउँछन् । झुरुप्प बस्ती र दैनिक आउने नयाँ–नयाँ आगन्तुकहरूलाई सुरक्षा दिन आवश्यक प्रहरी पोस्ट भने जेफालेमा छैन ।

‘हामीले वर्षौंदेखि प्रहरी पोस्ट राख्न स्थानीय, प्रदेशदेखि संघीय सरकारसँग पहल गर्यौं’, जेफाले सामुदायिक होमस्टे समितिका अध्यक्ष डिल्लीराम अधिकारी भन्छन्, ‘एक वर्ष अगाडि त हामी समुदायले नै भाडा तिरिदिने भनेर एक भवन पनि खाली गरायौं । तर, प्रहरी आएन ।’

अधिकारीका अनुसार जेफालेमा केही आपराधिक घटना भएमा सूचना दिएपछि प्रहरी आउन तीन घन्टा लाग्छ । प्रहरी कार्यालय गाउँबाट धेरै टाढा भएकोले स्थानीय र आगन्तुक दुवैलाई सुरक्षाको प्रत्याभूति नहुने अधिकारी बताउँछन् । उनका अनुसार साविक सिंहदेवी गाविसमा पर्ने जेफाले मात्रै हैन अन्य उत्तरी मोरङका सबै पहाडी गाविसहरूको अवस्था पनि यस्तै छ ।

उनले भने, ‘साविक उत्तरी मोरङका पहाडी गाविसका याङ्सिला, पार्टीगाउँ, भोगटेनी, सिंहदेवी, वाराङ्गी, टाँडी, रमिते खोला कतै पनि नजिकै प्रहरी कार्यालय छैन ।’

बाचा पूरा नगर्दा समस्याः वडाध्यक्ष

जेफालेमा संचार सुविधाको लागि मोबाइल टावर र सुरक्षाको लागि प्रहरी पोस्ट राख्न नसक्नुमा संघीय सांसद घनश्याम खतिवडा जिम्मेवार रहेको केराबारी गाउँपालिका–२ का अध्यक्ष प्रेम लिम्बू बताउँछन् ।

‘संघीय सांसदले चुनाव जितेको केही महिनामै प्रहरी पोस्ट र मोबाइल टावर ल्याउने बाचा गर्नुभएको थियो तर अहिलेसम्म आएन’ लिम्बूले भने, ‘उहाँ अहिले जेफाले आउनै छाड्नुभएको छ ।’

यता संघीय सांसद खतिवडा भने अबको केही महिनामै टावर निर्माणको काम शुरू हुने बताउँछन् । फागुन १८ मा मोरङको उर्लाबारीमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सन्थाल जातिको एकीकृत बस्तीको कार्यक्रममा भेटिएका खतिवडाले मोबाइल टावरको काम अगाडि बढेको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै खतिवडाले भने, ‘अबको डेढ महिनामा काम शुरू गर्ने गरी मोबाइल टावर निर्माणको टोली जेफाले अध्ययनमा गएको छ । जेफाले बजारको स्कूल नजिकै टावर बन्नेछ ।’
प्रहरी पोस्ट बारेमा भने खतिवडाले अहिले नै यसै भन्न नसकिने बताए । उनले भने, ‘प्रहरीको कुरामा अलिक समय लाग्ने देखिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर